असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

आदिनाथ माध्यमिक विद्यालयको भवन उद्घाटन

काठमाडौं, १ फागुन । काठमाडौंको चोभारस्थित आदिनाथ माध्यमिक विद्यालयको १८ कोठायुक्त तीन तले भवनको काठमाडौं क्षेत्र नम्बर १० का सांसद राजेन्द्रकुमार केसीले शनिबार उद्घाटन गर्नुभयो ।

‘आफैले अक्षर चिनेको यस विद्यालयको विकासमा आजसम्म जसरी सघाउँदै आएँ, भोलि पनि आर्थिक–भौतिक, वैचारिक विभिन्न तरिकाले सघाउनेछु’ उद्घाटनपछि सम्बोधन गर्दै सांसद केसीले भन्नुभयो ।

सरस्वती पूजाका दिन पारेर गरिएको यस उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य तथा प्रगति विवरण दिंदै प्रधानाध्यापक जुजुभाइ महर्जनले काठमाडौंको दक्षिणी भेगकै सामुदायिक विद्यालयमा आदिनाथ विद्यालय अग्रस्थानमा रहेको तथ्यांक प्रस्तुत गर्नुभएको थियो ।
IMG_2397
विद्यालयका पूर्व शिक्षक डा. नेत्र पौडेलले लामो समयसम्म विद्यालयमा सेवा गरेको स्मरण गर्दै आफू र आफूजस्ता दजनौं शिक्षक–अभिभावकको योगदान र वर्तमानका प्रधानाध्यापक एवं शिक्षक–शिक्षिकाको मेहनतका कारण विद्यालयले प्रगति गरेको बताउनुभयो । उहाँले विद्यालयले आज आलिसान महल पाउनुमा विद्यालयमा योगदान दिने सबैको उत्तिकै योगदान रहेको विश्लेषण गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष सरोज शाक्य, जिशिअ शंकरबहादुर गौतम, कीर्तिपुर नगरपालिकाका लेखाअधिकृत सानुबाबु परियार, कालिञ्चोक गणका सशस्त्र प्रहरी प्रमुख दुर्गाप्रसाद भट्टराई, कीर्तिपुर महानगरीय प्रहरी वृत्त प्रमुख डा. मेखबहादुर केसी, सञ्चारविद प्रकाशजंग कार्कीले पनि कार्यक्रममा सम्बोधन गर्नुभएको थियो ।

IMG_2396कार्यक्रममा स्थानीय बुद्धिजीवी तथा संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो । सहभागीहरुले विद्यालयले भूकम्प प्रतिरोधात्मक भवन पाएकोमा प्रसन्नता व्यक्त गर्दै विद्यार्थी बढाउने प्रयास भने बढाउनुपर्ने सुझाव दिएका थिए । अहिले विद्यालयमा ४ सयभन्दा पनि कम विद्यार्थी रहेको र पछिल्लो पटक प्रवेशिकामा केबल २३ विद्यार्थी मात्र जानसकेको बताइएको छ ।

सहभागी तथा वक्ताहरुले विद्यालयको आधुनिक भवनको निर्माणमा योगदान दिने तर तयारी अवस्था भने देख्न नपाउँदै दिवंगत भएका व्यवस्थापन समिति अध्यक्ष शिषिर धितालको सम्झना गर्दै श्रद्धाञ्जली प्रकट गरेका थिए ।

Comments

comments

<-- Google Analytics -->