लैङ्गिक समानता शिक्षा

लैङ्गिक समानता शिक्षा
- कपिल काफ्ले

लैङ्गिक समानता लिङ्गका आधारमा अविभेदको अवस्था हो । पुरुष, महिला र अन्य लिङ्गी भएकै कारण राज्यको ऐन¬–कानुनदेखि समाजको व्यवहारसम्मले नकारात्मक विभेद नगर्ने अवस्थालाई लैङ्गिक समानता भनिन्छ । सिद्धान्ततः लैङ्गिक समानता धेरैले बुझेका छन् तर, यो बुझाइ व्यवहारमा लागु हुनभने सकेको छैन । विगत झण्डै एक शताब्दीदेखि महिला अधिकारकर्मीले लैङ्गिक समानताका पक्षमा बढी सघन रुपमा अभियान चलाए पनि व्यवहारमा विभेद कायम छ । तर, पछिल्ला दशकमा जब लैङ्गिक समानताका पक्षमा पुरुषसमेत सहभागी हुनथाले, यसको व्यावहारिक परिवर्तनमा गुणात्मक सुधार देखियो । त्यसैले औपचारिक शिक्षाको आधारभूत तहदेखि नै छात्र–छात्रालाई लैङ्गिक समानताको ज्ञान दिन आवश्यक रहेको पक्षमा सर्वत्र आवाज उठ्नथाल्यो । ‘जेसी’ को महत्व बुझेका नेपालीहरु यस पक्षमा दृढताका साथ उभिन थाले ।

लैङ्गिक समानता तथा सामाजिक समावेशिताको अभियानमा लागेका नागरिकका लागि ‘जेसी’ अर्थात् जेण्डर इक्वालिटी एण्ड सोसल इन्क्लुजन लोकप्रिय शब्द बनेको छ । परिवर्तित नेपालमा गणतन्त्र र संघीयताजस्तै जेसी बलियो सूचक बनेर रहेको छ । विविध जातजाति र भाषाभाषी रहेको यस मुलुकमा सामाजिक समावेशिताको पक्ष जसरी अनिवार्य छ त्यसरी नै लैङ्गिक समानता आवश्यक छ । तर, लैङ्गिक समानताभित्र सामाजिक सहभागिताको पक्ष पनि अन्तरनिहित छ भन्ने सत्य बिर्सनु हुन्न । खस, जनजाति, दतिल, मधेसी, मुस्लिमआदि नागरिक रहेको बस्तीमा अमुक समुदायभित्रका महिला–पुरुष–अन्य लिङ्गीलाई मात्र अवसर प्रदान गर्दा ‘जे’ त देखिएला तर ‘सी’ प्राप्त हुन सक्तैन । त्यसैले सामाजिक सहभागितालाई बेवास्ता गरेर लैङ्गिक समानता कायम गर्न खोजियो भने यसले सार्थकता पाउन सक्तैन । यस पक्षमा पनि नेपाली समाज विस्तारै सचेत हुँदैगएको देखिएको छ । यसलाई विकासको सूचक मान्नुपर्छ ।

हिजो विकास भन्नाले बाटो, सडक, बिजुली, पानी, आधुनिक भवन र सुखसुविधाका साधनलाई लिने गरिन्थ्यो, तर आज विकास भौतिक समृद्धिमा सीमिति छैन । सचेत नागरिकले विकासको यस मर्मलाई स्वीकार गरिसकेका छन् । काठमाडौंको भव्य महलभित्र लैङ्गिक हिंसा र विभेद भइरहेको छ तर कालिकोटको गाउँपालिकामा रहेको सानो झुपडीमा महिला र पुरुषबीच सम्मान, साझेदारी र समतामूलक अवसर छभने कहाँ बढी विकास भएको मान्ने ? त्यसैले लैङ्गिक समानताका लागि पुरुष सहभागिताको विषयमा विश्वमा भएको प्रगतिप्रति सचेत नेपालीले जानकारी राख्नु आवश्यक भएको छ ।

संयुक्त राष्ट्रसंघ अन्तरगतको प्रभावशाली निकाय जेनेभास्थित मानवअधिकार परिषद्मा केही साताअघि लैङ्गि समानता अभियानमा विश्वमै अग्रपक्तिमा रहेको मुलुक क्यानडाले ऐतिहासिक प्रस्ताव प्रस्तुत ग¥यो । प्रस्तावमा लैङ्गिक समानताका लागि पुरुष सहभागिताको प्रावधान समावेश गरियोस् भन्ने रहेको थियो । लैङ्गिक समानताका लागि पुरुष सहभागिता अभियानमा लागेका विश्वका महिला, पुरुष र अन्य लिङ्गी सबैले यस अभियानमा सक्रिय सहभागिता देखाए । सन् १९८९ को डिसेम्बर ६ का दिन वीजारोपण भएको मेनइङ्गेज अवधारणाले राष्ट्रसंघीय निकायमा कानुनी प्रावधानका रुपमा स्थापित हुने चरण प्रारम्भ ग¥यो । यो खबर लैङ्गिक समानताका लागि पुरुष सहभागिता अभियानमा लागेका विश्वकै नागरिकका लागि उपलव्धिको विषय बन्यो । क्यानडाकै मन्ट्रियलस्थित इकोल पोलिटेक्निक स्कुलमा एक बहुलठ्ठी युवकको हातबाट मारिएका १४ छात्राहरुप्रति श्रद्धाञ्जीको विषय पनि बन्यो प्रस्तुत प्रस्ताव ।

लैङ्गिक समानता अभियानमा लागेका पुरुषहरुलाई थाहा छ, महिला अधिकारका लागि उठेको आवाजबाट आक्रोशित २५ वर्षे मार्क लेपिन नामको युवकले छात्रालाई एकातिर उभ्याएर मसिनगनले भुट्दा त्यहाँ उपस्थित पुरुषहरुले केही गर्न नसकेको हीनताबोध र क्षोभबाट मुक्तिका लागि घटनाको दुई वर्षपछि सेतो रिबन क्याम्पेन सुरु भएको हो । पुरुषहरु हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने महिला हिंसाविरुद्धको १६ दिने अभियानमा हिंसा जनाउने ‘भी’ अक्षरलाई उल्टो बनाएर सेतो रिबन लगाउने गर्दछन् । सेतो रिबन अभियान विश्वका पुरुष सहभागीहरुका लागि ऐक्यवद्धताको परिचायक त हो नै, मानवअधिकार परिषद्मा क्यानडाको प्रस्तावप्रतिको समर्थन अर्को सहकार्य हो । मेनइङ्गेज अलायन्स ग्लोबल सेक्रेटेरियटकी विश्व पैरवी संयोजक जेनिफर रोड्रिगेज ब्रुनोका अनुसार उनले आशा गरेभन्दा पनि अधिक मात्रामा विश्वले प्रस्ताव पारित गराउने अभियानमा साझेदारी जनायो । पुरुष सहभागिताको व्याख्या गर्दै जेनिफर भन्छिन्, महिलाविरुद्धको हिंसा र विभेद अन्त्यका लागि पुरुष र युवकको साझेदारीलाई मानवअधिकार परिषद्ले पहिचान दिनु ठूलो उपलव्धि हुनेछ । प्रस्ताव पारित भएमा महिला अधिकार र यौनिक तथा प्रजनन अधिकारका प्रतिरक्षकहरुलाई यसले ठूलो प्रेरणा दिनेछ । जेनेभामा चालु अवस्थामा रहेको मानवअधिकार परिषद्को ३५औं सभामा प्रस्तुत यस प्रस्तावका विरोधमा उभिनेको संख्या बढी नभए पनि सक्रिय समर्थन गर्ने मुलुकको संख्या बढाउन पनि सहज भइरहेको छैन ।

लैङ्गिक समानतायुक्त समाज र परिवार भएमा पुरुषलाई के लाभ हुन्छ ? यस प्रश्नको जबाफ महिला, पुरुष र अन्य लिङ्गी सबैले बुझ्नु आवश्यक छ । सामान्यतः ‘पुरुषत्व’ तटस्थ शब्द भएपनि समाजले लिएको पुरुषत्वको भूमिका ‘हानीकारक पुरुषत्व’ का रुपमा स्थापित छ । पितृसत्ताको उत्पादनका रुपमा रहेको हानीकारक पुरुषत्वले महिलालाई मात्र होइन, स्वयम् पुरुषलाई पनि हानी पु¥याउँछ । ‘पुरुषत्व’ का नाममा आडम्बरी जीवन जिउने पुरुष वा महिलाहरु परिवार र समाजमा बहिस्कृत हुन्छन् । उनीहरुमा निहित शासकीय शक्ति वा पहुँचका कारण घरपरिवारका सदस्यले आदर गरेजस्तो व्यवहार देखाए पनि हार्दिक व्यवहारबाट उनीहरु वञ्चित हुन्छन् । मानव भएर पनि उनीहरु अमानवको स्तरमा झरिरहेका हुन्छन् । पुरुष मात्र होइन, अधिनायकवादी पुरुषत्व देखाउने महिलाको पनि नियती यस्तै हुन्छ । उनीहरु घर–परिवार र समुदायभित्र रहेर पनि परित्यक्त जीवन बाँचिरहेका हुन्छन् ।

लैङ्गिक समानताका लागि पुरुष सहभागिता किन भन्ने प्रश्नको जबाफ खोज्दै हालै डाइभर्सिटी काउन्सिल अस्ट्रेलियाले एक प्रशिक्षण सामग्री सार्वजनिक गरेको छ । काउन्सिलले विद्यावारिधिका दुई विद्वानले गरेको शोधको प्रतिवेदन सार्वजनिक गर्दै लैङ्गिक समानताका पक्षमा पुरुष सहभागिता कसरी गर्दा बढी प्रभावकारी हुन्छ भनेर पनि जानकारी गराएको छ । ‘जेण्डर पे ग्याप’ अर्थात् लैङ्गिक भुक्तानी विभेदका कारण महिलाले पुरुषलाई साथी होइन, जहिले पनि शासक वर्गका रुपमा हेरिरहेका हुन्छन् । प्रजनन भूमिका वा गर्भाधारण गर्नुपर्ने कारणले महिलामा हुने कार्यबोझले गर्दा उत्पादनका काम र नेतृत्वमा पहुँच बनाउने अवस्थाबाट वञ्चित हुनुपरेको पीडा सचेत महिलामा अवश्य हुन्छ । यस प्रकारको पीडामा रहेका महिलाले पुरुषलाई ‘महिलाको समस्या नबुझ्ने अविवेकी’ ठानिरहेका हुन्छन् । यस यथार्थलाई जुन पुरुषले पहिचान गरेर उनीहरुलाई क्षतिपूर्ति दिने वा समताको व्यवहार गर्ने गर्दछ, ऊ महिलाको प्रिय पात्र बन्छ । त्यसो त पुरुषले ‘म महिलाको प्रिय पात्र नबनी मृत्युको मुखमा जान्छु’ भनेपनि उसलाई कसैले रोक्दैन, तर मृत्युशय्यामा सुतेको बेला ‘लैङ्गिक दृष्टिले म अमानव बनेर नै मर्दैछु’ भन्ने चिन्ताले उसलाई अवश्य सताउनेछ ।

पुरुष सामाजिक असमानतारुपी समस्याको अंग हो, त्यसैले समाधानका लागि पनि उसको योगदान आवश्यक छ । आवश्यक परिवर्तनका लागि पुरुष सहभागिता बढाउनुको विकल्प छैन । पुरुषले महिलालाई अधिकार प्राप्तिमा सहयोग गरेर मात्र पनि पुग्दैन, साझेदारीको अवधारणाका साथ लैङ्गिक समानताका लागि सक्रिय हुनुपर्छ । महिलाबाट साँच्चिकै समानतायुक्त माया र सम्मान पाएर बाँच्ने पुरुष नै सही अर्थमा मर्द हो । त्यसैले सही मानव हुनसक्नु सामान्य विषय होइन । यस प्रकारको शिक्षा विद्यालयस्तरदेखि नै हुनसके भोलिको नेपाल साँच्चिकै सभ्य र सुखी हुनेछ ।

(असार १२ मा नेपाल समाचारपत्रमा प्रकाशित)