असार ९ गते २०७४, शुक्रबार | June 23, 2017     18:00:00

परिपक्वताको परीक्षणमा ओली

(कपिल काफ्ले)
छिमेकी भारतमा राजकीय भ्रमण गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली जीवनकै पहिलो र सम्भवतः आखिरी परिपक्वताको परीक्षणमा छन् । केही दशकअघि दुई मुलुकबीच सम्पन्न टनकपुर सम्झौताको अनुमोदनसँगै एमालेभित्र सर्वाधिक भारतपरस्त नेताका रुपमा परिचित ओलीले आजसम्म पनि त्यस ‘आलोचना’ लाई पखाल्न सकेका छैनन् । त्यस परिचयलाई पखाल्ने र दुई मुलुकबीच सन्तुलनको सम्बन्ध बनाउने चुनौती यतिखेर उनका सामु छ ।

भारतपरस्त भनेर कुनै नेतामाथि गरिने टिप्पणी आलोचना हो कि परिचय, ऐतिहासिक कालदेखि नै विवादास्पद छ । राजा त्रिभुवन शरणार्थी बनेर भारतमा गए, उनले गरेको अनुरोध र भारतका थरि–थरि नेताले नेपालमाथि त्यसबेला राखेको दृष्टिकोण समय–समयमा बाहिर आइसकेका छन् । भारतमा पलायन हुने राजा र भारतमै बसेर नेपालमा राजनीतिक परिवर्तनका लागि आन्दोलन चलाउने नेपाली कांग्रेसलाई विगतमा भारतपरस्त भनेर टिप्पणी गरियो । बहुप्रभावशाली नेता विश्वेश्वरप्रसाद कोइरालालाई पनि यही आरोप लगाउँदै अन्य राजनीतिक दलले आ–आफ्नो राजनीतिक उद्देश्य पूरा गरे । तर रमाइलो पक्ष के रह्यो भने, जसले वीपी कोइराला र उनको पार्टी नेपाली कांग्रेसलाई भारतपरस्त भनेर मञ्च थर्काएका थिए, उनीहरु प्रभावमा आउनासाथ अझ प्रष्ट देखिनेगरी भारतपरस्त बने । यी अभ्यासले के देखायो भने, भारतपरस्त आजसम्मको नेपालको नियती हो । मौजुदा अवस्थामा तटस्थता सम्भव छैन– भारतसँग जति र जस्तो सम्बन्ध छ, अन्य मुलुकसँग पनि उस्तै सम्बन्ध तत्कालका लागि गफ मात्र हो । राजनीतिक परिपक्वतायुक्त प्रमुख तीन–चारवटा प्रभावशाली दल परराष्ट्र सम्बन्धमा प्रष्ट र प्रतिवद्ध भएर बाहिर नआएसम्म नेपालको यो नियती कायम रहनेछ । त्यसैले प्रधानमन्त्री ओलीले आज भारतले देखाएको मित्रवत सम्बन्धका लागि त्यस सीमासम्म मात्र आभार रहनु आवश्यक छ जुन सीमामा उभिंदा मुलुकको हित कायम रहन्छ । ओलीलाई स्वागत गर्न भारतीय विदेशमन्त्री सुष्मा स्वराज विमानस्थलमा प्रकट हुँदैमा कृतकृत्य बनेर जहाँ भारतीय औंलोले देखाउँछ त्यहीं हस्ताक्षर गर्न आवश्यक छैन ।

ओलीको भ्रमण दललाई दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न भारतीय राज्यमन्त्री आउने चर्चालाई गलत सावित गर्दै विदेशमन्त्री सुष्मा स्वराज प्रकट हुनु परपक्व कूटनीतिक खेलाडीको परिचय हो । विगतमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वागतमा पनि भारतले यसैगरी विदेशमन्त्रीलाई पठाएको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पछिल्लो भ्रमणमा भने उनलाई लिन तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंह नै विमानस्थलमा आएका थिए । यस्ता अपवादवाहेक नेपालका प्रधानमन्त्रीलाई स्वागत गर्न प्रायः राज्यमन्त्री वा सचिवहरुलाई पठाउने गरेको भारत सरकारले शुक्रबार केपी ओलीलाई स्वागत गर्न विदेशमन्त्रीलाई पठाएर फरक सन्देश दिन खोजेको पक्कै हो । कूटनीतिका विज्ञहरुले नाकाबन्दीपछि चित्त दुखाएको नेपाललाई खुशी पार्न र विगतको चोटलाई बिर्साउन भारतले यो शैली अपनाएको मानेका छन् । सद्भावना भ्रमण भनिएको यो यात्रामा भारतले नेपाली टोलीलाई राम्रो आतिथ्य देखाएको छ । नेपालका प्रधानमन्त्रीलाई न्यायो स्वागतबाट मख्ख बनाएर उसले भविष्यमा आफ्नो ठूलो स्वार्थपूर्ति गर्नसक्छ भन्ने टिप्पणी उनीहरुको छ ।

नेपालको परराष्ट्र सम्बन्ध भारतपरस्त भएको प्रमाण सर्वाधिक रुपमा व्यापारिक परिमाणले पुष्टि गर्दछ । स–साना उपभोग्य सामग्रीदेखि ठूला यन्त्रउपकरणका लागि पनि हामी विदेशमा निर्भर छौं जसमा ७० प्रतिशतभन्दा बढी वस्तु भारतमै उत्पादित भेटिन्छ । आर्थिक रुपले भारतपरस्तताको यो कठोर प्रमाण हो । राजनीतिक रुपमा राजादेखि नेतासम्म हिजो भारतीय भूमिमै उभिएर नेपालको व्यवस्था परिवर्तनका लागि आन्दोलन चलाएका कारण राजनीतिक रुपले भारत परस्तता स्वाभाविक हुनपुग्यो । धार्मिक तथा सामाजिक रुपमा त्रेता युगको राम–जानकीको विवाहदेखि कलीयुगको रोटी–बेटीको सम्बन्धले भारतपरस्ततालाई भान्सा र सयनकक्षसम्म पु¥याएको छ । यति गहन, विस्तारित र गहिराइसम्म फैलिएको भारतपरस्तता आलोचना र आपत्तिको मात्र विषय बन्नु चाहिं हुन्न । वीपीलाई भारतपरस्त भनेर आलोचना गरिरहँदा उनले मुलुकलाई स्वाधीन र आत्मनिर्भर बनाउन खेलेको भूमिका र भारतीय सत्ताको पीडा खप्न नसकी राजासँग मेलमिलापको नीति बोकेर घाँटी जोड्न आउनु परेको यथार्थलाई बिर्सन मिल्दैन । यथार्थमा उनी भारतपरस्त नभई धरातलीय यथार्थलाई आत्मसात् गर्दै उच्च नेपालपरस्तता वा देशभक्ति प्रदर्शन गर्न सफल नेता थिए । त्यसैले वीपी, ओली र बाबुराम भट्टराईलाई भारतपरस्त भन्नेहरुले समीक्षात्मक दृष्टि राख्नु आवश्यक छ । भारतपरस्तताको आक्षेप सहेर पनि नेपालको हितमा काम गर्ने नेताको आलोचना होइन, उच्च मूल्यांकन हुनुपर्छ । तर, यही सूत्र लगाएर नेपाललाई नाकाबन्दीमा पार्दै भारतपरस्तता देखाउने नेतालाई पनि देशभक्तिको तक्मा लगाइदिन भने सकिन्न ।

यसबीच डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको नयाँ शक्तिको अन्तर्राट्रिय विभागले ६ बुँदे विज्ञप्ति जारी गर्दै नेपाल–भारतबीच विगतमा भएका व्यापार र पारवहन सन्धिका उद्देश्यप्रति प्रतिबद्ध रहँदै व्यापारिक वस्तुको ढुवानीमा दुवै सरकारले कुनै अवरोध नगर्ने स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने, व्यापार घाटा कम गर्नका लागि निर्यात कुण्ठित गर्ने उद्देश्यबाट लगाइएका सबै गैरमहसुल अवरोधहरु हटाइनुपर्नेलगायतका माग गरेको छ ।

दुवै मुलुकबीच ऐतिहासिक, भाषिक, सांस्कृतिक र पारिवारिक सम्बन्धहरु भएकाले तिनको महत्वलाई आत्मसात् गर्दै ती सम्बन्धलाई एक देशले अर्को देशमा रहेका खास समुदाय वा बासिन्दालाई निश्चित मूलका भनी पक्षपोषण वा पक्षपात नगर्ने अर्थमा मात्र लिइनुपर्छ भन्ने प्रष्ट गर्नुपर्ने नयाँ शक्तिले मागसमेत गरेको छ । यी मागलाई अस्वाभाविक रुपमा लिनुपर्ने कुनै कारण देखिन्न । ओलीको वर्तमान सरकार मिलीजुली बनेको छ, दुई ठूला शक्ति सरकारबाहिर छन्– नेपाली कांग्रेस र पूर्वी मधेशवादी दल । नेपाल–भारतबीच दीर्घकालीन प्रभावका विषयमा सन्धि–सम्झौता गर्ने होभने ठूला दलहरुबीच पूर्वविमर्श र सहमति आवश्यक हुन्छ । सानो असन्तुष्टिका कारण पाँच महिना लामो नाकाबन्दी गराउने संयुक्त मधेशी मोर्चा होस् वा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस– यी सबैको सहमतिमा मात्र दीर्घकालीन महत्वका विषयमा दुई मुलुकबीच सम्झौता हुनुपर्छ । नेपाली जनता कुनै समूहबाट हतारमा गरिएको निर्णयका कारण दुख र सास्ती भोग्न अब तयार छैनन् ।

मधेशी मोर्चाले प्रधानमन्त्री ओलीको भारत भ्रमणको पूर्वसन्ध्यामा रक्सोल नाका खोलिदिए पनि उसले आन्दोलन बिसाएको घोषणा गरेको छैन । सम्भावना के पनि छ भने, ओलीको भारत भ्रमण नरोकियोस् भनेर भारतले नै मोर्चाका नेतालाई केही समय पछि हट्न सल्लाह दिएको पो हो कि ! नाकाबन्दी खोलेर पनि नेपालीले भारतबाट आपूर्ति हुने इन्धन र ग्यासको अभावमा रहनुपरेको छ । नेपाल आयल निगमका अनुसार भारतीय आयल निगमले मागको ५० प्रतिशत मात्र आपूर्ति गरेको छ । त्यसैले ओलीले सुष्मा स्वराजसँग मुस्कानका साथ जोर हात मिलाइरहँदा नेपालीहरु भने दुबै हात लगाएर इन्धनका लागि आ–आफ्ना सबारी साधनहरु ठेलिरहेका छन् भनेर सम्झिनु आवश्यक छ । यस यथार्थलाई आत्मसात् गरे भने मात्र ओलीले आफूमा परिपक्वता रहेको परिचय दिएको मान्नसकिनेछ ।

(नेपाल समाचारपत्रमा सोमबार प्रकाशित)

Comments

comments

<-- Google Analytics -->