असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

भौतिक शरीर र मनको ईश्र्यालु रोचक कथा

- टिका न्यौपाने
….तँ फेरी कहाँ डुलेर आइस् ?  मैले झर्किँदै सोध……..मलाई नै नभनी तँ सुटुक्क डुलेर आउने ?

मलाई डुल्न नदिई तँलाई सुखै छैन । उसले भन्यो, आखिर तँलाई बाँच्न सिकाउने म नै हो क्यारे ।

गिज्याएको पारामा दिइएको जवाफ मैले सहनै सकिन र भनेँ, तँलाई बनाएको मैले हो । तर…….. त मलाई जै तेरो अधीनमा पार्न खोज्छस् ?

मैले तँलाई आफ्नो अधीनमा पारेको होइन । तँ आफैँ मेरो अधीनमा परेको छस् । म स्वतन्त्र छु तर तँ मेरो कठपुतली होस् । सँधै मेरो पछिपछि लागि रहने, मैले भनेँ त्यही गर्ने ।

उसका यी तर्कहरुले मलाई अझै उसँग बाझ्न उत्साहित गरिरह्यो ।

थर्किएँ, ई हेर्…..मेरा हातखुट्टा, मेरा शरीरका अंग प्रत्यङ……….जसको स्वरुप संसारले देखेको छ । दुनियाँ मलाई हेर्छ अनि तारिफ गर्छ । बुझिस ? म भित्र बल, शक्ति अनि ताकत छ । दुनियाँलाई पछार्न सक्ने ताकत ।

म अलिक बढि नै घमण्डी भएको शायद बुझेछ, क्यारे जवाफ दियो, मान्छु तँसँग स्वरुप छ, तँ जे गर्न सक्छस् होला । तर तेरो गति सीमित छ, मेरो असीमित । तँ पाइला चाल्दै जमिनमा हिँड्छस्, म वायुयान झैँ हावामा वेग मार्छु । म जहाँ पनि पुग्छु र छिट्टै फर्किन्छु ।

उसको र मेरो घम्साघम्सी चलिरहेको थियो । उ फेरी एकाएक गायब भयो । उसको यो वेगलाई रोक्न सक्ने ताकत मसँग एकरत्ति पनि थिएन ।

×××

एकपल्ट उसले भनेका थिए, तैँले मलाई डुल्न नदिएर हुन्न, मैले मेरा लागि मात्र डुलेको होइन । तेरा लागि पनि डुलेको हुँ । मेरो अनुभव र महशुसले तँ बाँचेको छस् र जुनकुरा तैँले थाहा पाएर पनि नपाएजस्तो सजिव मूर्तिजस्तो छ । जसको स्वरुप समयले फेर्दछ । तँलाई बाँकी अस्तित्व मैले दिएको छु, मैले सिकाएको छु ।

म सँग पनि अनेक प्रत्युत्तर हुन्थे । तर म हार्थे र किनकी म कमजोर थिएँ । उ म भन्दा लाखौँ गुणा बलवान । म दुनियाँ थर्काउन सक्थेँ तर उ कहिल्यै डगमगाएन । साँच्चिकै भन्नुपर्दा जित उसको थियो ।

×××

अब त अत्ति नै भइसकेको थियो । मसँग लुकामारी गरेर उसले जोरी नै खोजिरहेको जस्तो लाग्न थाल्यो । म घोरिएर सोचमग्न भएँ । आखिर मैले नै उसलाई चिन्न नसकेर पो यस्तो खट्पट् बढेको हो कि !

उ फेरी आयो । यसपल्ट त धेरै डुलेर आएछ । तँलाई यत्तिका ठाउँ डुलेर आउने अधिकार कसले दियो ? म कर्किएँ ।

अधिकार……..? अधिकार त्यस्तालाई चाहिन्छ जसको भौतिक अस्तित्व छ । म सुसुप्त छु, अभौतिक छु । त्यसैले यो अधिकार भन्ने शब्द मेरा लागि बनेको हैन । शायद तिमीहरुका लागि बनाईएका होला । यो कुरा तँलाई थाहा छैन, किनकी तँैले आजसम्म आफैँलाई अनि मलाई चिनेकै छैनस् । उसले पनि कडा जवाफ दियो ।

उसको यो तर्क मैले बुझ्न सकिनँ । मेरो टाउको रिंगियो र सोधेँ, उसो भए तँ को होस् त ?

पहिले आफूलाई चिन् । उसले सम्झायो । किनकि तेरो सम्पूर्ण परिचयमा मात्र मेरो परिचय तँैले बुझ्न सक्छस् ।

मलाई लाग्यो कतै यसले मलाई भ्रमित त बनाइराखेको छैन ? जसरी भएपनि भ्रम निवारण गर्नु जरुरी थियो र म गलिसकेको थिएँ । तँ शरीर होस्, तर म तेरो मन हुँ…..। उसको यो उत्तरले म नाजवाफ भएँ ।
समाप्त ।

प्रतिकृयाका लागि:

Tikaneupaneilam@yahoo.com

Comments

comments

<-- Google Analytics -->