क्यामेराबाट प्रयोगकर्ताको निगरानी गर्दै फेसबुक

क्यामेराबाट प्रयोगकर्ताको निगरानी गर्दै फेसबुक

सोसल नेटवर्किंङ साइट फेसबुकले कम्प्युटरको वेबक्याम तथा स्मार्टफोनमा रहेको क्यामराको माध्यमबाट प्रयोगकर्ताहरुको गोप्य रुपमा निगरानी गर्ने तथा प्रयोगकर्ताको गतिविधि रेकर्ड गर्ने योजना बनाइरहेको छ ।

फेसबुकले दर्ता गराएको एक टेक्नोलोजी पेटेन्टका बारेमा हालै खुलासा भएको छ । जस अनुसार फेसबुक अब प्रविधिको माध्यमबाट प्रयोगकर्ताका प्रतिक्रिया तथा आनीबानीका विषयमा जानकारी हासिल गर्नेछ र सोही आधारमा प्रयोगकर्तालाई सामाग्रीहरु पस्किनेछ ।

अर्थात् यदि तपाइँले फेसबुकमा कसैले राखेको तस्वीर हेरेर मज्जा लिनुभयो र मुस्कुराउनुभयो भने तपाइँको त्यो अभिव्यक्तिको आधारमा फेसबुकले तपाइँको न्यूज फिडमा सोही व्यक्तिका अन्य तस्वीर पनि देखाइदिनेछ ।फेसबुकमा देखिने कन्टेन्टहरुको बारेमा प्रयोगकर्ताले कस्तो प्रतिक्रिया जनाउँछन् भन्ने कुराको निगरानी गर्न वा रेकर्ड राख्ने काम उक्त प्रविधिले गर्नेछ । साथै फेसबुकमा लामो समयसम्म टिकाइराख्ने तस्वीरको समेत फेसबुकले विश्लेषण गर्नेछ । यसक्रममा क्यामराबाट खिचेको प्रयोगकर्ताको मुखाकृतिको विश्लेषण गर्नेछ ।

तर यदि तपाइँले कुनै तस्वीर वा भिडियो हेरेर बेखुस भई तत्काल फेसबुकबाटै बाहिरिनुहुन्छ वा स्क्रिनबाट नजर हटाउनुहुन्छ भने फेसबुकले तपाइँको न्यूजफिडमा यस्तो खाले भिडियो तथा फोटोहरु देखाउन बनद गर्नेछ । विज्ञापनको मामिलामा पनि यो लागू हुनेछ ।

यद्यपि, फेसबुकले आधिकारिक रुपमा यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन ।