क्यास्त्रोको समाजवादः शिक्षामा उच्च प्राथमिकता

क्यास्त्रोको समाजवादः शिक्षामा उच्च प्राथमिकता


राजकुमार बराल-
“समाजवादी कित्ता ढल्दा र सोभियत सङ्घको विघटन भई
हामो ८५ प्रतिशत निर्यात व्यापार गुम्दा र केवल ४० प्रतिशत
सञ्चित ऊर्जाले धानिनुपर्दाको यो आर्थिक संकटकाबीच पनि हाम्रा
कुनै पनि विद्यालय बन्द भएका छैनन् र कुनै पनि
क्युबाली बच्चालाई शिक्षकबिना छोडिएको छैन ।”

सन् १९९० पछिको सोभियत सङ्घको विघटन र अमेरिकी नाकाबन्दीपछिको आर्थिक सङ्कटको सामना गर्न क्यास्त्रोले शिक्षालाई पहिलो प्राथमिकतामा राखिएको घोषणा गरेका थिए । फेब्रुअरी १९९३
मा पाँच हजार पाँच सयजना दक्षिण अमेरिकी शिक्षाकर्मीहरूको राजधानी हवानामा भएको सम्मेलनमा फिडेल क्यास्त्रोले व्यक्त गरेका यी माथिका भनाइबाट पनि क्यास्त्रो युगमा शिक्षालाई दिइएको महत्वबारे आँकलन गर्न सकिन्छ । उनको समाजवाद त्यत्रो महासङ्कटमा समेत टिकेको कारण पनि यही देखिन्छ ।

बीसौँ शताब्दीका ‘कम्युनिस्ट हिरो’ फिडेल क्यास्त्रोको हालै २५ नोभेम्बर २०१६ मा ९० वर्षको उमेरमा निधन भएको छ । विभिन्न साहसिक कथा र रहस्यले भरिएको उनको जीवन समाजवादी सपना बोक्नेहरूका लागि त रोमाञ्चकारी छँदै छ, विश्वका शिक्षाकर्मीहरूका लागि पनि त्यत्तिकै प्रेरणादायी छ ।

फिडेल क्यास्त्रोका शैक्षिक योगदानको चर्चा गर्दा उनका मित्र चे ग्वेभाराको दूरदृष्टिलाई सबैभन्दा पहिलो स्थानमा राख्नुपर्ने हुन्छ किनभने क्युबाको समाजवादी शिक्षाको सडक चे ग्वेभाराको ‘नयाँ मान्छे निर्माण’को सपनामा अघि बढेको थियो । चे भन्थे, ‘‘समाजवाद निर्माण गर्ने हो भने देशको वस्तुगत आधारअनुसार ‘नयाँ मान्छे’ साथसाथै निर्माण गरिनुपर्छ र त्यस्तो नयाँ मान्छे निर्माणका लागि सम्पूर्ण समाज नै ‘बृहत् विद्यालय’ बन्नुपर्छ ।’’ चे सन् १९६७ अक्टोबर ९ मा बोलिभियाको जङ्गलमा मारिए तर उनको देशको वस्तुगत आवश्यकताको आधारमा ‘नयाँ मान्छे’ निर्माण गर्ने शिक्षाको खास मार्ग दर्शनमा चेपछिको क्युबालाई फिडेलले अघि बढाएको देखिन्छ ।

फिडेलको शिक्षा नीति आठवटा रणनीतिमा आधारित थिए । पहिलो थियो, सन् १९५९ मा सत्तामा आएपछि क्युबाको आर्थिक, सामाजिक र राजनीतिक रूपान्तरणका लागि शिक्षालाई विकास रणनीतिको प्रमुख हिस्साका रूपमा अघि सार्नु । उनले आफू सत्तामा आएपछि समाजवाद निर्माणका लागि पहिलो प्राथमिकताका रूपमा शिक्षाको बलियो जग बसाउन खोजेको देखिन्छ । सबैभन्दा पहिले उनले शिक्षा पाउने नागरिकको अधिकारलाई राज्यको जिम्मामा लिए । सन् १९५६ मा अघिल्लो सत्ताले बन्द गरेका विश्वविद्यालयहरू खोले । तालिम दिनका लागि हजारौँ शिक्षकलाई पठाए । क्रमशः प्राविधिक तथा व्यावसायिक शिक्षाका लागि केन्द्रहरू खोल्दै गए र सन् १९७१ सम्ममा त्यस्ता केन्द्रको सङ्ख्या ९५ वटा पुगेको थियो ।

क्यास्त्रोको समाजवादी शिक्षाको दोस्रो नीति थियो– निजी विद्यालय बन्द गरी सार्वजनिक शिक्षाको एकल अभियान अघि बढाउनु । उनी सत्तामा आउनुअघि सन् १९५८ मा आठ सय ३० वटा
निजी विद्यालय थिए र तिनका सङ्ख्या दिनदिनै बढ्दो थियो । तर, क्यास्त्रोले सन् १९६१ देखि क्युबामा आफ्नो समाजवादी विश्वदृष्टिअनुसार धर्म र धनीहरूको सेवा गर्ने निजी विद्यालयहरूलाई
सरकारीकरण गरेका थिए ।

तेस्रो नीति थियो ः शिक्षा सुधारलाई योजनाबद्ध आन्दोलनका रूपमा अघि बढाउनु । प्रधानमन्त्री भएको एक वर्षपछि सन् १९६० मा क्यास्त्रोले सन् १९६० देखि १९७० सम्मको अवधिलाई विद्यालय जाने उमेरका बालबालिकाका लागि शिक्षामा पहुँचको एकल नाराका साथ कार्यक्रम अघि सारे । निरक्षरता उन्मूलन गर्न उनले दुई लाख ६८ हजार चार सय २० जना ‘साक्षरता शिक्षक’, १५ हजार मजदुर र एक लाख स्वयम्सेवी युवालाई उनीहरूको बिदाको समयमा परिचालन गरेका थिए । सन् १९७० तिर पहिलेको भन्दा दोब्बर विद्यालय स्थापना गरिएको थियो । प्रौढ साक्षरता र साक्षरोत्तर कार्यक्रमका लागि उनले ‘कामदार–किसान’ साक्षरता कार्यक्रम सञ्चालन गरेका थिए । किसानका छोरीहरू,यौन व्यवसायमा संलग्न किशोरीहरूलाई लक्षित गरेर उनले विशेष साक्षरता कार्यक्रम सुरु गरेका थिए ।
फलस्वरूप उनी प्रधानमन्त्री हुनुअघि क्युबामा विद्यालय भर्नादर ५५ प्रतिशत रहेकामा सन् १९७०÷७१ मा ९३.५ प्रतिशत पुगेको थियो । क्यास्त्रोको यो साक्षरता अभियानका आर्टिटेक्ट ‘राहुल फेरर’
थिए । प्रसिद्ध शिक्षाविद् पाउलो फ्रेरेले क्युबाको साक्षरता आन्दोलनलाई २०औँ शताब्दीको शिक्षाको इतिहासमा महत्वपूर्ण घटना भनेका थिए ।

सन् १९७० मा क्यास्त्रोले भविष्यका शिक्षक (ागतगचभ तभबअजभच) को अवधारणा ल्याउँदै योग्य र प्रतिबद्ध शिक्षक उत्पादन गर्न १५०० वटा शैक्षिक केन्द्रहरू स्थापना गरेका थिए । सन् १९७० को सुरुवातमा उनले शिक्षामा दक्ष जनशक्ति उत्पादन र गुणस्तर अभिवृद्धिलाई एकल आन्दोलनका रूपमा अघि बढाएका थिए । सन् १९८० को मध्यबाट गुणस्तर अभिवृद्धिको कार्यक्रमका साथै पाठ्यक्रम, प्राविधिक तथा व्यावसायिक शिक्षा, शिक्षण विधि, शिक्षाको संरचनागत सुधारका साथै अवसरको विकेन्द्रीकरणको आन्दोलन नै छेडेका थिए । साक्षरता उन्मूलनमा क्युबाको उपलब्धिलाई केही वर्षअघि प्रकाशित ग्ल्भ्क्ऋइे प्रतिवेदनले ‘महान् लोकप्रिय सांस्कृतिक क्रान्ति’ भनेको थियो ।

चौथो नीति थियो ः क्युबाको शिक्षालाई खास मूल्य ९खबगिभ० निर्माणमा केन्द्रित गराउनु । क्यास्त्रोले शिक्षामार्फत क्युबाली बालबालिका तथा युवामा सहकार्य, अनुशासन, त्याग र नैतिकताको मूल्यको विकासमा ज्यादा जोड दिएका थिए । यसका साथै क्युबाको समग्र शिक्षा प्रणाली पढाइ, काम र सैनिक तालिमको एकीकृत प्याकेज थियो ।

पाँचौँ नीति थियो ः शिक्षालाई विद्यालय÷विश्वविद्यालय तहबाटै उत्पादन र समाजसँग जोड्नु ।
क्यास्त्रोले सन् १९६० मा ‘गाउँले स्कुल’ कार्यक्रम लागू गरेका थिए । उक्त कार्यक्रमले विश्वविद्यालयका शिक्षक, विद्यार्थीलाई कृषिसँग जोडेको थियो । यसका निम्ति कार्यथलो शिक्षा (धयचपउबिअभ भमगअबतष्यल) लाई उनले विशेष जोड दिएका थिए । उनका यी कार्यक्रमका
परिणामस्वरूप १० वर्षको अवधिमा सन् १९७० देखि वार्षिक एक करोड टन उखु उत्पादन सम्भव भएको थियो । यसले क्युबाली अर्थतन्त्रको रूपान्तरणमा नयाँ उत्साह थपेको थियो । विद्यालय तहका साना बालबालिकालाई समेत उनीहरूले सक्ने स–साना कामहरू दिइन्थ्यो । सन् १९९० मा सोभियत सङ्घ ढलेपछि आत्मनिर्भरताका लागि कृषि स्कुलहरू खोलिएका थिए जसमा स्थानीय पाठ्यक्रमलाई जोड दिइएको थियो ।

छैठौँ नीति थियो ः शिक्षाको संरचनागत सुदृढीकरण र गाउँ–सहर, धनी–गरीबबीच हुने शिक्षा अवसरको समावेशी समानुपातिक सन्तुलन मिलाउनु । उनले आफ्नो शासनकालको १० वर्षपछि रसियन विज्ञहरूको मद्दतले समग्र शिक्षा पद्धतिको अध्ययन गर्न लगाई शैक्षिक सुधारका कार्यक्रमहरू अघि सारेका थिए । यही क्रममा सन् १९७६ बाट उच्च शिक्षा मन्त्रालय गठन गरे । नगरपालिका र प्रादेशिक एकाइलाई थप अधिकार दिइयो । सन् १९७४ मा विश्वविद्यालयपूर्वको व्यावसायिक इन्स्टिच्युटका रूपमा ‘लेनिन स्कुल’ स्थापना गरे । ‘लेनिन स्कुल’ पछि क्युबाभरि नै फैलिएको थियो ।

सातौँ नीति थियो ः अनुसन्धानलाई जोड दिँदै शिक्षा प्रणालीलाई थप परिस्कृत बनाउँदै लैजानु ।
क्यास्त्रोले सन् १९९० सम्म विश्वविद्यालयबाहेकका विभिन्न विषयका ७० वटा अनुसन्धान केन्द्रहरू स्थापना गरेका थिए । सन् १९८९ मा मात्रै क्युबामा ३२ हजार ६ सय १४ वटा वैज्ञानिक अनुसन्धानहरू भएका थिए । शिक्षकहरूका लागि कार्यगत अनुसन्धान (बअतष्यल चभकभबचअज०
मा जोड दिइएको थियो । रचनात्मक शिक्षण विधिसम्बन्धी मात्रै अनुसन्धान गर्ने दुईवटा निकायहरू स्थापना गरिएका थिए ।

आठौँ नीति थियो ः शिक्षा विकासको नेतृत्व कर्मचारीतन्त्र र गैरसरकारी क्षेत्रले होइन, राजनीतिक दलले गर्नु । फिडेलको शासनकालमा उनको पार्टी क्युबाली कम्युनिस्ट पार्टीले नै देशभित्रका र कहिलेकाहीँ पूरा दक्षिण अमेरिकाभरिका शिक्षाकर्मीहरूको सम्मेलन आयोजना गथ्र्यो । शिक्षाका विविध समस्याका बारेमा बौद्धिक छलफल गर्न लगाई राय दिन लगाइन्थ्यो र पार्टीले सोही रायअनुसार
नीति तथा कार्यक्रम तय गथ्र्यो । बाहिरी विश्वले क्यास्त्रोको अनिवार्य सैनिक तालिम र विश्वविद्यालय तहमा भर्नाका लागि प्रतिबद्ध कम्युनिस्ट प्रमाणित हुनुपर्ने क्युबाली प्रावधानलाई आलोचना गरेको देखिन्छ । तर, क्युबाले यो अवधिमा शतप्रतिशत साक्षरता हासिल गरेको थियो । अचम्मको उपलब्धि
यो थियो कि क्युबामा १५–२० जना विद्यार्थीबराबर एक शिक्षक उपलब्ध थियो । प्राथमिक तहमा शतप्रतिशत भर्नादर थियो र मुस्किलले २ प्रतिशतको ड्रप आउटदर थियो । क्युबाको निःशुल्क शिक्षा, गुणस्तरीय प्राविधिक शिक्षामा उत्कृष्टता, सन्तुष्ट र मर्यादित शिक्षक–शिक्षाकर्मी, प्रभावकारी अनुगमन
व्यवस्थालाई आज विश्वले स्विकारेको अवस्था छ । हिजोआज मेडिसिन र प्राविधिक शिक्षा पढ्न बाहिरी विश्वबाट दशौँ हजार विद्यार्थी क्युबा जाने गरेका छन् । क्युबा धार्मिक सहिष्णुता, जातीय सद्भाव र सामाजिक सेवामा उत्कृष्ट देश बनेको छ । यो भन्न कुनै अत्युक्ति हुँदैन कि क्युबाको समाजवादी विकासको अहिलेको स्थिति क्यास्त्रोको शिक्षा नीतिकै उपज थियो ।
हालै प्रकाशित ‘शिक्षा विमर्श’ पुस्तकबाट