असार ९ गते २०७४, शुक्रबार | June 23, 2017     18:00:00

मतदाता शिक्षा

vote

ग्रामीण क्षेत्रमा नमुना मतदान

इलाम, ४ असार । निर्वाचन कार्यालयले गर्ने नमुना मतदान कार्यक्रम गाउँ–गाउँमा पनि गर्नुपर्ने इलाम सदरमुकाममा भएको नमुना मतदान कार्यक्रममा सहभागी मतदाताले सुझाव दिएका छन् ।

मतदातालाई मतदान गर्न सिकाउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालयले इलाम चोकबजारमा गरेको नमुना मतदानमा सहभागी मतदाताले गाउँका सर्वसाधारण नागरिकलाई सहभागी गराई मतदानका लागि व्यावहारिक सीप सिकाउन सकेमा बदर मतको सङ्ख्यामा कमी ल्याउन सहयोग मिल्ने सुझाव दिएका हुन् ।

अझै पनि गाउँका दूरदराजका नागरिकले मतपत्रको नमुना नदेखेको दाबी गर्दै उनीहरूले बुज्रुकहरूलाई सहभागी गराई गरिएको कार्यक्रमले कुनै उपलब्धि नदिने बताउँदै मतदाता शिक्षाका लागि खटेका स्वयंसेवक पर्याप्त नभएको समेत बताए ।

जिल्लाको पाँच स्थानमा गरिएको नमुना मतदान सबै बजार केन्द्रित भएको बताउँदै उनीहरुले सरोकारवालालाई गाउँमा पनि नमुना मतदानको कार्यक्रम राख्न आग्रह गर्दै यसो गर्न सकेमा मतदानका बारेमा सर्वसाधारणमा हुने अन्योलसमेत हट्ने सञ्चारकर्मी याम योङ्हाङको भनाइ छ ।

निर्वाचन कार्यालयले भने नमुना मतदान कार्यक्रमले सदर मत र बदर मत छुट्याउने भन्दा पनि सबैलाई मतदानका विषयमा जानकारी गराउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरेको बताएको छ । कार्यालयका अनुसार बजार केन्द्रमा सबैखालका नागरिकको सहभागितालाई जोड दिएर कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

निर्वाचनको मिति अझै केही दिन बाँकी रहेकाले गाउँ केन्द्रित नमुना मतदान कार्यक्रम गर्ने तयारीसमेत रहेको निर्वाचन कार्यालय इलामका प्रमुख प्रेमकुमार काफ्लेले जानकारी दिनुभयो ।

जिल्लाको देउमाई नगरपालिकाको केन्द्र मङ्गलबारे, इलाम नगरपालिकाको चोकबजार, बरबोटे, सूर्योदय नगरपालिकासहित पाँच स्थानमा निर्वाचन कार्यालयले गरेको नमुना मतदान कार्यक्रममा ५०० बढीलाई सहभागी गराई मतदानका बारेमा जानकारी गराएको छ । रासस

vote

आमसञ्चारमाध्यममा निर्वाचन समाचार प्राथमिकतामा

नारायण न्यौपाने-

काठमाडौँ, ३ असार । आमसञ्चारमाध्यमले पहिलो चरणको स्थानीय तह निर्वाचनमा निर्वाचनसम्बन्धी समाचार र निर्वाचन आयोगका विषयवस्तुलाई अधिक स्थान दिएको अनुगमनबाट पुष्टि भएको छ ।

पहिलो चरणको स्थानीय तहको निर्वाचनमा आमसञ्चारमाध्यमको अनुगमनको जिम्मेवारी पाएको प्रेस काउन्सिल नेपालले गरेको अनुगमनमा सबै खाले सञ्चारमाध्यमले निर्वाचनसम्बन्धी समाचारलाई प्राथमिकताका साथ महत्वपूर्ण स्थान दिएर प्रचारप्रसार गरेको पाइएको हो ।

देशमा प्रकाशन र प्रसारणमा रहेका पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनमध्ये स्थानीय निकायको निर्वाचनलाई केन्द्रित गरेर काउन्सिलले १० टेलिभिजन, ४२ एफएम रेडियो, ३६ अनलाइन, १२ राष्ट्रिय दैनिक र ५६ साप्ताहिक पत्रिकालाई अनुगमनका लागि छनोट गरेको थियो ।

उक्त अवधिमा टेलिभिजनबाट प्रसारण भएका समाचारमध्ये ३८ प्रतिशत निर्वाचन सम्बन्धित तथा २६ प्रतिशत निर्वाचन आयोग र त्यहाँका पदाधिकारीसँग जोडिएका समाचार प्रसारण भएका थिए ।

टिभी, रेडियो र पत्रपत्रिकामा एमाले
नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), सरकार, साझा पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका समाचारले क्रमशः स्थान पाएको काउन्सिलको प्रतिवेदनमा उल्लेख छ । काउन्सिलले निर्वाचनको मौनअवधिअघि ६५ आम सञ्चारमाध्यमका १२४ सामग्री तथा मौनअवधिमा ४० सञ्चारमाध्यमका ८२ निर्वाचनसम्बन्धी समाचारको अनुगमन गरेको थियो ।

मतदानपछिको नौ दिनमा ५६ सञ्चारमाध्यमका ८१सामग्रीको अनुगमन गरिएको काउन्सिलले जनाएको छ । काउन्सिलले भनेको छ– “आमसञ्चारमाध्यमको सकारात्मक प्रभाव परेको कारण निर्वाचनको अपरिहार्यतालाई दरो रुपमा उजागर गरेको छ, समग्रमा भन्दा स्थानीय तहको निर्वाचनमा आमसञ्चारमाध्यमको यथेष्ट साथ र सहयोग रहेको छ ।”

मुलुकमा नियमति प्रकाशित पत्रपत्रिकाको सङ्ख्या एक हजार, प्रसारण भइरहेको टेलिभिजन एक सय र एफएमको सङ्ख्या सात सयको हाराहारीमा रहेको काउन्सिलले जनाएको छ । काउन्सिलमा सूचीकरण भएको अनलाइन सञ्चारमाध्यमको सङ्ख्या छ सय ५० छ ।

त्यस्तै रेडियोको ‘कभरेज’मा पनि निर्वाचनसँग सम्बन्धित सबैभन्दा बढी परेको थियो । त्यसपछि क्रमशः आयोग र आयोग पदाधिकारी, एमाले, काँग्रेस, माओवादी केन्द्र, राप्रपा, सरकार, स्वतन्त्र उम्मेदवार, राष्ट्रिय जनता पार्टी, नयाँ शक्ति, सङ्घीय समाजवादी, नेपाल मजदुर किसान पार्टी, साझा पार्टी, जनजागरण पार्टी, विवेकशील नेपाली दलका समाचार प्रसारण भएका थिए ।

स्वतन्त्र, स्वच्छ निर्वाचनमा आमसञ्चारमाध्यमको सक्रिय सहभागिता अपरिहार्य हुने बताउँदै काउन्सिलका मुख्य अधिकृत झवीन्द्र भुसाल भन्नुहुन्छ– “निर्वाचनलाई राष्ट्रिय महोत्सवका रुपमा सफल तुल्याउन आमसञ्चारमाध्यमको सक्रिय सहभागिता अपरिहार्य हुन आउँछ ।”

अनलाइनमा भने एमालेको तुलनामा नेपाली काँग्रेससँग सम्बन्धित समाचार बढी समेटिएको थियो । निर्वाचन घोषणा भएपछि पत्रपत्रपत्रिकामा प्रकाशित समाचारमध्ये सबैभन्दा धेरै निर्वाचनका गतिविधि, निर्वाचन आयोग र पदाधिकारीलाई उद्धृत गरिएका समाचार छापिएका थिए भने एमाले, काँग्रेस, माओवादी केन्द्र र राप्रपालाई पनि प्राथमिकतामा राखेर समाचार सम्प्रेषण भएको काउन्सिलको प्रतिवेदनमा उल्लेख छ ।

निर्वाचनसँग सम्बन्धित समाचार निष्पक्ष रुपमा सत्यतथ्यमा आधारित भएर सम्प्रेषण, आयोगसँग सम्बन्धित समाचार प्रवक्ताबाट पुष्टिपछि मात्र प्रकाशन र प्रसारण गर्न तथा विभिन्न राजनीतिक दल तथा उम्मेदवारले उल्लङ्घन गरेको आचारसंहिताको विषयलाई प्राथमिकताका साथ समाचार बनाउन आयोग र प्रेस काउन्सिलले आमसञ्चारका माध्यमलाई सुझाव दिँदै आएका छन् ।

एक सय सञ्चारमाध्यमलाई ध्यानाकर्षण
काउन्सिलले निर्वाचन आचारसंहिता उल्ङ्घन गर्ने ८५ पत्रपत्रिका, सात टेलिभिजन, पाँच एफएम रेडियो र ३६ अनलाइनलाई आगामी दिनमा यस्तो घटना नदोहो¥याउन ध्यानाकर्षण गर्दै सचेत गराएको छ ।

केही छापामाध्यमले आचारसंहिता विपरीतका सामग्रीका सम्बन्धमा ध्यानाकर्षण गराउँदा समेत अवज्ञा गरेको जनाउँदै काउन्सिलले त्यस्ता संस्था कारबाहीको प्रक्रियामा रहेका जनाएको छ । पहिलो चरणको स्थानीय तहको निर्वाचन प्रदेश नं ३, ४ र ६ का ३४ जिल्लाका २८३ स्थानीय तहमा गत वैशाख ३१ गते भएको थियो । रासस

vote

मतदाताका घरदैलोमा उम्मेदवार

मोहम्मद सदरुल-

भद्रपुर, ३ असार । आसन्न स्थानीय तहको निर्वाचन सम्पन्न हुन एघार दिन मात्र बाँकी रहेको अवस्थामा झापाका सबै भन्दा पुरानो सहर भद्रपुर नगरपालिकामा मतदाता र उम्मेदवारबीच तीव्रगतिमा भेटघाट एवम् छलफल भइरहेको छ ।

राजनीतिक दलका उम्मेदवारले जनताका माझमा आ–आफ्ना पक्षमा जनमत तयार गर्न ¥याली, घरदैलो, जुलुश निकाल्नेदेखि आपसी छलफल एवम् भेटघाटलाई तीव्र पारेका छन् ।

साविकको महेशपुर, चन्द्रगढी र पृथ्वीनगर गाविस गाभेर बनेको भद्रपुर नगरपालिकामा ६५ हजार ५४३ जनसङ्ख्या तथा कुल ४२ हजार ५७ मतदातामा २१ हजार २३२ मतदाता महिला छन् ।

दशवटा वडा रहेको भद्रपुर नगरपालिकामा कुल ५२ जना प्रतिनिधि निर्वाचित हुने यसका लागि नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र राप्रपाले प्रमुख उपप्रमुृखसहित लगभग सबै वडामा उम्मेदवार बनाएर निर्वाचन गतिविधिमा जुटेका छन् ।

भद्रपुरमा लगभग एकैनासको समस्या रहेको र यसलाई अहिले सबै राजनीतिक दलले समाधान गर्ने प्रतिबद्धता जाहेर गरिरहेका छन् ।
निर्वाचनमा प्रमुख पदका लागि मत मागिरहनु भएका नेपाली काँग्रेसका उम्मेदवार गणेश पोखरेलले “पूर्वको मुख्य व्यापारिकद्वार शान्त, सुन्दर, समृृद्ध भद्रपुर नगर” लाई केन्द्रविन्दु बनाएर शिक्षा, स्वास्थ्य, सञ्चार, वातावरण संरक्षण, नदी नियन्त्रण, सडक सञ्जाल विस्तार, कृषि, उद्योग, मजदुर संरक्षण, गरिबी नियन्त्रण, बेरोजगारी समस्या हल, सांस्कृतिक सम्पदा संरक्षण, पर्यटन विकासमा आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
नेकपा एमालेका प्रमुख पदका उम्मेदवार जीवनकुमार श्रेष्ठले विगतमा पनि आफूले उपप्रमुखका हैसियतबाट जनताको सेवा गरेको र अहिले आफनो उम्मेदवारीे कृषिमा विषादीमुक्त खेती, बजारीकरण, सडक सञ्जाल विस्तार, भ्रष्टचारमुक्त प्रशासन, वृहद र विकसित नगरको परिकल्पना साकार पार्न दिएको कुरामा जोड दिनुभयो ।

नेकपा माओवादी केन्द्रका तर्फबाट प्रमुख पदका उम्मेदवार शिवकुमार राजभण्डारीले विकासमा निकैपछि परेको भद्रपुर नगरपालिकाको चौतर्फी विकास गर्न, सुकुम्वासी समस्या समाधान गर्न, भद्रपुरलाई व्यापारिक केन्द्रको रुपमा विकास गर्न, यहाँ देखिएका स्थास्थ्य, शिक्षा, रोजगार, खानेपानी र जङ्गली हात्तीको समस्या समाधान गर्ने र जनतालाई न्यायमा पहुँच पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस्तै, राप्रपाका तर्फबाट प्रमुख पदका उम्मेदवार नवराज पनेरुले जनता आफ्ना जनप्रतिनिधि छान्न निकै उत्सुक देखिएकोले उहाँहरुको माग शिक्षा, स्वास्थ्य, रोजगारमा भद्रपुरवासीको पहुँच पु¥याउन आफै अहोरात्र खटिने कुरामा जोड दिनुभयो ।

यसैगरी, विगतमा चन्द्रगढी गाविसमा दुई पटक नेकपा एमालेको तर्फबाट गाविस अध्यक्षको जिम्मेवारी वहन गरिसक्नु भएका दुर्गाप्रसाद भट्टराई अहिले स्वतन्त्र उम्मेदवार भएर प्रमुखका लागि जनताका माझमा मतमागिरहनु भएको छ ।

यहाँका सबैजसो उम्मेदवारले समस्या सडक, विद्युतीकरण, बेरोजगार, खानेपानी जस्ता जनताका प्रत्यक्ष सरोकार राख्ने समस्या समाधानमा अग्रणी भूमिका निर्वाह गर्ने र भद्रपुरलाई पूर्वको एउटा सुन्दर सहरको रुपमा विकास गर्ने वचन दिनु भएको छ । रासस

बसको ठक्करबाट गुर्जुधारामा वृद्धाको मृत्यु

असार १, काठमाडौं । काठमाडौं चन्द्रगिरि नगरपालिका–१० गुर्जुधारामा बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। काठमाडौंबाट सुनौलीतर्फ जाँदै गरेको लु१ ख... more
school

हावाहुरीले विद्यालयको छाना उडायो

जाजरकोट, १ असार । त्रिवेणी नलगाड नगरपालिका–७ स्थित जनविकास आधारभूत विद्यालयको छाना हावाहुरीले उडाएपछि समस्या भएको छ । गएराति आएको हावाहुरीले यहाँका तीनवटा विद्यालयमा छाएको टिनको छाना सबै उडाएपछि पठन पाठनमा समस्या आएको प्रधानाध्यापक गोरखबहादुर शाहले बताउनुभयो ।

शाहका अनुसार छाना पूरै उडाएको छ, बिहान विद्यार्थी खुल्ला आकाशमा पढ्न बाध्य भएका छन् । हावाहुरीले विद्यालयको कार्यालय सञ्चालन गरेको कोठामा समेत व्यापक क्षति भएको छ । विद्यार्थी आकाश हेर्दै पढ्दै गरेको शाहले बताउनुभयो । विद्यालयमा रु एक लाखभन्दा बढीको क्षति भएको उहाँले बताउनुभयो । रासस

अवैध नेटवर्किङ गरेको आरोपमा १२० जना पक्राउ

२९ जेठ सोमबार काठमाडौं । अवैध रुपमा नेटवर्किङ व्यवसाय सञ्चालन गरेको आरोपमा १२० जनालाई प्रहरीले काठमाडौंको पुरानो बानेश्वरबाट पक्राउ गरेको छ... more

चीनमा मिनिबस तालमा खस्दा १८ जनाको मृत्यु

काठमाडौं १७ , मंसिर । चीनमा शुक्रबार भएको एक सडक दुर्घटनामा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको स्थानीय सन्चारमाध्यमले जानकारी दिएको छ... more

सेनामा जागिर खाने तयारीमा रहेकी एक युवतीको सामूहिक बलात्कार

बर्दिया १७ , मंसिर । शुक्रबार बिहान गुलरिया–७ कोटही मन्दिर पछाडीको सडकमा हिँडिरहेकी एक युवतीको सामूहिक बलात्कार भएको छ । तीन... more

फेसबुकमा वैदेशिक रोजगारीको विज्ञापन देखाएर रकम उठाउने पक्राउ

काठमाडौं, १३ मंसिर । फेसबुकमा वैदेशिक रोजगारीको विज्ञापन देखाएर विभिन्न व्यक्तिबाट रकम उठाएका दोलखाको मागापौवा २ का दावा योञ्जन पक्राउ परेका... more
<-- Google Analytics -->