असार ९ गते २०७४, शुक्रबार | June 23, 2017     18:00:00

….नेपाली होइन भन्न कहाँ पाइन्छ ?

(कपिल काफ्ले)
कुनै बेला राजा महेन्द्रले नेपालको ‘हावा, पानी र माटो सुहाउँदो व्यवस्था’ लागु गरे, त्यसको नाम थियो पञ्चायत । गाउँ पञ्चायत हुँदै राष्ट्रिय पञ्चायतसम्म पञ्चहरु भिडिरहन्थे ‘देश बनाउनका लागि’ । बाबु महेन्द्रलाई मात्र होइन छोरा वीरेन्द्रलाई पनि पञ्चायती व्यवस्थाले देश बनाइरहेको, हिजो सडक नभएका ठाउँमा आज मोटर गुडिरहेको, हिजो विद्यालय जान नपाएका बालबालिका झोला बोकेर स्कुलतिर हिंडिरहेको, टुकी र लालटिन फालेर बिजुलीको उज्यालोमा बस्न पाइएको केही उदाहरण हेर्दा बाबुले ठीक भने भन्ने लागेको थियो । वीरेन्द्रले लौहपुरुष गणेशमान सिंहलाई भने, ‘किन आन्दोलन गरिरहेको गणेशमान, मुलुकमा विकास भइरहेको छ नि ।’ वीरेन्द्र परिवर्तनका केही उदाहरण दिएर मुसुक्क हाँसे ।
राजा वीरेन्द्रको जबाफ सुनेर गणेशमान पनि हाँसिदिए र भने ‘त्यो त विकास होइन सरकार, चराले सालको पातमा चुच्चो रगड्दै जाँदा कपुरी क बनेजस्तो मात्र हो ।’ यो जबाफ अभिजात वर्ग वा सामन्ती संस्कारका व्यक्तिका लागि सह्य थिएन । तर वीरेन्द्र त्यस वर्गमा जन्मिएर पनि साधु प्रवृत्तिका शासक मानिन्थे । उनले साधुत्व देखाउँदै कुनै कडा प्रतिउत्तर त दिएनन् तर उनलाई अवस्य कसैले नाकै भत्काउने गरी मुक्का प्रहार गरेको अनुभव भयोहोला । सामन्तहरु आफूअगाडि उभिएको व्यक्तिले ‘नाइँ, हुन्न, होइन, सक्तिनँ’ आदि भनेको कहाँ सहन्छन् र । कालान्तरमा गणेशमानकै जीत भयो, पञ्चायतले बिदा लियो । आज हामी संस्कारकै समृद्ध मानिएको लोकतान्त्रिक व्यवस्थामा छौं । यद्यपि यसका सञ्चालकहरु योग्य नभएका कारण लखनउ लुटमा नेपाली सिपाहीले मालाबाट मोती फालेर धागोको रुपमा प्रयोग भएको सुन गोजीमा हालेजस्तै गरिरहेका छन् । यो नेताहरुको कमजोरी हो व्यवस्थाको होइन ।

जहाँसम्म पञ्चायती व्यवस्थालाई नेपालको हावा, पानी र माटो सुहाउँदो भन्ने राजा महेन्द्रको दावी थियो त्यसलाई विश्वेश्वरप्रसाद कोइरालाले पनि चुनौती दिएका थिए वर्षौंअघि नै । कोइरालाको तर्क थियो– देश माटो, पानी र हावाभन्दा बढी नागरिक हो । पञ्चायती व्यवस्था हावा, पानी र माटो अनुकूल हुनसक्छ तर नागरिकको चाहना र आवश्यकताअनुसार छैन । देशलाई चारकिल्लाभित्र राखेर सोच्ने अवधारणा संकीर्ण मानसिकताको परिचायक भएको विभिन्न घटनाले सावित पनि गरिसकेका छन् । हिजोको राष्ट्रवादको नारा आज अस्वाभाविक भएको छ । संकीर्ण राष्ट्रवादको नारालाई नेपालीले उहिल्यै उखेलेर फालिसकेका छन् । अब त ‘चौबन्दीमा पटुकी बाँधेको छैन भन्दैमा, पखेरीमा घाँसकाट्न जानेको छैन भन्दैमा, मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ, म त नेपालको माया गर्ने छोरी, मलाई मजस्तै माया चाहिन्छ ।’

सुरेश अधिकारीको रचना र आस्था राउतको यस गीतले आज लोकप्रियताको रेकर्ड तोडेको छ । जबानीको माया–प्रितिका बारेमा लेखिएका हजारौं गीतको भीडमा यो भिन्न शैलीको रचना किन लोकप्रिय भयो ? किनभने यसमा उदार राष्ट्रियताको व्याख्या छ । नेपालको परिस्थिति र व्यवस्था अनुकूल नभएका कारण आज लाखौं नेपाली विदेशिएका छन्, उनीहरुको मनभरि नेपाली पन छ । तर विदेश जान भिसा नपाउनेहरु ‘म त देशमै बसेर राष्ट्र सेवा गर्छु’ भनेर दुईथोपा हाँसो देखाइरहेका छन् । यस नक्कली राष्ट्रवादलाई समयले चिरेर फालिदिएको छ । नयाँ पुस्ताबाट भोट लिने बिचार भए राजनीतिक नेताहरुले संकीर्ण राष्ट्रवादको कुरा गर्नु आफ्नै खुट्टमा बञ्चरो हान्नुहो भनेर बुझेहुन्छ ।

विदेश भ्रमणमा जानेहरुलाई थाहा छ, ‘नेपलिज डायस्पोरा’ मा सुरेशको रचनाले आकाशमा देखिने सूर्यको परिक्रमा गरिरहेको छ । मनोवैज्ञानिक सत्य के छ भने, विदेशमा पढ्ने, जागिर खाने वा हण्डर खाने नेपालीमा एक प्रकारको त्रास छ, ‘कतै कसैले तँ अब नेपाली होइनस्’ पो भनिदिने हो कि ! मुलुकमा राजा महेन्द्रका पालाका राष्ट्रवादीहरुको अझै अनिकाल परिसकेको छैन ! त्यसैले उनीहरु ‘विहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस्’ होइन, बिहान उठ्नेबित्तिकै आस्था राउतको स्वर सुन्न पाइयोस् भनिरहेका हुन्छन् । हिमाललाई अंकमाल गरेर बस्दाबस्दा मुटु नै जमेपछि जागिर खाने बाध्यताले विदेश गएकाहरुलाई त्यसै ‘तँ नेपाली होइनस्’ भन्न किन पाइन्थ्यो र ! नेपालको संविधान, २०७२ ले नेपाली मूलका विदेशी नागरिकलाई राजनीतिक अधिकारविनाको नागरिकता प्रमाणपत्र नै दिने व्यवस्था गरिसकेको अवस्थामा कसैले महेन्द्रको राष्ट्रवादलाई पेटारो खोलेर अलिकति मुख मात्र देखायो भने पनि पाइतालासम्मको आक्रोश उसले सहनुपर्नेछ ।

उदार राष्ट्रवाद नै समयको माग हो । संयुक्त मधेसी मोर्चाका मित्रहरु पनि यसकै पक्षमा रहेछन् । त्यही समुदायका नेपाली डाक्टरले प्यारोडी गीत गाए आस्था राउतकै भाका निकालेर ‘दौरा–सुरुवाल र टोपी लाको छैन भन्दैमा, मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ ?’ दन्तचिकित्सक आभास लाभको स्वरले भन्दा पनि उनको भावनाले हरेक नेपालीको मन छोयो । मधेसी मोर्चाको आन्दोलनलाई उचाइमा पु¥याउन उनी गाइरहेका छन्, ‘धोती, कुर्ता र गम्छा लाएको छ भन्दैमा, मलाई इण्डियन भैया भन्न कहाँ पाइन्छ ? म त नेपालको माया गर्ने मान्छे, मलाई नेपाली माया चाहिन्छ ।’ आन्दोलनका बेला उनी जति गाउँथे त्यति ‘वन्स मोर’ हुन्थ्यो । एकै मञ्चमा उभिएर २१ पटकसम्म त्यही गीत गाउँदा पनि स्रोताको आँत नभरिनु सामान्य विषय होइन । यसभित्र युगबोधको सन्देश छ, त्यसलाई जसले चिन्यो, उसले मात्र नयाँ युगको शासन ग¥यो । अन्यथा कम्प्युटरको युगमा टाइपराइटरको के काम ? यस भावनाको गीतकै कारण डा. लाभसँग बसेर सेल्फी खिच्नेहरुको पनि भीड नै थियो । ‘देश र मधेश दुवैलाई मुटुमा राखेर यो गीत लेखेको हुँ, सत्तामा बसेका पार्टीले हामीलाई बुझ्नै सकेनन्, पूर्वराष्ट्रपति रामवरण यादवका गाउँले लाभले गीत सकिएपछि गरेको टिप्पणी पनि उत्तिकै चोटिलो थियो– आखिर हामीले खोजेको पहिचान, सम्मान र बराबरीको अधिकार न हो ।

सुरेशले राष्ट्रियताका सबालमा पुरुषलाई प्रतिनिधि पात्र बनाउने परम्परालाई पनि तोडेर लैङ्गिक समानतामा मत दिएका छन् । महिला नायक गीतमा भन्छिन्, ‘गाजलु टिकी राम्रै लाग्छ लाउने बानी छैन, गोठाला र मेलापात धाउने बानी छैन, उकालो र ओरालो, नहिंडेको बाटो, तर प्यारो लाग्छ मलाई मेरै देशको माटो, दोहारी गाउन नजाने नि टुक्का गाँस्न आउँछ, मारुनी र समलामा कम्मर भाँच्न आउँछ । रीतिथिति संस्कृतिलाई मेरो नि सलाम छ, आधुनिक म छोरी तर मेरो आफ्नै शान छ ।’

(Published on 6th June in Nepal Samacharpatra)

Comments

comments

<-- Google Analytics -->