असार ९ गते २०७४, शुक्रबार | June 23, 2017     18:00:00

नेपालीले नोबेल शान्ति पुरस्कार किन नपाउने ?

(भजुराम तखाछेँ श्रेष्ठ)

शान्ति नोबेल पुरस्कारका दाताहरूले प्रत्येक वर्ष कुनै न कुनै व्यक्तिलाई त्यो शान्ति पुरस्कार प्रदान गर्दछन् जसले समाज होस् वा देश होस् बिखण्डित संसारमा उसले एकत्रित पार्न योगदान दिएको हुन्छ। त्यो विश्‍व सम्मानजनक पुरस्कार पाउन नोबेल पुरस्कारका समितिसदस्यहरूले कसैलाई चुन्दा तिनीहरूले अपेक्षा गरेको आदर्शको उचाईँमा सो पुरस्कार प्राप्‍त गर्ने व्यक्ति पुग्नुपर्छ। जुनसुकै मापदण्ड पुरस्कारदाताहरूले निर्धारण गरेतापनि पुरस्कार पाउने व्यक्तिले अनेकौँ शङ्‍कटमा शान्तिको दियो जलाई राख्‍न सफल भएकोले उसलाई सो शान्ति पुरस्कार दिइन्छ।

यस लेख मार्फत नोबेल शान्ति पुरस्कार प्रदान गर्ने समितीलाई नेपाली जनतालाई नोबेल पुरस्कार दिने घोषणा गर्न अनुरोध गर्दछु किनभने दशकौँ दशक वर्षसम्म हामी शङ्‍कटको पोखरीमा पौडि खेलिरहँदा पनि हामीहरू नेपाली नै भएर गौरबसाथ बाँचिरहेका छौँ। त्यसकारण नोबेल पुरस्कार पाएर हामी पनि नोबल वा आदर्शको शीर उठाइ राख्‍न पछि नपार्न हौशला दिनुहोस् भनि अनुरोध गर्दछु। किनभने:

१. एक दिन यस आलेखक बेनीबाट बसमा फर्किन्दै थिए। त्यसमा एक जना जर्मन पर्यटकसँग चिनापर्ची भयो। उनी जर्मनको भूतपूर्व प्रधान अध्यापक र इतिहासबिद हुनुहुन्थ्यो। उहाँ नेपालमा सात पल्ट एक्लै घुम्न आइसक्नुभएको रहेछ। उहाँले यस आलेखकले यसरी सात सात पल्ट नेपालमा किन आउनुभयो भनेर सोध्दा उनले जवाफ दिए: “किनभने तिमी नेपालीहरू गजब छौ। तिमीहरूसँग केही नभएतापनि तिमीहरूसँग मुस्कुराहत छ।” अर्थात् उनले जर्मनमा नपाउने हँसिलो अनुहार नेपालमा पाइरहनुभएको छ। उहाँको त्यो भावना रमाइलो नै मान्नु पर्छ। केही समय अघि एउटा अखबारले, “अभावै अभावमा दशैँ” भनेर शीर्षक भएको लेख छापेको थियो। त्यो शीर्षक आफै नेपालीको जीवनलाई चिरफार गर्ने खालको थियो। पैसाको अभाव होला, आवश्यक सामनाहरूको अभाव होला, बालबालिकाहरूले अपेक्षा गरेको अनुसार दशैँ मनाउन नपाइएला, र हातमुख जोड्न रोजगारी नपाएको होला, तैपनि नेपालीहरूले हर्षोउल्लाससाथ दशैँ मनाएको हामी पाउँछौँ मानौँ नेपालमा अभावकै अभाव छ। सहरमा, विशेष गरेर काठमाण्डौँ (कहीँ कहीँ त काटमाण्डु पनि भनेको सुनिन्छ) बस्ने नेपालीहरूलाई संतोषी जीविका चलाउन महिनाको कमसेकम रू. पचास हजारको आवश्यकता पर्छ भन्ने कुरा हिसाबै नजान्नेले पनि निश्कर्ष निकाल्न सक्दछ। त्यो पनि सहरमा लोभ्याउने अनेकन् आकर्षतरहित जीवन। साधारणरूपमा हेर्दा, चार जनाको परिवारको निम्ति कमसेकम दुई छाक संतुलित खाना, घर बहाल, गगनचुम्बीको महँगीमा पुगिरहेको बिजुली तथा ग्याँसको खपत, छुच्चा पानी वा नआएको पानीको बील, छोराछोरीहरूको भविष्यलाई चम्काउन प्राइभेट स्कुल किनभने सरकारी स्कुल उचितसँग चलाउन प्रायजसो कसैको नैतिक वाध्यता नभएकोले राम्रोसँग चलेको हुँदैन जसको फलस्वरुप बालबालिकाहरूलाई हतपत त्यहाँ पठाइन्दैनन्, र यात्रा गर्न सार्वजनिक यातायात खर्च। अझ त्यसमा त औषधीको बील पनि थपिएको छैन। धन्य हो नेपाली जनता, पैसा नभएतापनि कहाँ कहाँबाट रकम जुटाएर अस्पतालहरू मानौँ कुनै तिर्थस्थल हो त्यहाँ खचाखच भर्न पुगिरहेका हुन्छन्। टिचिङ्ग अस्पतालबाट खर्च व्यहोर्न नसकेर एक जना व्यक्ति छानाबाट हाम फालेर मरे भन्ने खबर सायद देश चलाउने कुनै पनि जनभक्ति राजनेताहरूले सुन्न फुर्सद पनि नहोला किनभने तिनीहरू एक आपसी झगडा सुल्झ्याउन फुर्सद पनि छैन। सहरमा होस् वा देशको कुनाकाप्चामा होस्, गरिबको रेखामूनि रहेका अधिकांस नेपाली जनतामा आफ्नो मानव अधिकारको सुखद जीवन बिताउन न्युन पचास हजार कहाँबाट जुटाउने? त्यस्ता व्यक्तिहरू नेपालमा जन्मनु भनेको कतिपयको निम्ति आशिष भन्दा अभिशाप भइरहेको पाइन्छ जसले गर्दा आत्महत्याको आँकडा नेपालमा पनि बढिरहेको पाइन्छ। यद्यपि नेपालीहरूको मुस्कुराहत संसारको कुनै पनि धनाध्यहरूको भन्दा कम मूल्यको देखिन्दैन। नेपालीको मानसिक स्थितिको आँकाडामा चार जनामा एक जना मानसिक असंतुलित भएको देखाएतापनि मानसिक असंतुलन गृह नौलो वा बिरलै नै भएर बसेको छ। हामीसँग केही भएर होइन हामीसँग हँसिलो मुहार भएकै कारणले हामीहरूले यो देशलाई शान्तिपूर्वक तैरिन दिइरहेकाछौँ। त्यसकारण हामीले नोबेल शान्ति पुरस्कार किन नपाउने?

२. नेपालमा कुशल सडक इन्जिनियरको अभावले भनौँ वा यातायात निकायले नेपाली जनताको अवमूल्यन गरेर जहिले पनि बिग्रिरहने, मानौँ बिफरै बिफरले भरिएका सडक वा बाटोहरू, साँघुरो बाटो र ट्राफिक नीतिको अभावले दुर्घट्ना निम्त्याइरहने बाटोघाटो (घातो?)मा हामी हाँसीहाँसी यात्रा गरिरहेका हुन्छौँ। घाटक सडकहरू बनाउनुभन्दा नबनाइएको भएपनि हुन्थ्यो भनेर कतिले गुनासो गरेतापनि त्यही बाटोमा कतिपय समयमा खचाखच भरिएको, उकुसमुकुसले सास फेर्न पनि गार्‍हो भएतापनि मानौँ बोकालाई बलि चढाउन लगिएको जस्तै मृत्यसँग आँखा चिम्लन्दै हामी सार्वजनिक यातायातमा यात्रा गर्छौँ। जनसंख्या बढिरहेकोले नै अनियन्त्रित रूपमा यातायात चल्दा नेपालीहरू मरे के भयो त अरू जन्मिनै रहेछन् भन्ने मनस्थितिले सायद देश हाँक्नेहरूको दिमागमा पौडी खेलिरहेकोले होलान् यातायात क्षे त्रमा गुणात्मक संचालन भइरहेको छैन। तै पनि हाँस्दै एउटा खुट्टामात्र बसको ढोकामा टेकेर भएपनि झुण्डिएर यात्रा गर्न सफल मान्ने शान्तिमय नेपालीले नोबेल पुरस्कार किन नपाउने? (यसरी यात्रा गर्ने यस आलेखकको पनि संस्कार छ)।

३. टेलिभिजनमा चलिरहने श्रृखला जस्तै नेपालको राजनितिले राहत नपाएतापनि नेपालीहरूले त्यसलाई चियासँग मिसाएर रमाइलो गर्दै पिइरहेको पाउँछौँ। सयौँ पार्टी र देश चलाउन जिम्मेवार बोक्ने सापटी आश्‍वासनहरूले भरिएका सयौँ भारदारहरूले यो देशलाई सामान्य स्थितिमा ल्याउन सकेका छैनन्। संविधान कार्यान्वन गर्न नैतिक वाध्यता कसैको नभएको कारणले, महिलाहरूले चुरा फेरेको जस्तै केही केही महिनामा प्रधानमन्त्री फेरिरहने संस्कारले र बाबुआमा झगडा गर्दा छोराछोरीहरू भोक्‍कै बस्दा त्यो झगडा सफल भयो भन्ने जस्तै जनताहरूलाई अनेकन सास्तीदिने नतिजाबिहिन हडताल नै हडतालले पिरोल्दा पनि हडतालले कमसेकम दुषित वातावरणले त राहत पायो भनेर हाँसीहाँसी दशौँ किलोमिटर हिँड्न बाध्यता भएतापनि देशलाई उचित नियन्त्रण गर्ने सरकार नभएपछि के गर्ने भनेर सोचिरहने हामी पारालाइसिस भएको शान्तिमय जनताले नोबेल पुरस्कार नपाए कसले पाउने?

४. “मेरा मानिसहरू नाश भएका छन् किनभने तिनीहरूमा दुरदर्शिता वा अन्तरदृष्टी (भिजन vision) छैन” भनेर धर्मशास्त्र बाइबलमा ठोकुवा गरेर उल्लेख गरिएको छ। हामीहरूका राजनैतिक पुजारीहरूले मञ्‍चहरूबाट रोजगारीको घोषणा गर्दछन् तर दिनदिनै सयौँ दक्ष युवायुवतीहरू बिदेशमा नवदासत्वको निम्ति पलाएन भइरहेका छन् किनभने नेपालमा रोजगारी दिने ठोस प्रवन्धात्मक योजना छैन। बराबर एयरपोर्टमा भित्रिने युवाहरूको लासलाई हेरेर रूने आफन्तहरूका आँसुहरूलाई पुछिदिने नेताहरू हाम्रो देशमा खोइ? प्रजातन्त्रको नाउँमा झगडातन्त्रले बाहुल्यता पाएको हुनाले स्वयँ नेताहरूले छापाहरूबाट भिभिन्न घुमाउरो पाराले भनिरहेका छन्, ×हाम्रो देश चिप्लिन्दैछ।” गगनचुम्बी महँगीले युवाहरू निराश वा डिप्रेशनमा जाकिरहेकाछन्। यस आलेखक स्वयं लागुको दुर्व्यसनमा लागेकाहरूबाट बालबाल बचेकोबाट भन्दछन् कि हामी अन्धकारको राज्यमा पस्रिरहेकाछौँ। यद्यपि, सबै कुरा सहेर हामीहरू नाचीरहेका छौँ, रमाइरहेकाछौँ, चाडबाडमा उफ्रिनै रहेकाछौँ, एक आपसमा सदभावना कायमै गरिरहेका छौँ, रोगभोकले असुविस्तामा मृत्युको निम्ति दिन गनिरहेकाछौँ र अहिलेसम्म सारा जनता “ल अब त भयो” भनेर ओर्लिरहेकाछैनौँ, किनकि हामी शान्तिप्रिय नेपाली हौँ।
उपर्युक्त कारण र अरू धेरै कारणहरूले जुन पाठकहरूले पनि आफ्नै सूची तयार पार्न सक्नुहुन्छ, गर्दा के हामी नेपालीले नोबेल शान्ति पुरस्कार कहिल्यै नपाउने?

नोबेल पुरस्कार दिने समितीकहाँ यो सन्देश पुर्‍याउने कुनै सुरबीर छ भने सो पुर्‍याइदिन यस आलेखक हार्दिक अनुरोध गर्दछ।

bhajupurna@gmail.com

Comments

comments

<-- Google Analytics -->