असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

डोल्पाका किशोरले काठमाडौंंमा बहिनी हराएपछि…….!

(तिलक घिमिरे ‘निर्मल’)

“भाइ तिम्रो नाम के हो?’ काठमाडौंको कालिमाटीस्थित लेखनाथ पौडेलको सालिक अगाडिको पाइपको बारमा १ हातमा आफूभन्दा ठूलो प्लाष्टिकको बोरा र अर्को हातमा सीताराम दूधको पाकेटमा डेन्ड्राइड हालिएको सानो पाकेट बोकेर सुँघिरहेका अन्दाजी १३ वर्ष जतिका देखिने मंगोलियन समुदायको पातलो जीउडालको बालकलाई बडो चिने जसरी ठाडो प्रश्न गरेँ ।

उनले पनि बडो मजाको उत्तर दिए, ‘किन चाहियो तपाईंलाई ?’ यसो सम्झिए, हो पनि, मलाई उनको नाम सोध्ने काम पनि थिएन । तरपनि पहिला उनीहरुसँगै काम गर्ने संस्थामा काम गरेकोले होला उनीहरुसँग बोल्न असहज लाग्दैन । त्यहाँ चाहिं मलाई अलिअलि अफ्ठ्यारो लाग्यो किनकि उनको त्यस जवाफले मसँगै रहेको साथी मज्जाले हाँस्यो ।

मैले सामाजिक संस्थाहमा काम गर्न थालेको पनि उनीहरुबाटै हो । तसर्थ उनीहरुसँग कस्तो अवस्थामा कसरी कुराकानी गर्नुपर्छ भन्ने जानकारी नभएको पनि पक्कै होइन तर त्यति बेला खै कस्तो मूड आयो र प्रत्यक्ष प्रश्न गरेंछु र ठाडो उत्तर पाएँ । अलिअलि हच्किएँ म र अति नै मायालु लवजमा भने ‘‘चिनेको भाइजस्तो लागेर सोधेको थिएँ, सरी है ।’’ उसले अब अलि नरम भावमा अंग्रेजीमा भन्यो ‘‘नो मेन्सन’’ अब चाहि परिस्थिति एकैछिन अगाडिको भन्दा राम्रो भइरहेको थियो । मैले कुरा गर्ने निधो नै गरें र पुनः सोधें ‘‘मलाई तिम्रो नाम भन्न मिल्दैन हो भाइ ?’’ उनले जवाफ दिए– ‘‘माइकल’’ ।
‘‘ए माइकल पो, भाइको त अंग्रेजी नाम पो रहेछ ।’’ उनी हाँसे । हाँस्दा धेरै दिनदेखि नमाझेका उनका पहेँला दाँतमा साग अड्किएको प्रष्टै देखिन्थ्यो । उनको अगाडिको १ दाँत झरेको थियो ।
‘‘अनि माइकल भाइको घर चाहि कता प¥यो नि ?’’ मैले पुनः फेरो समाउने कोसिस गरें । उनले आफ्नो घर डोल्पा जिल्ला भएको बताए । म अचम्ममा परें, किनकि डोल्पा भनेको नजिकैको ठाउँ हैन । मैले त्यत्रो समय काम गर्दा पनि त्यति धेरै टाढाँको बालबालिका कमै भेटेको थिएँ ।
‘‘डोल्पा भनेको त साह्रै टाढाँ छ हैन माइकल भाई ?’’ उनले स्वीकारे ।
‘‘हो धेरै टाढाँ छ, हामी गाउँलेहरु चाहि काठमाडौं आइपुग्न ७, ८ दिन जति लाग्छ तर मेरो गाउँबाट ह्याँ आउन कुइरेहरुलाई १० दिनभन्दा धेरै लाग्छ ।’’
‘‘आम्मामा त्यत्रो दिन लाग्छ है,’ मैले नजिकै हुनलाई लामै लेग्रो तानेर मन जित्न खोजें । उनले ‘‘त्यति त नर्मल नै हो’’ भनेर बुझाए । अनि मैले त्यो डोल्पाबाट काठमाडौंसम्म कसरी आइपुगेको भनेर घुमाउरो प्रश्न तेर्साए । उनले ‘‘आज मसँग ट्याम छैन कुरा गर्न’’ भने । मैले जसरी भए पनि सडक बालबालिकासँग सम्बन्धित लेख लेख्ने चाहना राखें र उनलाई लेखको मुख्य पात्र बनाउन उपयुक्त ठानें । उनीसँग नजिकै हुन प्रयत्न स्वरुप ‘‘माइकल भाईको आज फुर्सद छैन जस्तो छ त्यसैले मलाई भोली भेट्न सक्छौ त ? यहि ठाउँमा’’ भनेर प्रस्ताव राखें । उनले अलिकति अनकनाएर भने ‘‘हेरौं, भ्याएँ भने भेटौला’’ भन्ने जवाफ दिए । मैले यदि मिल्ने अवस्था रह्यो भने १ बजे आउँछु यही ठाउँमा भनेर सुझाएँ । उनी पनि आफ्नै नित्यकर्ममा तल्लीन भए । एक हातले डेन्ड्राइड तान्दै अर्को हालमा काँधमा ठूलो धोक्रो भिरे प्लाष्टिक टिप्न लागे । मैले उनी पर पुगुञ्जेल हेरिरहें । ऊ अलि पर पुगेर कालिमाटीको तरकारी बजारको गेटमा डोकोमा बेच्न राखेको १ सुन्तला निकालेर भाग्न खोज्यो । तर साहुजीले समाते, लातले हिर्काए र आमा बाबुको नाम जोडेर अपाच्य शब्द प्रयोग गरी तथानाम गाली गरे । अन्त्यमा बोहनीसमेत नभएको बेलामा ‘‘खातेले झुर गरायो’’ भनेर मुर्मुरिए । मलाई त्यो उसको गालीको शब्दले बडो नमज्जा लाग्यो र ‘‘सुन्तलाको पैसा म दिन्छु उसलाई छोड्दिनुस् साहुजी’’ भने । उनले माइकललाई छोडिदिए । मैले त्यस साहुबाट १ के.जी. सुन्तला किनेर त्यसमा १ वटा घटी नै दिने बताएँ । किनेको सुन्तलामध्ये ३ वटा माइकललाई दिएँ । ऊ मसँग अब चाहिं खुसी देखिन्थ्यो । साहुलाई चाहि उसको पनि आमाको नाम जोडेर अश्लील गाली गर्दै भाग्यो । मलाई हाँस उठ्यो । म ३ वटा सुन्तला आफूले झोलामा हालेर उसलाई पुनः भोलि भेट्ने कुरा स्मरण गराउँदै आफ्नो बाटो लाग्छु । वरपरका मान्छे र अन्य व्यापारीहरु पनि ‘‘यिनीहरुको जातै यस्तै हो’’ भनेर कुरा काट्नथाले ।

रुममा पुग्छु र उसको कथासँग सम्बन्धित रहेर कसरी राम्रो आर्टिकल लेख्ने भनेर गम्छु तर मेलोमेसो नै आउदैन । धेरै नै समयसम्म सोचेँ । अहँ, सुरु गर्ने तरिका नै पुगेन र छोड्दिए । कापी र कलम त्यतिकै छोडेर भोली भेटेर केहि दिमाग लाउनु पर्ला भनेर खाना बनाउन पट्टी लागे । ठिक १ बजे भोलीपल्ट त्यसै ठाउँमा पुगे । उसको आगमनको प्रतिक्षाको घडि हेर्दै । सायद कोहि प्रेमिका लाई भेट्न पनि त्यति धेरै आत्तिन्न होला, जति म उसलाई भेट्न आँतुर थिए । कारण थियो ४ बजेको अन्तिम माईक्रोबसमा पोखरा नपुगि हुन्नथ्यो किनकी भोलिबाट काममा जानु पथ्र्यो । लगभग पौने घण्टाको अविरल प्रतिक्षा पछि उसको आगमन भयो र नजिक आएर भन्यो ‘‘ ओ ब्रो हल्का ढिला भयो आउन, सरी है’’ भन्दै अलि ब्यागी लवजमा भन्यो । मैले नरिसाइ स्वीकृति जनाए र बरु ढिला आउनको कारण जान्न चाहे । उसले एकजना साथीलाई ज्वरो आएको र उपचार तथा रेखदेखको लागि १ संस्थामा पु¥याएर आएको बतायो । म बडो भावुक भए र सोचे ‘‘अनि उसलाई कहिले देखि ज्वरो आएको रहेछ माइकल ?’’ उसले भन्यो हिजो माल खोज्न पाइएन पानी परेको परेइ गरेर खाना खान अनि झ्याप हान्न पनि चान्स् मिलेन त्यहि भएर भोकै बसेको र पानीमा हल्का भिजेकोले बिरामी भएको सप्रसङ्ग व्याख्या ग¥यो । मलाई अलि–अलि नमज्जा लाग्यो र प्रसङ्गलाई अर्कै तिर मोड्न खोज्दै अनि माइकल भाईले खाना खायौ त भनेर सोध्रे । उसले संस्थामा गएर मासु भात खाएको बतायो । अनि मैले हिजो कै अधुरो इपिसोडलाई निरन्तरता दिन पटि लागे । उसको डोल्पादेखि काठमाण्डौंसम्मको यात्रा सुनाउन आग्रह गरे । उसले १ पाकेट खुकुरी चुरोट किनीदिन आग्रह ग¥यो तर मैले त्यति नै पैसाको बरु मःम खुवाउने शर्तमा कुराकानी अगाडि बढाए । उसले आफ्नो विगत सुरु गर्दै गयो । मैले टाउको हल्लाउदै गए । उसको बडो मार्मिक व्यथा रहेछ जिवनको ।

डोल्पा जिल्लाको विकट गा.वि.स. मा रहेछ उसको घर । जहाँबाट मानिसहरु शे–फोक्सुण्डो ताल र राष्ट्रिय निकुञ्ज हेर्न तथा घुमफिर गर्न जाँदा रहेछन् । सदरुकाम दुनैबाट लगभग ३ दिन जति लाग्ने रहेछ उसको गाउँ पुग्नलाई । उसको वास्ताविक नाम माइला रहेछ । सोहि माइला नै पछि शहर छिरेपछि माइकल भएको रे । उही माइला ११ वर्ष उमेरसम्म गाउँमै चौरी चराउने काम गथ्र्यो रे । जब उसको बाबुको भिरबाट लडेर मृत्यु भयो त्सको लगभग ७ महिनापछि उसको आमा पनि पोइला गइछिन् । माइलाको १ जना बहिनी रहिछिन् हाल उनी १२ वर्षकी भइन् रे । माइकल चाहि १४ वर्षमा हिड्दै रहेछन् अहिले । आमा पोइला गएपछि ११ वर्षिय माइलाले साहुको चौरी चराएर बहिनीलाई हुर्काइ रहेको थियो रे त्यति बेला उसकी बहिनी गौरी ९ वर्षकी मात्र थिइन् रे । लगभग ५ महिना जति चौरी चराएछन् उनले । एकदिन भोट माग्न आएका नेताले उनी र गौरीलाई काठमाण्डौं लगेर धेरै पढाइदिने भनेर चामल पु¥याउन गएको खाद्य संस्थानको हेलीकप्टरमा हालेर सुर्खेत हुँदै काठमाण्डौं ल्याएछन् ।

त्यो नेताको १ जना कुइरेसँग चिनाजान थियो रे त्यहि भएर उसको संस्थामा राख्न ल्याएको रहेछ तर उनीहरु काठमाण्डौं आउँदा त्यो कुइरे (विदेशी) फर्किइसकेको हुनाले ति दाजु बहिनीलाई नेताले त्यहि छोडेर एकछिनमा आउँछु है भनेर हिडेको आज ३ वर्ष भइसक्यो भेटेको छैन रे । डोल्पाको त्यो अनकन्टार बनमा बसेको माइला र गौरीलाई काठमाण्डौंको भिडभाडले वाकवाकी लाग्न थालेछ । त्यो नेता नआएपछि उनीहरु आत्तिदै रुदै बसेछन् गोंगबुको बसपार्कमा । उनीहरु रोएको देखेर १ जना होटलवाला आएर भाडा माझ्ने काम गर्छस् भनेर सोधेछन् । माइला र गौरीले सहमत जनाएर हुन्छ भन्दै भाडा माझ्ने काम सुरु गरेछन् । काठमाण्डौंको भाषा राम्ररी बोल्न नजान्ने तर बुझ्न चाहि बुझ्ने । चामलको खाना, दाल, तरकारी, अचार हालेको खाएकै थिएनन् रे उनीहरुले डोल्पामा हुँदा । केहि समय त उनीहरुलाई रुच्दै रुचेन रे भात । २ महिना जति बितेपछि १ जना मोटी–मोटी देखिने महिला आएर गौरीलाई आफ्नो घरमा काम पनि गर्ने, पढाउने पनि भनेर लिएर गए रे तर ति मोटी महिला को हुन् न उनलाई थाह थियो रे न त गौरीलाई । त्यस होटलमा लगभग ९ महिना काम गरेपछि उसले साहुजीसँग लुगा किन्न २०० रुपैया माग्दा दिएनछन् र उसलाई काम गर्न मन पनि हराउँदै गयो रे । एकदिन चियाको कप फुट्दा साहुको छोरोले पिटेको हुँदा उसले काम छोडेर सडक जिवन अंगाल्न पुगेको रहेछ । सडकमा लगभग २ वर्ष जति भयो रे उ बस्न थालेको । ६ महिना जति अगाडि गौरीको बारेमा बुझ्न त्यहि पुरानो साहुसँग जाँदा उसले त होटल बेचिसकेको र अर्कैले किनेको पो रहेछ ।

म साह्रै भावुक भएँ उसको व्यथा सुन्दा । उसका पनि कथा कहदै जाँदा गला अवरुद्ध थिए, आँखा टिलपिलाई रहेको थियो । मैले मःम खान उसलाई होटलमा लगे । होटलवालले तपाई भित्र टेवुलमा बस्नुस् यो खाते यहि उभिएर खान्छ भन्यो । माइला जोडले कराउँदै भाग्छ- ‘साला खान्न तेरो मःम, हो म खाते हुँ ।’

म अवाक् भए र मःम पसलको साहुसँग झोक्किए र उनलाई त्यस्तो भन्ने अधिकार कसले दियो भनेर अलि कड्किए । त्यतिञ्जेल उ विष्णुमती पुल नजिकै पुगिसकेको थियो । म किंकर्तव्यव्यूमुढ भए किनकी उसलाई कबोल गरेको मःम खुवाउन सकिन मनमा खिन्नता लिएर कोठामा गए । अनी उसकै बारेमा समालोचनात्मक समिक्षा मनमनै गर्न थाले । कोहि पनि बालबालिका सडकसम्म के–के कारणले आउने रहेछन् त, सडकमा आइपुग्न उनीहरुलाई कस्ता–कस्ता तत्वहरुले प्रभाव पार्ने रहेछन् त, सडकमा उनीहरुले किन लागुपदार्थ सेवन गर्ने रहेछन् त, सडकमा बस्दा किन ढाट्ने चोर्ने तथा पाकेट मार्ने काम गर्ने रहेछन् त बिरामी साथीलाई औषधोपचारको लागि संस्थामा पु¥याएर आएको र ढिला भएकोमा क्षमा समेत मागेकोले उनीहरुका संवेदनशिलता कतिसम्म रहेछ भन्ने पंष्ट्याउँछ ।

विनासित्तिमा त मान्छेहरु बेफर्सद भएको बताउँछन् भने उ त आफ्नो ड्युटी हिडेको बेला ‘‘ट्याम छैन’’ भन्नु कति राम्रो लजिक भाव थियो, आफ्नो मान्छेको खोजिमा हिड्नु र नपाउँदा रिस उठ्नु मानविय स्वभाव नै हो । समूदायको बोलीचाली र व्यवहारले गर्दा उनीहरु विस्तारै यस समाजबाट टाढा हुँदै जानु स्वभाविक नै हो, यि सब घटनामा कोहि बालबालिका सडकमा आइपुग्नु भनेको के उनीहरु रहरले मात्र आएका हुन् त ? डोल्पाको खर्कमा चौरी चराउदै हिड्ने माइला काठमाण्डौंको फोहोरको थुप्रो माथि उभिएर पुराना प्लाष्टिक खोज्दै हिड्नु र नेपाली समेत बोल्न नजान्ने सडक जिवनमा आई माइकल हुनु के त्यसमा उसको दोष थियो त ??? सडकमा बालबालिका बढाउनुमा हाम्रो समाजको जिम्मेवारी छैन होला त ? यदि समाज पनि जिम्मेवारी छ भने त्यसलाई व्यवस्थापन तथा न्यूनिकरणमा समाजको चाहि दायित्व के त ? यि र यस्ता प्रश्नहरु मात्रै मनमा खेलिरहेकोले सडकमा बस्ने बालबालिका हरुका बारेमा आर्टिकल लेख्ने धोको हालसम्म अधुरो नै रहिरहको छ ।

Comments

comments

<-- Google Analytics -->