सीपमूलक तालिमबाट विद्यालय निर्माण

सीपमूलक तालिमबाट विद्यालय निर्माण

 

काठमाडौँ, २० असार । घरेलु तथा साना उद्योग विकास समितिले भूकम्पप्रभावित २१ जिल्लाका दुई ३९१ युवालाई सीपमूलक तालिम प्रदान गरेको छ ।

समितिले भूकम्पको पुनःनिर्माणमा सहज होस् भन्ने उद्देश्यका साथ भूकम्पप्रभावित २१ जिल्लामा सिकर्मी, डकर्मी, हाउस वायरिङ, प्लम्बिङ, सिलाइलगायत तालिम प्रदान गरेको हो ।

समितिका प्रवक्ता राजेन्द्र मिश्रका अनुसार यस वर्ष दुई हजार ८०० युवालाई तालिम दिने लक्ष्य राखे पनि दुई हजार ३९१ जनालाई तालिम प्रदान गरिएको छ । समितिले तनहुँ, बागलुङ, नुवाकोट, दोलखा, धनकुटा, सङ्खुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, धादिङ, लमजुङ, गोरखा, पर्वत, म्याग्दी, गुल्मी र अर्घाखाँचीमा तालिम प्रदान गरेको हो ।

एक हजार आठ जनालाई डकर्मी, ४२३ सिकर्मी, ५४७ हाउस वायरिङ, १९९ प्लम्बिङ, ३२ सिलाइ तथा १४८ जनालाई अन्य सीपमूलक तालिम प्रदान गरिएको थियो । तालिम लिनेमा ३४९ महिला र एक हजार ३३२ पुरुष रहेका छन् ।

भूकम्पप्रभावित विशेष कार्यक्रमअन्तर्गत प्रयोगात्मक कक्षा सञ्चालनबाट समितिले धादिङमा दुई कोठे विद्यालय भवन तथा र दुईवटा सामुदायिक शौचालय निर्माण गरेको छ । गोरखाको बोर्लाङमा भवन तथा खोटाङमा गाउँपालिकाको भवन, पुस्तकालय र खानेपानी ट्याङ्की निर्माण गरिएको छ ।

यस्तै नुवाकोटमा विद्यालय भवन, ओखलढुङ्गामा सामुदायिक भवन, गुल्मीमा गाउँपालिका भवन, सिन्धुपाल्चोकमा सहकारी भवन र रसुवामा सामुदायिक भवन निर्माण गरिएको प्रवक्ता मिश्रले जानकारी दिनुभयो । समितिले हाल देशभरका ४८ जिल्लामा लघु, घरेलु तथा साना उद्योगको विकास र विस्तार गर्दै आइरहेको छ ।