असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

महिला हिंसाका भिन्न रुप

(रश्मी थापा)
काठमाडौंको चावहिलमा रहेको तीन तले घरमा एक महिला बिहान ८ बजे नै हस्याङफस्याङ गर्दै पुग्छिन् । अन्दाजी ३० वर्षकी उनको दिनचर्या जाडो होस् वा गर्मी एकैनाशको छ । एकाबिहानै काममा पुग्नुपर्ने, सरसफाइ र घरधन्धामा लाग्नुपर्ने । घरका हरेक व्यक्तिले बोलाउनासाथ उपस्थित भएर चिया–नास्ता तयार पार्नुपर्ने । जति मेहनत गरेर काम गरेपनि जस भने कमै पाउने ।

‘मेरो घरमा सानो छोरा छ, श्रीमान्ले अर्को विहे गरे, कुटपिट पनि भयो, मैले सहन सकिनँ, जेसुकै होस् भनेर काठमाडौंतिर लागें’ गोर्खा घर र सरिता पुडासैनी नाम बताउने उनले भनिन्– १७ वर्षको कलिलो उमेरमै मागी विवाह गरेकी उनले दुलहीको घुम्टो खोल्नुअघिदेखि नै श्रीमान्को यातना सहनुपरेको थियो ।

सरिताका अनुसार उनको श्रीमान्ले पहिलो रातमै भने, ‘मैले त बाबुआमाका लागि विवाह गरिदिएको मात्र हो, मेरो अर्कै केटी छ’ । उनी रातभर रोइरहिन् । तर विस्तारै श्रीमान्को मन फिर्ला भनेर पर्खिरहिन्, दासीजस्ती बनेर काममा जोतिइन् । एक वर्षपछि उनले छोरा जन्माइन् । तर श्रीमान् र घरका अरु सदस्यले उनीमाथि हिंसा गर्न बन्दगरेनन् । जति काम गरे पनि कसैले उनलाई ‘बिचरी’ भनेन । श्रीमान्को मन फर्किने उनको आश त्यतिखेर समाप्त भयो जब सौता घरमा भित्र्याइयो । त्यसपछि उनी छोरा च्यापेर माइतीको शरणमा पुगिन्, छोरा तीन वर्षको भएपछि उनी आत्मनिर्भर बन्ने सोचका साथ राजधानीतिर लागिन् । आठ कक्षासम्म पढेकी उनले आजसम्म सन्तोषजनक काम पाउन सकेकी छैनन् ।

अजिता सिवाकोटी राजधानीमा पत्रकारिता गर्छिन्, राम्रा लेखहरु पनि छापिएको देखिन्छ उनको नाममा । उनी भन्छिन्, ‘मेरो विवाह १५ वर्षकी हुँदा भयो राजधानीकै रैथाने परिवारमा, १६ की हुँदा मैले छोरी जन्माए, पछि छोरा भयो, महिलालाई विभेद गर्ने मेरो श्रीमान्को परिवारले बुहारीलाई त दासी नै ठान्थ्यो ।’ उमेरका कारणले पनि अनमेल विवाह गरेकी अमृता परिवारले जेसुकै भनिरहोस् भनेर पढ्नथालिन् र पछि राष्ट्रबैंकमा लेखापाल बनिन् । त्यसपछि उनी छोराछोरी च्यापेर लागिन् अमेरिकातिर । अहिले छोराछोरी उतै जागिर खाएर विवाह गरी घरजममा लागेपछि उनी काठमाडौं नै फर्केकी छन् । ‘हिंसाले मलाई सशक्त बनायो, एकल महिला भएर पनि मैले छोराछोरीलाई हुर्काउन र शिक्षादीक्षा दिन कुनै कसर बाँकी राखिनँ, तर मेरोजस्तै संघर्ष गर्नसक्ने महिला कति होलान् र हाम्रो समाजमा !’

पितृसत्तात्मक सोचबाट अगाडिबढ्दै आएको नेपाली समाजका प्रतिनिधि पात्र हुन् यी दुई महिला । ग्रामीण र शहरी क्षेत्रको प्रतिनिधित्व गर्ने यी दुई महिलाले हिंसा गाउँ वा शहरमध्ये एक ठाउँमा मात्र सीमित नरहेको पुष्टि गर्दछन् । ग्रामीण र कम शिक्षित समुदायका महिला मात्र होइन, शहरिया र शिक्षित मानिने घरपरिवारका महिलाहरु पनि हिंसाबाट अछुतो रहन सकेका छैनन् । आफ्नै श्रीमान् तथा घरपरिवारका सदस्यहरु नै उनीहरुका पीडक बनेका देखिन्छन् । तर घरेलु हिंसाका पीडक आफन्तजन नै भएका कारण यस्ता घटनाहरु पीडकले कमै मात्र बाहिर ल्याउँछन् । कतिलाई त उजुरी लिएर कहाँ जाने, कसरी न्याय पाउने भन्ने कानुनी जानकारी पनि हुन्न ।

घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ को दफा २ अन्तरगत घरेलु हिंसासम्बन्धी परिभाषालाई थप सुदृढ पारिएको छ । घरेलु सम्बन्धले विवाहित जोडी मात्र नभएर सँगै बसेका जोडी वा अंश लिई वा नलिई भिन्न बसेका पति वा पत्नीको सम्बन्ध समेतलाई जनाउन व्यवस्था छ । शारीरिक यातनाजन्य घरेलु हिंसाको परिभाषालाई परिमार्जन गरिएको छ । शारीरिक यातनाजन्य घरेलु हिंसाभित्र कुटपिट गर्ने, गैरकानुनी थुनामा राख्ने, शारीरिक चोट पु¥याउने, तेजाब वा यस्तै प्रकारका अन्य पदार्थ छर्किई वा सो पदार्थले पोली, डामी, दली, घसी, जिउमा पीडा गराउने वा अनुहार वा शरीरको कुनै अंग कुरुप पारिदिने वा यस्तै अन्य कुनै काम गर्ने वा गराउने कार्य पर्दछन् ।

त्यसैगरी, मानसिक यातनाजन्य घरेलु हिंसाको परिमार्जित परिभाषाले डरधाक देखाउने वा धम्की दिने, त्रासपूर्ण व्यवहार गर्ने, गालीगलौज गर्ने, झटा बात लगाउने, घर निकाला गर्ने, वैचारिक, धार्मिक, सांस्कृतिक प्रथा, परम्पराका आधारमा भेदभाव गर्ने, रुप–रंग, शारीरिक बनावट तथा कुनै रोग लागेको आधारमा अपमानित गर्ने,मानसिक सन्तुलन गुमाउने, आत्महत्या गर्न दुरुत्साहन गर्ने हदसम्मको कार्य सम्झनुपर्छ । त्यस्तै, आर्थिक प्रकृतिको घरेलु हिंसाले दाइजो माग गर्ने, दबाब दिने वा दाइजो नल्याएका कारण गरिने घृणा, हेलाँ वा तिरस्कार गर्नेसमेतका कार्यलाई समेट्छ ।

यस प्रकारका हिंसामा परेका व्यक्तिले कानुनी उपचार पाउँछन् । घरेलु हिंसा विरुद्धको दण्डसजाय ऐनको दफा १३ ले कानुनी उपचारको व्यवस्था गरेको छ । घरेलु कानुनमा जस्तै अन्तर्राष्ट्रिय कानुनले पनि घरेलु हिंसाविरुद्धको व्यवस्था गरेको छ । महिलाविरुद्ध हुने सबै प्रकारका विभेद अन्त्य गर्ने महासन्धि (सिड) ले महिलालाई अधिकार सम्पन्न बनाउन र उत्थान गर्न पर्याप्त प्रावधान दिएको छ । तर यी सबै उपचारात्मक व्यवस्थाको जानकारी नभएका कारण सरिताजस्ता महिलाहरु पीडित भएर पनि चुपचाप बस्न बाध्य छन् । महिलासम्बन्धी कानुन र परिभाषाले जे–जति महिलाको पक्षमा वकालत गरेपनि घरभित्र उनीहरुको हक–अधिकारको बारेमा वकालत गर्नेहरु कमै भेटिन्छन् । छोरीलाई निषेधात्मक नियम बनाउने तर छोरालाई जे गर्न पनि छुट दिने परम्पराको अन्त्य नभएसम्म हिंसा जारी रहन्छ । त्यसैले हिंसा र विभेदको अन्त्यका लागि पुरुष पनि उत्तिकै सक्रिय हुनु आवश्यक छ ।

(शुक्रबार नेपाल समाचारपत्रमा प्रकाशित)

Comments

comments

<-- Google Analytics -->