असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

आपद्को अवसर दललाई

(कपिल काफ्ले)

लोकप्रिय बन्न चाहनेहरुको लागि बिपद् एक सुनौलो अवसर हो । पछिल्लो बलियो उदाहरण नेपाल प्रहरीलाई लिन सकिन्छ । गत साल वैशाखमा आएको भूकम्प यति धेरै विनाशकारी थियो कि, त्यसका सकारात्मक पक्ष खोज्ने प्रयास नै मुर्खतापूर्ण हुनजान्थ्यो । तरपनि भूगर्भविद्हरु भन्छन्, भूकम्पकै कारण सगरमाथा यति अग्लो भएर नेपालको पहिचान दिन सक्षम भएको हो । समाजशास्त्रका पण्डितहरुको तर्कमा नयाँ घर, आवास तथा परिवेशको निर्माणमा पनि भूकम्प र यस्तै विनाशकारी घटनाले सघाउँछन् । नयाँ वास्तुकला र समाजको विकासका लागि वा पुनर्निर्माणका लागि यस्ता बिपद् आवश्यक पनि देखिन्छन् ।

नेपालको सन्दर्भमा भूकम्पले ल्याएको विविध सकारात्मक परिवर्तनमध्ये एक हो सुरक्षाकर्मी प्रतिको जनविश्वासको अभिवृद्धि । शताब्दीयौं लामो मामन्तवादको धरोहर राजतन्त्रको पृष्ठपोषक रहेर लाञ्छित बन्न बाध्य नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तीनै सुरक्षा अंगप्रति भूकम्पपछिको उद्धार र राहत अभियानका क्रममा ठूलो जनविश्वास उर्लियो । आम जनताको वाहवाही बटुले सुरक्षाकर्मीले । उनीहरु नेपाली जनताका सेवक र सहायक प्रमाणित भए । यो अनिवार्य आवश्यकताको विषय थियो । ठीक यसैगरी आज मुलुक बाढी–पीडित बनेको छ, राजनीतिक दलका लाखौं कार्यकर्ता लोकप्रिय हुनसक्छन्, बहुदलीय लोकतान्त्रिक व्यवस्थाका लागि यो अर्को अनिवार्य आवश्यकताको विषय हो । दलप्रति विश्वास बढेपछि मात्र राजनीतिक नेतृत्वले देखाएको बाटोमा आम नागरिक गोलबन्द हुन्छन् ।

केही प्रमुख राजनीतिक दलका शीर्ष नेताले कार्यकर्तालाई बाढी–पहिरो पीडितलाई सहयोग गर्न आह्वान पनि गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको स्थानीय भातृ एवं शुभेच्छुक संघ–संस्थालाई गत शुक्रबार यस्तै निर्देशन दिएको जानकारी प्रेसविज्ञप्तिमार्फत् सार्वजनिक भएको छ । अविरल वर्षाका कारण खासगरी धादिङ, गोरखा, दोलखा, सुनसरीलगायतका क्षेत्रमा धन–जनको क्षति पुगेको अवस्थामा मुलुकको सबैभन्दा ठूलो दलले यस प्रकारको उदाहरण देखाउनु स्वागतयोग्य छ । बाढीपीडितलाई सघाउने कार्यमा राजनीतिक दलहरुबीच प्रतिस्पद्र्धा हुनसके नागरिकको त हित हुन्थ्यो नै, दलहरुलाई पनि लाभ पुग्नेथियो । आगामी चुनाबमा विगतका निर्वाचनमा भन्दा अधिक मत पाउने हो र जनताको घरदैलोमा जाँदा आफ्नो शिर ठाडो होस् भन्ने चाहने होभने दलहरुका लागि बाढी–पहिरो ठूलो अवसर हो । तर सस्तो लोकप्रियताका लागि झण्डा गाडेर उद्धारमा लाग्नेहो भने चाहिं मानवीय भावनाका लागि नभई पार्टीको प्रचारका लागि देखावटी काम गरेको अर्थ लाग्नेछ । यसप्रति भने दलहरुले चनाखो हुनैपर्छ ।

नेपाली कांग्रेस, एमाले, एकीकृत माओवादी केन्द्र, मधेशी मोर्चाजस्ता बढी प्रभावका राजनीतिक दलले मात्र पनि बिपद्का समयमा नागरिकलाई सेबा गर्ने अभियान चलाए भने यस मुलुकमा दलको भीड पातलिने थियो । अहिलेको समयमा उद्धार र राहतका साथ घटनास्थलमै दलका नेता तथा कार्यकर्ताको भौतिक उपस्थिति मात्र पनि आवश्यक भएको होइन, सञ्चारमाध्यमको प्रयोग गर्दै बिपद्बाट जोगिने उपायहरुको जानकारी दिने पहलले पनि ठूलो जनसमुदाय लाभान्वित हुनेछ । यस कार्यमा नेपाली मिडिया पनि अग्रसर हुनु आवश्यक छ ।
लगातार वर्षा हुन थालेपछि एक बर्षअघि भूकम्पले हल्लाएको जमिनमा पहिरो बग्न थालेको छ । यस प्राकृतिक विपत्तिलाई न त नेपाल सरकार न त जनताले नै तत्काल रोक्नसक्छन्, तर हानी–नोक्सानी कम गर्नभने विभिन्न उपाय अनुशरण गर्न नसकिने होइन । भूगर्भविद्हरुले विगत लामो समयदेख नै गत वर्ष र यस वर्षको वर्षायाममा बढी पहिरोको खतरा देखाउँदै आएका हुन् । नागरिक आफै सचेत नभएमा ठूलो दुर्घटना हुने, पूरै डाँडा बग्नसक्ने, नदीनाला थुनिनसक्ने र पूरै गाउँबस्ती बग्नसक्ने सम्भावना देखाएको स्मरणीय हुनआउँछ । भूकम्पले चिरा परेको ठाउँबाट पानीभित्र छिर्दा ठूलो पहिरो जाने खतरालाई ध्यान दिंदै त्यस्ता दरारबाट पानी भित्र नछिरोस् भन्ने कुरामा ध्यान दिनुपर्छ । चिरा परेको ठाउँ देखेमा वरिपरि भल काटेर पानी तर्काउन सके पहिरोको जोखिम कम हुन्छ । माथिबाट सीधै परेको पानी बाहेक चिरा परेको ठाउँबाट पानी पस्न दिनुहुँदैन । यदि माटैमाटो छ वा माटो र गिर्खा ढुंगा मिसिएको बनोट छ भने पहिरो जाने खतरा एकदम उच्च हुन्छ । बस्तीको वरिपरि भल काट्ने विधि एकदम वैज्ञानिक हुने विज्ञहरुको भनाइ छ ।

विज्ञहरुका अनुसार बस्तीभन्दा माथिबाट पहिरो आउने, बस्ती भएकै भूभाग पहिरो बनेर बग्ने र बस्तीभन्दा तलबाट नदी वा खोलाले जमिन कटान गर्दा भासिएर जमिन खस्ने खतरा बढी हुन्छ । त्यसकारण बस्ती आफैंमात्र सुरक्षित भएर मात्र हुँदैन, बस्तीभन्दा तल र माथिको अवस्थालाई पनि ध्यान दिनुपर्छ । यदि बस्तीमाथिको पाखा चिरा परेको छ, पानी छिरिरहेको छ भने पहिरोको जोखिम उच्च हुन्छ । बस्ती धेरै भिरालो छ र पानी जथाभावी बग्न दिइएको छ भने पनि जोखिम बढ्छ । त्यसैले पानीलाई एकीकृत गरेर सुरक्षित ठाउँबाट कटाएमा धेरै जोखिम कम हुन्छ । जमिन धेरै भिरालो छ, माटो धेरै गलिसकेको छ र बग्ने सम्भावना बढी छ भने त्यस्तो ठाउँमा भल काटेर मात्र सुरक्षित हुन सकिंदैन । त्यसैले कम्तिमा वर्षायामसम्मका लागि भएपनि त्यस्तो ठाउँ नै छोड्नुपर्छ । जीविकोपार्जन वा आर्थिक गतिविधि हुने कारण उच्च जोखिमयुक्त ठाउँहरुबाट मान्छेहरु हट्न चाहिरहेका छैनन् । भनिन्छ, ३० देखि ५० डिग्रीको कोणमा भिरालो जमिनमा सबभन्दा बढी पहिरो जान्छ । बस्तीको तल्लो भाग भिरालो छ, माथिल्लो भाग पनि भिरालो छ तर बस्ती भएको भाग सानो टार छ भने त्यस्तो ठाउँ पनि जोखिमपूर्ण हुन्छ भन्ने जानकारी भूगर्भविद्हरुको छ– तर ५० डिग्रीभन्दा पनि भिरालो जमिन बलियोसँग अडिएको हुन्छ, त्यहाँ पहिरोको सम्भावना एकदमै कम हुन्छ ।

मिडियाका चार काम– सूचना दिनु, शिक्षा प्रदान गर्नु, मनोरञ्जन दिनु र अभिप्रेरणा गर्नु हुन् । सञ्चारमाध्यमले बाढी र भूकम्प गएपछि त्यसको जानकारी मात्र सम्पेषण गर्नु पर्याप्त हुन्न । आवश्यकताअनुसार पाठक, श्रोता र दर्शकलाई शिक्षा र अभिप्रेरणा दिन पनि सक्नुपर्छ । यसका लागि पत्रकारितालाई जागिर ठानेर मात्र पुग्दैन, कर्तव्य र जिम्मेबारीका रुपमा यसलाई ग्रहण गर्न सक्नुपर्छ । राजनीतिक दल र मिडिया दुवै पक्षले बिपद्का समयमा नागरिकको सेबामा ठूलो योगदान दिनसक्छन् । यस्ता मानवीय हितका सन्दर्भमा कोही पक्ष–विपक्ष हुँदैन, केबल बिपद् मात्र विपक्षमा दुश्मन बनेर उभिएको हुन्छ ।

(नेपाल समाचारपत्रमा सोमबार प्रकाशित)

Comments

comments

<-- Google Analytics -->