मानवीय पशुत्वमा लुकेको सौन्दर्यता

मानवीय पशुत्वमा लुकेको सौन्दर्यता
- भजुराम तखाछेँ श्रेष्ठ

हिन्दु पौराणिक कथा अनुसार जब दानवी तथा दमनकारी पशु चरित्र भएको महिसासुरलाई दुर्गाले मार्न धेरै प्रयास गरेकी थिइन्, त्यसबेला उनले केवल आतङ्कारी दानवसँगमात्र युद्ध गरिरहेकी थिइन् भनेर मात्र उनले ठानेकी थिइन् । जब दुर्गाले महिसासुरलाई मार्न सफल भइन्, त्यसबेला उसले दुर्गाको सामु घुँडा टेकेर आफूलाई त्यस दानवी पशुत्वबाट छुट्कारा दिएकोमा उनीप्रति आभार व्यक्त गरे। यहाँ महिसासुरलाई बद्ध गर्दा उनमा हुनुपर्ने तर असल चरित्र लुकिएकोमा दुर्गाले निकाल्न खोजेको कारणले उनले ठूलो गुण गरिरहेको देखाउँछ। दुवै, दुर्गाको कथामा र सुन्दरी र पशु भन्ने दन्त्यकथामा (जुन् अगाडिको लेखमा व्यक्त गरिसकेको छ) समानान्तर विषयबस्तु कोरिएको पाइन्छ। त्यो हो बाहिरि दानव वा पशु स्वभाव भएतापनि मानिसभित्रभएको ईश्वरत्वलाईलाई पासोमा बाँधिएको छ। त्यसको प्रमाण खोज्न पौराणिक कथाको भरपर्नुपर्दैन दैनिक अखबार वा टेलिभिजन समाचारले प्रत्यक्ष्य देखाइरहेका छन् ।
जब येशू यस धर्तीमा हिँड्नुभएको थियो त्यसबेला तत्कालिन यहूदीहरूले उनलाई पशु र दानवको रूपमा देखेका थिए। उहाँका आफ्नै भाइहरूले उहाँलाई मानसिक अस्पतालमा राख्न चाहेका थिए किनकि जुन दावी उहाँले गर्नुभयो त्यो केवल सही वा दिमाग खुस्केको मानिसले मात्र गर्न सक्थ्यो। उहाँलाई बहुला कुक्कुर भन्ठानेर मानिसको जीवनलाई भन्दा धर्मलाई उच्च प्राथमिकता दिने अतिवादी यहूदी पण्डित वा स्वामी भनाउँदाहरूले धेरै पल्ट ढुङ्गाले हानेर मार्न खोजेका थिए। आफू राजा भएको येशूले दावी गर्दा त्यसबेलाका विश्व शक्ति रोमी साम्राज्यको प्रतिनिधिले उहाँलाई के गर्ने भन्ने कुरामा अन्योल भएकोथियो। हथियार नउठाइ रोमी साम्राज्य र धर्मको नाउँमा मानिसहरूलाई शोषण गर्नेहरूलाई हाँक दिने येशूलाई सर्वसाधारण जनताले उहाँलाई अत्यन्त भद्रभलादमी र नम्र मानिस देखेका थिए भने उहाँको आगमनको घोषणा गर्ने बप्तिस्मा दिने यूहन्नाले भनेका थिए, “लौ हेर, संसारका पाप उठाइ लैजाने परमेश्वरको थुमा!“ (याद गर्नुहोस् थुमा पशु हुन्)न। हतियार उठाएर स्वतन्त्रताको लागि संघर्ष गर्नेहरूले उहाँलाई एक नम्र गधाको रूपा देखेका थिए किनकि उनी आफू पिटिन तयार थिए तर न्यायको नाउँमा कसैलाई अन्याय गर्न र तत्कालिन क्रुर रोमी साम्राज्यको विरुद्धमा हतियार उठाउन उनले अस्वीकार गरेका थिए। अझ भन्ने हो भने उहाँका एक जना चेला जो भुमिगत रूपमा स्वतन्त्र सेनानी थियो होला तर धर्मगुरूहरूको जासुसी गर्ने यहूदाको धैर्यताको सिमाना नाघेको थियो। येशूका मुखारबाट आएको वचन, उहाँले गर्नुभएको दावी र आश्चर्यकामले उहाँ नम्र थुमा होइन तर यहूदी धर्मशास्त्रमा लेखिएको अनुसार उहाँ सिहँ नै हुनुपर्छ र यदि उहाँलाई पक्राइयो भने उहाँले आफ्नो दैव्यशक्ति प्रयोग गरेर त्यसको प्रतिकार गर्नेछन् भनेर उहाँको विरुद्धमा गद्दारी गरेर तिस तुक्रा चाँदी घुस लिएर उहाँलाई रक्त पिपासु धर्मगुरूहरूलाई बेचेको थियो। जब उहाँ पक्राउमा पर्नुभयो उहाँले त्यसको प्रतिकार गर्नुभएन। महात्मा गान्धी उहाँप्रति आभारित हुनुपर्छ किनकि आफ्नो कथामा उहाँले येशूको उच्च सम्मान गरेर लेखेको पाइन्छ। निश्चयनै उहाँ पनि अहिँसालाई प्राथमिकता दिएर भारत स्वतन्त्रताको लागि आफ्नो ज्यानलाई आहुति दिनुभएको थियो। आफ्नै देशवासी नाथुराम गोट्सेले गान्धीको खुट्टा धोगेर नमस्कार गरेर उहाँलाई गोली हानेको जस्तै येशूलाई पनि आफ्नै साथीले म्वाइ खाएर उनलाई धोका दिएका थिए। यथार्थमा भन्ने हो भने चर्चमा होस् वा राजनैतिक क्षेत्रमा होस् प्रायजसो एक आपसलाई धोका दिने वा गद्दारी गर्ने बाहिरका मानिसहरूबाट नभएर आफूसँग खाएको हिँडेको र विश्वासपात्र बनेको साथी नै हुन गएको मानव इतिहासको पानाले प्रमाणित गर्दछ। यसले गर्दा उच्च सपना बोकेका प्रत्येक मानिसले कसलाई विश्वास गर्ने भन्ने अन्यौलको भूमरीमा पर्नुपर्दा त्यसलाई अस्वाभाविक मान्नु जरुरी छैन।

अचम्म कुरो त के थियो भने जसले जे देखेतापनि यहूदी धर्मले औल्याएको पशुबलिलाई अन्त गर्ने पशु येशू हुनुभएको थियो। यहूदी धर्ममा पशुबलि यस्तो चर्चको थियो कि गढीमाइमा हुने पशुबली केवल चानचुनको मात्र देखिन्छ। पशु आफैले कसैको पाप बोक्ने नभएर बरू त्यसले येशूलाई इङ्गित गराएको थियो भनेर बाइबलका लेखकहरूले बताउँछन्। जब उहाँ क्रुसमा चढाइयो तब त्यसबेला र अहिले पनि यहूदी धर्ममा पशुबलिको प्रथाको अन्त्य भएको थियो। भनिन्छ उहाँले केवल यहूदीहरूको निम्ति मात्र होइन सबै मानिस जातिको निम्ति पाप बोक्नुभयो। किनत भन्दा उहाँले प्रत्येक मानिसमा सुन्दरता देख्नुभएको थियो त्यो सौन्दर्यता निकाल्न मानिसमा भएको पशुत्वलाई आफैले बोकेर क्रुसमा टाँगिन राजि हुनुभएको थियो। त्यसले गर्दा बिलायतको प्रख्यात साहित्यकार सि.एस. लुइसको अनुसार मानिस जाति परमेश्वरसँग मुखामुख उभिन सकोस्।
क्रुसको दृष्यमा हेर्दा उहाँ पशु भएर क्रुसमा टाँगिरहनुभएको थियो। यद्यपि एक जना मानिसले उहाँमा भएको सही सुन्दरता देखेको थियो। उसले येशू पशु होइन परमेश्वरको रूप देखेको थियो। उहाँसँग टाँगिएको अपराधी रोमी साम्राज्यको विरुद्धमा लडिरहेको स्वतन्त्र सेनानी होला। तर त्यस युद्धमा हारिएको हुँदा उसलाई अपराधीमा गनिएको थियो। उसको साथमा उसको साथी पनि क्रुसमा टाँगिएको थियो जुन् रोमी साम्राज्यले आविश्कार गरेको क्रुर यातनाको सजायँ थियो। परम्परागत विश्वास गरिएको अनुसार येशूलाई बीचमा र दुई अपराधीलाई दायाँ र बायाँ टाँगिएको थिए। जब सारा रोमन साम्राज्य र धर्मको वस्त्र पहिरिएका जनहरूले येशूलाई मानौँ पशु वा कुरूप देखेका थिए भने एक जना अपराधीले उहाँमा त्यही देखेर उहाँको उपहास गरेको थियो भने अर्कोले उहाँमा ईश्वरत्व देख्यो र आफ्नो साथीलाई सम्झाउँदै भन्यो, हामीले हामीहरूको कामको फल पायौँ। तर उहाँले केही कसुर गर्नुभएको थिएन“ अनि उहाँतर्फ फर्किएर भन्यो, “हे प्रभु, जब तपाईँ आफ्नो राज्यमा आउनुहुनेछ त्यसबेला मलाई पनि सम्झनुहोस्।” उसले तपाईँ स्वर्ग गएपछि भनेन तर तपाईँको राज्यमा तपाईँ आउनुहुँदा“ अर्थात् शायद त्यस अपराधी बाइबलका विद्यार्थी थियो वा येशूका वचनहरू सुनेको थियो कि उहाँ दोस्रो पल्ट यस संसारमा आउनुहुनेछ त्यसबेला ऊ येशूसँग रहन चाहेको इच्छा व्यक्त गरेको थियो।
एक जनाले मात्र क्रुसमा टाँगिरहनुभएको येशूलाई पशु होइन प्रभु देखेकोले यस संसारमा आफू आएको मिशन मानौँ पूरा भएको उहाँले अनुभव गर्नुभयो र त्यस अपराधीलाई आफ्नो साथमा रहने वचन दिएर आफ्नो प्राण त्याग्नुभयो। त्यस अपराधीको व्यक्तिगत निर्णयलाई येशूले कदर गर्नुभयो। ×फलानाले मलाई क्रिश्चियन बनायो“ भन्ने दावीलाई यहाँ येशूले ठाडो अस्वीकार गर्नुभएको देखिन्छ किनकि उहाँको नीतिमा कसैले कसैले न त येशू आफैले कसैको धर्म परिवर्तन गर्नुभयो तर कोही परिवर्तन हुन चाहन्छ भने त्यो केवल व्यक्तिगत निर्णयको आधारमा मात्र हुनुपर्छ। नत्र त्यो मानिस सेकेन्ड हान्ड इसाई हुन्छ। परमेश्वरले संसारलाई प्रेम गर्नुभयो भन्ने समाचार सुन्न पाउनु सूचनाको हक हो। त्यही हकको निम्ति येशू मर्नुभयो। त्यो हकलाई प्रयोग गरेर कोही मानिसको आत्मिक चक्षु उहाँतिर फर्काएर उहाँलाई विश्वास गर्छ र संसारै खसेपनि उहाँको आदर्शमा चल्न चाहन्छ भने त्यसलाई व्यक्तिगत मामिला मान्नुपर्छ न त परम्परागत न त बंशानुगत ।
त्यसैले, मानिसलाई पशु देखेर होइन तर आदणरीय व्यक्ति र उसभित्र लुकिएको सौन्दर्यता वा प्रतिभालाई हेरेर उसलाई कदर गर्न खोजौँ ।