असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

हत्यारालाई गिरफ्तार गर्न एमालेको दबाब

काठमाडौं, ४ पुस । नेकपा एमालेले आफ्नो भ्रातृ संगठन युवा संघ नेपालका रुपन्देही जिल्ला अध्यक्ष तथा क्षेत्रीय कमिटी सदस्य दुर्गा तिवारीको नृशंस हत्याप्रति क्षोभ प्रकट गर्दै हत्यारालाई तत्काल गिरफ्तार गर्न राज्यसमक्ष माग गरेको छ ।

एमालेद्वारा जारी विज्ञप्तिअनुसार सोमबार अपरान्ह करिब ३ः३० बजे रुपन्देहीको देवदह नगरपालिका–६, खैरेनीमा हिंडिरहेको बेला मोटरसाइकलमा आएका दुई अपराधीले तिवारीमाथि गोली प्रहार गरेका थिए । ‘राष्ट्रिय एकता, अखण्डता, स्वाधीनता र स्वाभिमानका पक्षमा सञ्चालित आन्दोलनमा सक्रिय कमरेड तिवारीको कायरतापूर्ण हत्याको तीब्र भत्सर्ना र निन्दा गर्दै त्यसमा संलग्न अपराधीहरुलाई तुरुन्त गिरफ्तार गरी कडा कानुनी कारवाही गर्न नेकपा (एमाले) जोडदार माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

महासचिव ईश्वर पोखरेलले जारी गरेको वक्तव्यमा भनिएको छ, प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयम्ले नेकपा (एमाले) र आन्दोलनरत जनताविरुद्ध उत्तेजनापूर्ण अभिव्यक्ति दिइरहेको तथा गृहमन्त्रीले उक्साहटपूर्ण भनाइ राखिरहेको बेला देशभक्त युवा नेताको हत्या भएको छ । देश र जनताको सुरक्षा गर्नुपर्ने व्यक्तिहरुको त्यस्तो उत्तेजना र उक्साहटपूर्ण अभिव्यक्ति सार्वजनिक भएकै बेला यो देशभक्त नेपालीहरुमाथि गरिएको षड्यन्त्रपूर्ण आक्रमण हो । आन्दोलनकारी युवा नेताको हत्या गरेर एकातर्फ उक्त आन्दोलनलाई कमजोर बनाउने र अर्कातर्फ साम्प्रदायिक सद्भाव विथोलेर मुलुकमा विखण्डन सिर्जना गर्न गम्भीर आपराधिक षड्यन्त्र भइरहेको गम्भीर आशंका पैदा भएको छ । केही दिन पहिला रुपन्देहीकै भैरहवामा एकजना व्यवसायीमाथि समेत गोली प्रहार भएको कुरा यहाँनेर स्मरणीय छ ।

हत्या र षड्यन्त्रको पर्दाफास गर्दै संयम र धैर्यका साथ राष्ट्र, राष्ट्रियता, संविधान कार्यान्वयन र अग्रगमनको यात्रामा अविचलित सक्रियताका साथ भएर लागिरहन कार्यकर्ता पंक्तिलाई हाम्रो पार्टी आग्रह गर्दछ ।

महासचिव पोखरेलले हत्या गरिएका युवा नेता तिवारीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन एवम् पार्टी र युवा पंक्तिमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

Comments

comments

<-- Google Analytics -->