प्रधानमन्त्रीले नै अस्थायी शिक्षकलाई अनसन बसाएको खुलासा !

प्रधानमन्त्रीले नै अस्थायी शिक्षकलाई अनसन बसाएको खुलासा !

काठमाडौँ, ७ असार । प्रधानमन्त्री हुने निश्चित भएको समयमा दुई साता अघि अस्थायी शिक्षक सङ्घर्ष समितिले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई उहाँको निवासमा बुढानिलकण्ठमा भेटेर माग सुनाएको थियो । सभापति देउवाले “हुन्छ, हुन्छ, म प्रधानमन्त्री भएपछि मिलाउँला” भनेपछि अस्थायी शिक्षकहरु फुरुङ्ग हुँदै फर्किए । प्रधानमन्त्रीले भन्दैमा स्वतः स्थायी हुन गाह्रो हुने उनीहरुलाई राम्रैसँग थाहा थियो, त्यही भएर उनीहरुले देउवा निर्वाचित भएलगत्तै भद्रकालीमा यही असार २ गतेदेखि आमरण अनसन सुरु गरे । अनसनमा रहेका पाँच शिक्षकको स्वास्थ्य अवस्था गम्भीर रहँदा पनि किन सरकारले सुनेन ? अथवा मुलुक दोस्रो चरणमा होमिएको बेला किन एकाएक अस्थायी शिक्षकले कडा आन्दोलन सुरु गरे ? भन्ने प्रश्नको उत्तर खोज्दै जाँदा इ नेपाली खबर डट कमले देउवाले ढाडस दिएकाले आन्दोलन भएको तर माग पुरा गर्न शिक्षा ऐनमा संशोधन गर्नुपर्ने बुझेपछि अहिले आएर प्रधानमन्त्रीले तत्काल नहुने भयो भन्ने सन्देश दिएपछि अनसनकारीलाई कसरी सेफ ल्यान्डिङ गर्ने भन्ने समस्या पैदा भएको छ ।
सङ््घर्ष समितिका अध्यक्ष हेम चौलागाईँ देउवा निकट मानिएकाले पनि माग गर्ने वित्तिकै पुरा हुने उनीहरुको अपेक्षा थियो । उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठकोमा पनि उनीहरु ”दाई जय नेपाल” भन्दै दैनिक पुग्छन् तर मन्त्रालयले चाहेर पनि अहिले सबै अस्थायी शिक्षकलाई स्थायी गर्न नसक्ने भएपछि गोपालमानलाई पनि निकास सूत्र कसैले पेस गर्न सकेको छैन । प्रधानमन्त्री र मन्त्रीसँग सिधै सम्पर्क भएपछि शिक्षा मन्त्रालयका कर्मचारीलाई पनि खासै नटेर्ने गरेका अस्थायी शिक्षकको अनसनस्थलमा मङ्गलबार साँझ मन्त्री श्रेष्ठको निर्देशनमा मन्त्रालयका प्रवक्ता डा हरि लम्साल पुगेर वार्तामा आउन आग्रह गर्नुभयो तर समितिले पत्याएन । वार्तामा आउन दबाब दिन प्रवक्ता लम्साल नेपाल शिक्षक महासङ्घको कार्यालयमा पनि आफै पुग्नुभयो तर महासङ्घका नेताहरुले मौनता साँधेपछि लामो समयदेखि शिक्षा क्षेत्रा गलपाँसो बनेको अस्थायी मुद्धा तत्काल स्थायीरुपमा समाधान हुने देखिँदैन ।
महासङ्घ बेखबर
विगत छ दिनदेखि अस्थायी शिक्षक सङ्घर्ष समितिले भद्रकालीमा आमरण अनसन जारी राखेपनि त्यसमा समर्थन र ऐक्यवद्धता जनाउएर वार्ताको पहलन गर्नुपर्ने संस्था नेपाल शिक्षक महासङ्घले अनसनबारे आफूले सञ्चार माध्यमबाट मात्र जानकारी पाएको बताएको छ ।
अस्थायी शिक्षकलाई प्रक्रिया पुरा गरेर स्थायी गराउने सवाललमा शिक्षक संस्थाहरुबीच नै बेमेल भएको यो गतिलो उदाहरण हो । त्यसो त अस्थायी शिक्षकहरुले पनि महासङ्घलाई मान्यता नदिँदै आएको यो पहिलो घटना भने होइन ।
महासङ्घका अध्यक्ष केशव निरौला र महासचिव तिलक कुँवर निर्वाचनका लागि उपत्यका बाहिर रहेको भन्ने नाममा महासङ्घ अनसनबारे पाँच दिनसम्म मौन बस्नु समितिमले महासङ्घलाई कुनै जानकारी नदिनु मुख्य कारण मानिएको छ । महासङ्घका सहअध्यक्ष रत्नबहादुर वली र उपमहासचव लक्षिराम ढकालले विज्ञप्ति जारी गरी आन्दोलनबारे सञ्चार माध्यमबाट जानकारी आएको जनाउँदै वार्ताबाट समस्याको समाधान गर्न औपचारिकता दिने प्रकारको विज्ञप्ति प्रकाशन गरेका छन् ।
स्वतः स्थायी गराउने ध्येयको माग पुरा हुन सक्ने स्पष्ट आधार नभएपनि अनसनमा रहेका शिक्षकहरुको ज्यान रक्षाका लागि शिक्षा मन्त्रालय र सम्बन्धित पक्षले ठोस पहल गर्नुपर्ने सरोकारवालाको सुझाव छ ।