असार ९ गते २०७४, शुक्रबार | June 23, 2017     18:00:00

‘भैरव’ मा अमेरिकाका नेपालीको प्रतिक्रिया लिन निखील आतुर

काठमाडौं, १८ माघ । नेपाली चलचित्रमा युवा पिंडीका प्रिय नायक निखील उप्रेतीले अमेरिकामा रहेका नेपालीसँग बसेर चलचित्र ‘भैरव’ हेर्न र उहाँहरुको ‘फिडब्याक’ लिन आफू आतुर रहेको बताउनुभएको छ ।

‘नेपालको राजनीतिक खिचातानीको विषयमा आधारित चलचित्र भैरव नेपालमा रहेका नेपालीले त मन पराउनुभएको छ नै, विदेशमा रहेका नेपालीले अझ बढी मन पराउने मैले विश्वास लिएको छु, किनभने टाढा पुगेपछि मातृभूमिको चासो अझ बढी हुन्छ’ ई नेपाली खबरलाई संक्षिप्त अन्तर्वार्ता दिंदै नायक तथा निर्माता उप्रेतीले भन्नुभयो ।

काठमाडौंको गौरीघाटमा ‘संरक्षण’ नामक चलचित्रको सूटिङमा व्यस्त रहेका उप्रेतीका अनुसार उहाँ यही माघ २२ गते अमेरिकाको क्यालिफोर्नियाका लागि उड्दै हुनुहुन्छ । माघ २८ तारिक फर्किहाल्ने व्यस्त यात्रा कार्यक्रमका साथ अमेरिका जाने उहाँको भ्रमण कार्यक्रम त्यहाँको सामाजिक संस्था मदरल्याण्ड नेपालले मिलाएको हो ।

‘मेरो चलचित्र यस पटक सनफ्रान्सिक्कोस्थित बे–एरियामा मात्र प्रदर्शन हुनेछ, अमेरिकाकै अन्य ठाउँबाट पनि निम्ता त आएको छ, अमेरिकाबाहेक अन्य मुलुक जहाँ नेपालीको सघन उपस्थिति छ, त्यस्ता ठाउँहरुबाट बोलाइरहेका छन्, तर समय मिलाउन मलाई कठिन भइरहेको छ’ नायक उप्रेतीले जानकारी दिनुभयो ।

‘मैले ठूलो लगानी र आधुनिक प्रविधिको प्रयोग गरेर अन्तर्राष्ट्रिय स्तरको नेपाली चलचित्र बनाएको छु, दर्शकहरुलाई भरपूर मनोरञ्जन त हुन्छ नै, साथमा नेपाली चलचित्रले एक स्तर कायम गरेकोमा गौरवको अनुभूति पनि हुन्छ भन्नेमा म विश्वस्त छु’ उप्रेतीले आत्मविश्वास प्रकट गर्नुभयो । 20160128_220658

मदरल्याण्ड नेपालका संस्थापक अध्यक्ष अनिल पाण्डेका अनुसार ‘भैरव’ च्यारिटी शोका रुपमा प्रस्तुत हुन लागेको हो, यसबाट उठेको रकम बे–एरियामै मदरल्याण्ड सांस्कृतिक केन्द्र खोल्ने अभियानमा लगाइनेछ ।

‘मैले पहिला नै स्थानीय नेपाली समुदायकाबीच गरेको कबुलअनुसारको धनराशि पनि म यही केन्द्रका लागि लगाउनेछु’ सो क्षेत्रका लागि नेपाली पर्यटनदूत पनि रहेका पाण्डेले जानकारी गराउनुभयो ।

Comments

comments

<-- Google Analytics -->