पाठ्यक्रममा प्रजनन र राजनीतिमा संकुचन

पाठ्यक्रममा प्रजनन र राजनीतिमा संकुचन
- कपिल काफ्ले

विद्यालयको पाठ्यक्रममा प्रजनन स्वास्थ्यको विषयमा कुरा उठाइएको छ । केही हदसम्म यौनिकताको पक्ष पनि समेटिएको छ । ‘यौनिकता तथा प्रजनन स्वास्थ्य अधिकार’लाई एकै ठाउँमा राखेर विषयविज्ञहरु यसको व्याख्या गर्नेगर्दछन् । अंग्रेजीको संक्षिप्तस्वरुप ‘एसआरएचआर’ले जनाउने यस विधालाई राजनीतिक क्षेत्रले भने खासै महत्व दिएको देखिंदैन । हालै सम्पन्न स्थानीय तहको निर्वाचन र जनप्रतिनिधिका गतिविधिले पनि यही तत्थ प्रमाणित गर्दछ ।
नेपाली राजनीतिमा प्रजननको पाटोले स्थान पाएकै छैन भन्दा पनि हुन्छ । प्रजनन पक्षलाई गहिराइसम्म पुगेर नबुझेसम्म मातृजातिप्रति पूर्ण सम्मान हुँदैन । राजनीतिक खेलले विजयी बनाएका महानगर, उप–महानगर, नगर र गाउँपालिकाका कतिपय जनप्रतिनिधिको बोली र व्यवहार हेर्दा एसआरएचआर त परको कुरा लैङ्गिक समानताको आधारभूत पक्ष पनि बुझ्न नसकेको देखिन्छ । एमाले पार्टीलाई प्रतिनिधित्व गर्ने काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र नेपाली कांग्रेसबाट उम्मेदवार बनेका ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको भाषण र प्रारम्भिक व्यवहार हेर्दा उनीहरुमा लैङ्गिक चेतना निकै न्यून रहेको देखियो । मुलुकमा यी दुई दल नै निर्णायक र बढी मात्रामा जनविश्वास पाएका राजनीतिक मोर्चा भएका कारण यिनीहरुको नाम लिइएको हो । त्यसो त पार्टीगत हिसाबमा महिलाको शक्तिलाई सर्वाधिक पहिचान गर्ने काम भने तत्कालीन नेकपा माओवादीले गरेको देखिन्छ । सशस्त्र विद्रोहका समयमा उसले महिलालाई अग्रिम मोर्चामा लगाउने र आक्रमणको नेतृत्वसमेत प्रदान गर्ने काम ग¥यो । महिलाको इच्छाअनुसार नै त्यस प्रकारको जिम्मेवारी दिएको अवस्थामा उनीहरुप्रति सम्मान गरिएकै मान्नुपर्छ । तर, राजनीतिक नेतृत्व दिने बेलामा भने उसले पनि महिलालाई सम्मानजनक स्थान दिनसकेन । राज्यले आफ्ना हरेक निकायमा महिलाको प्रतिनिधित्व कम्तीमा ३३ प्रतिशत हुनुपर्ने प्रावधान राखेपछि पनि आजको एकीकृत माओवादी केन्द्रले अन्य दलभन्दा भिन्न व्यवहार देखाउन सकेन । यतिखेर आएर प्रष्ट भयो, हिजोको युद्धमोर्चामा महिलालाई अग्रभागमा खडा गर्नु त नेताहरुको उपयोगवादी रणनीति मात्र रहेछ । महिलाको जीवन आहुती दिएर पुरुषहरु राजनीतिक नेतृत्वका लागि सुरक्षित रहने निर्घिणी खेल पो खेलिएको रहेछ । यसरी राजनीतिक दाउपेच नगर्ने महिलाको सोझोपनबाट पुरुष नेतृत्वले लाभ लिएको देखियो ।
महिलाप्रति सम्मान भाव जागृत गर्ने–गराउने वातावरणको अभाव छ मुलुकमा । बालबालिकाले लैङ्गिकमैत्री वातावरणमा हुर्किन पाएका छैनन्, किशोर–किशोरीले घर–परिवार र समाजबाट महिला हेपिएको मात्र देखेका छन् । सञ्चारमाध्यमले महिलालाई प्रायः यौनसंकेतका रुपमा मात्र सीमित राखेको छ । यस्तो अवस्थामा एमालेका विद्यासुन्दर शाक्य हुन् वा नेकाका चिरिबाबु महर्जन– कसैले महिलाप्रति पूर्ण सम्मान भाव प्रकट गर्नसक्तैनन् । न त स्कुलमा पढेको न त घरमा देखेको, कसरी उनीहरुले नगरको आधाजनसंख्याका लागि विशेष चिन्तन बनाउन सकून् ? हालैको सन्दर्भ हो, राष्ट्रिय सूचना आयोग र मानवअधिकार सञ्चार प्रतिष्ठान नेपाल (इहि«कन) ले राजधानीमा सूचनाको हकसँग सम्बन्धित एक कार्यक्रमको आयोजना गरेको थियो, विशेष अतिथि थिए प्रमुख शाक्य । उनले भने, महिलालाई अधिकार नदिने, उनीहरुमाथि हिंसा गर्ने पुरुष होइनन्, महिला नै हुन् । उनको अनुभवमा उनी यसअघि वडाअध्यक्ष थिए, त्यसबेला महिला हिंसा वा झगडाका जतिपनि मुद्दा आए, त्यसमा सासु–बुहारी, आमाजु–नन्द, जेठानी–देउरानीकै बढी थिए । महिला अधिकारका क्षेत्रमा अभियान चलाउँदै आएका एक सयभन्दा बढीको प्रवुद्ध जमघटका विशेष अतिथिले नै यस प्रकारको ‘विशेष’ कुरा गरिदिएपछि पितृसत्ता र पुरुषत्वका विषयमा व्याख्या गर्दैआएका पण्डितहरु एक भन्नु न दुई भन्नुमा परे ।
असार मसान्तको पात्रो पछ्याउँदै ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७४।७५को बजेट सार्वजनिक ग¥यो । मेयर चिरिबाबु महर्जनले ३ अर्ब २२ करोड रुपियाँको बजेट सार्वजनिक गरे । दिगो शहरी पूर्वाधार विकास बजेटमा महिला लक्षित मानवविकासको पक्षले प्राथमिकता पाएको भने देखिएन । बाटो, पानी, बिजुली र ठूला भवनको निर्माणमा मात्र दिगो विकास निर्भर गर्दैन भन्ने सत्यलाई मेयर महर्जनले बुझ्नसकेको देखिएन । महानगरपालिकाले सार्वजनिक सेवा प्रवाहमा सुधार गर्दै दिगो शहरी पूर्वाधार विकास र वैकल्पिक उर्जाको प्रवद्र्धनलाई प्राथमिकता दिनु स्वागतयोग्य विषय हो, तर ‘लैङ्गिक समानता तथा सामाजिक समावेशितालाई ख्याल गर्दै बजेट ल्याइएको’ भनिएता पनि यसको अन्तर्वस्तुमा गएर हेर्दा बजेटले लैङ्गिक न्याय गर्नसकेको पाइएन ।
पाँच वर्षका लागि आएको आर्थिक योजनामा महिलाको यौनिक तथा प्रजनन स्वास्थ्यअधिकार छुट्नु भनेको सामान्य विषय होइन । बजेट वा यस्तै आवधिक आर्थिक कार्यक्रमलाई महिलामैत्री बनाउने हो भने महिलाको यौनिक तथा प्रजनन पक्ष बुझ्नु आवश्यक हुन्छ । महिलाहरु प्रजनन भूमिकाकै कारण तेहरो कार्यबोझमा हुन्छन् । जागिर खाने, कल–कारखाना वा खेतबारीमा काम गर्ने अनि राजनीतिक तथा सामाजिक भूमिका निर्वाह गर्ने काममा महिला र पुरुष दुवै लागिरहेका हुन्छन् । तर, प्रजनन भूमिका महिलाको जिम्मेवारीमा मात्र छ । १२–१३ वर्षको उमेरदेखि ४५–५० सम्म मातृजातिलाई प्रजननको भूमिकाले छोड्दैन । मासिक धर्म पनि भनिने रक्तस्रावको सन्दर्भलाई समाजले सामान्य, स्वाभाविक र चर्चा गर्न नपर्ने विषयका रुपमा लिएको छ । महिलाको यौनिकता र प्रजनन स्वास्थ्यसँग सम्बन्धित यस विषयलाई महत्व नदिनु मातृजातिप्रतिको अपमान र विभेद मात्र होइन, संरचनागत हिंसा पनि हो । मासिकस्राव पुरुषको जुँगादारी उम्रिनुजस्तो शारीरिक परिपक्वताको सूचक मात्र होइन, यो निकै संवेदनशील र मानवजातिको अस्तित्वसँग सम्बन्धित विषय हो । कुरा मासिक स्रावका बेला उनीहरुमाथि गरिने अछुत व्यवहार र पोषणयुक्त आहारबाट वञ्चित गर्ने अभ्यासमा मात्र सीमित छैन, एक असल नागरिकको जन्म र जन्माउने नागरिक आमाको जीवनसँग सम्बन्धित विषय हो ।
यौनिकता र प्रजनन स्वास्थ्य अधिकारको सम्मान जसले गर्दैन वा यस विषयमा जसलाई जानकारी छैन र यसको महत्व पहिचान गर्नसक्तैन ऊ सभ्य नागरिक कहलिन योग्य हुन्न, सफल जनप्रतिनिधि बन्नु त परको विषय । खासगरी पुरुष नेतृत्वले समयमै नसच्चिने हो र लैङ्गिक समानतायुक्त व्यवहार नगर्ने होभने उनीहरुको यही विजय जीवनको आखिरी विजय हुनेछ ।
पछिल्ला वर्षहरुमा लैङ्गिक समानता र समता बुझ्ने र सोअनुसारको व्यवहार गर्ने विषयमा महिलाको तुलनामा पुरुष निकै पछाडि देखिएका छन् । हिजो नेतृत्वमा आउन महिला योग्य छैनन् भनेर पुरुषले कुम उचालेजस्तै आज लैङ्गिक समानताको चेतना भएका पुरुष नै छैनन् भनेर महिलाले आँखिभुईं तन्काउने बेला आउँदैछ । स्वभावतः हिजो जसरी पुरुषले ‘अक्षम’ भनेर महिलालाई नेतृत्वमा आउन दिएनन् त्यसरी नै आज पुरुषमा लैङ्गिक ज्ञान नभएका कारण ‘विचरा’ भनिरहेका छन् । यससँग सम्बन्धित अवसर पाउनबाट पुरुषले वञ्चित हुनुपर्ने अवस्था पनि आउँदैछ । यसैपनि लैङ्गिक अधिकार भनेको महिलाको विषय मात्र होइन, पुरुष र अन्य लिङ्गीको अधिकारको विषय पनि हो । त्यसैले आफ्नै हितका लागि पनि पुरुषले लैङ्गिक चेतना आर्जनमा आलश्यता देखाउनु ठीक छैन ।