असार ९ गते २०७४, शुक्रबार | June 23, 2017     18:00:00

एमाले मधेशमा मोर्चा पहाडमा

(कपिल काफ्ले)

संसदको दोस्रो ठूलो दल नेकपा एमाले मेची–महाकाली अभियानमा लागेका बेला गलत तत्वले मौका पाउने हुन् कि भन्ने चिन्ता बढेको छ । नेपालको सामाजिक सद्भाव भड्काएर धमिलो पानी बनाउने र माछापार्ने अराष्ट्रिय तत्वले नेपालीलाई प्रयोग गर्ने सम्भावनालाई नकार्न सकिन्न । एक दशकअघि गौर हत्याकाण्डको बीभत्स दृश्य देखेको नेपालीको मन आत्तिनु स्वाभाविक छ ।

एमालेले यस्ता गलत तत्वलाई अवसर नदिने सुझबुझ देखाएको सन्दर्भले ढाडस त दिएको छ तर मधेशी मोर्चाका नेताले ‘सप्तरी हाम्रो पकडमा छैन, एमालेलाई विरोध नगर्न स्थानीय कार्यकर्तालाई निर्देशन दिइयो भने हामीलाई गद्दार भनेर जिल्ला पस्न दिंदैनन्’ जस्ता अभिव्यक्ति दिएर अन्योल बढाएका छन् । हो, पहाडी नागरिकको बाहुल्य रहेको पार्टी एमालेले यस बेला नेपालमा सामाजिक सद्भाव कायम गर्न मधेशी मोर्चालाई पहाडमा स्वागत गर्ने तत्परता देखाउनु आवश्यक छ । राजधानी काठमाडौंमा चाहिं यस प्रकारको तत्परता रहेको प्रमाणित भइसकेको छ, पोखरामा यसको अभ्यास नभए पनि स्वागत गरिने संकेतहरु देखिएका छन् । ताप्लेजुङदेखि दोलखा, बझाङ, जुम्लाआदि पहाडी जिल्लामा मधेशी मोर्चाका कार्यकर्तालाई स्वागत गरिएला कि नगरिएला, यसै भन्न सकिने अवस्था छैन । तर, नेपाल राज्यको कुनै पनि नागरिकले आवागमन, बसोवास र शान्तिपूर्ण विरोध प्रदर्शनको जो अधिकार पाएको छ, त्यो मुलुकभर लागु हुने प्रावधानका साथ प्राप्त छ । एमाले तराई झरेजस्तै मधेशी मोर्चा पहाड उक्लिन स्वतन्त्र छ । एकले अर्कालाई निषेध गर्ने मानसिकता अलोकतान्त्रिक हो । एमालेलाई पूर्व–पश्चिम यात्रामा अवरोध पु¥याउने मोर्चाका केही नेताहरुको अभिव्यक्ति अलोकतान्त्रिक त छ नै, साथमा असभ्यताको परिचायक पनि छ ।

फागुन २१ मा मेचीको झापादेखि सुरु भएको एमालेको अभियान यात्राको भोलिपल्ट बीबीसी नेपाली सेवामा अन्तर्वार्ता दिंदै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता बृजेशचन्द्र लालले संसदमा मधेशको मुद्दा निषेध गर्ने एमालेलाई मधेशमा जनताले निषेध गर्ने बताए । तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष लालले यस समयमा एमालेले तराईमा आएर आफ्नो प्रभाव जमाउने काम गर्नु द्वन्द्व भड्काउनु मात्र हो– एमालेसँग असन्तुष्ट जनता स्वतस्फुर्त सडकमा निस्केर उसको विरोध गर्छन् भने त्यसको जिम्मेवारी पनि उसैले लिनुपर्छ भने । वैशाख ३१ गतेका लागि स्थानीय निकायको निर्वाचनको मिति घोषणा भएपछि लाल र उनका साथीहरुले पहिला संविधान संशोधन गर अनि मात्र निर्वाचनमा जान दिन्छौं, अन्यथा विरोध जारी रहन्छ भन्दैआएका छन् । यसैबीच एमालेको कार्यक्रम असफल बनाउनकै लागि मधेसी मोर्चाका संयोजक सतीशकुमार लाल दासले एक विज्ञप्ति जारी गरी २५ गते धनुषामा आम हडताल आहृवान गरेको जनाएका छन् । झापाबाट सुरु भएको एमालेको मेचीकाली अभियान २५ गते नै जनकपुर पुग्ने कार्यक्रम छ ।

उता, एमालेले आफ्नो मेची–महाकाली अभियान बिथोल्न आपराधिक ढंगका हमला हुन थालेको भन्दै सरकार तथा मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ । साथै, मधेसी मोर्चाका शीर्ष नेताहरुलाई त्यस्ता गतिविधि रोक्न आग्रह गरेको छ । अभियानको पहिलो दिनको समीक्षा गर्दै एमाले प्रचार बिभाग प्रमुख योगेश भट्टराईले दमकमा आयोजित पत्रकार सम्मेलनमा पहिलो दिनमै डेढ लाख जनता सहभागी भएको बताए । मोर्चाले भने धनुषामा जस्तै राजविराज लगायतका स्थानमा बन्द र हड्ताल आह्वान गरिसकेको छ । एमालेले भने बन्द–हड्ताल फिर्ता लिन आग्रह गर्दै अटेर गरे बन्द तोडेर एमालेको अभियान मधेसमा जारी रहने अडानका साथ वक्तव्य प्रकाशित गरेको छ ।

पहिलो दिनको अभियानलाई दमकमा समापन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको अभियान कुनै राजनीतिक दलविरुद्ध लक्षित नभएको भन्दै मधेसका जनतालाई एमालेको दृष्टिकोण बताउन केन्द्रित रहेको प्रष्ट पारे । उनले कसैका अवरोधबाट एमाले डराउने पार्टी नरहेको बताए । एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले मधेसी जनजाति सबैको पक्षमा संविधानले अधिकार दिए पनि गलत मनसाय राख्ने र नेपाल असफल बनाउन चाहनेले गलत प्रचार गरेकाले एमालेले मेची महाकाली अभियान चलाएको बताए । यसबीच ‘मैदान नछाड्ने तर, भिड्न नजाने’ नीति एमालेले राखेको देखिन्छ । एमालेले मधेसका नेता कार्यकर्तालाई मैदान नछाड्न र संयमित भएर अभियानको प्रचार–प्रसारमा केन्द्रित हुन निर्देशन दिएको छ । एमालेको नीति मूठभेड गर्ने नरहेको र आफ्ना धारणा मधेसी जनतामा लैजान कसैले रोकेमा त्यसको प्रतिवावद गर्ने नीति रहेको जनाइएको छ । मधेस र मधेसी मोर्चा अलग–अलग भएकाले मोर्चाका एजेण्डालाई मधेसी जनताका एजेण्डाका रुपमा लिन नहुने एमाले नेताहरुको टिप्पणीलाई गलत भन्नमिल्ने ठाउँ पनि छैन । मधेसी मोर्चाका एजेण्डामा एमाले असहमत भएको तर मधेसी जनताको मागको पक्षमा आफू रहेको दाबी उसको छ । यस दावीलाई प्रमाणित गर्न र आफू मधेशी मोर्चाको धम्कीबाट विचलित नभएको सन्देश दिन पनि एमाले मधेशका गाउँ–गाउँ पस्नु आवश्यक छ– कम्तीमा पूर्व–पश्चिम राजमार्गको यात्रा गर्नु त ढिला नै भइसकेको थियो ।

यसबीच एमालेले निकै ढिलोगरी निर्णय लिए पनि २० मधेसी नेताहरुलाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेर सही निर्णय लिएको छ । यस निर्णयले मेची–महाकाली अभियानलाई सकारात्मक योगदान दिने निश्चित छ । उता, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले भने एमालेको अभियान गलत समयमा भएको भन्दै आलोचना गरेका छन् । यद्यपि, अब सही समय आयो एमाले, नेका र माआवादी केन्द्रहरु तराई झरेहुन्छ भनेर आमन्त्रण गर्ने सोच उनले कहिल्यै बनाउने सम्भावना भने थिएन । किनभने, मधेशमा मोर्चाका नेताहरुको एक मात्र राज चलोस् र तराईका जनताले राजनीतिक विकल्प नै नपाऊन् भन्ने मनस्थिति तमलोपा अध्यक्ष ठाकुर र उनका साथीहरुमा देखिन्छ ।

तमलोपा अध्यक्ष ठाकुरले संविधान संशोधन प्रस्ताव पारित नभएसम्म देशमा कुनैपनि चुनाव हुन नसक्ने ठोकुवा गरेका छन् । मधेशका नेताहरुको भनाइ छ, संविधान संशोधन नगरी स्थानीय निकायको निर्वाचन गर्दा राष्ट्रियसभाको गठन, राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन आदिमा प्रत्यक्ष असर पर्छ, फेरि पनि पहाडी मूलकै व्यक्तिको हातमा सत्ता रहन्छ । नेपालको सत्तामा मधेशी मूलका व्यक्तिको नियन्त्रण हुनेगरी स्थानीय निकायको संरचना बन्नुपर्छ र यसका लागि जनसंख्याको आधारमा तराईमा स्थानीय निकाय बढाउनुपर्छ ।

लोकतान्त्रिक अभ्यासमा जनसंख्याको आधारमा निर्वाचनका एकाईहरु गठन गर्नुपर्छ भनेर माग गर्नु अस्वाभाविक होइन । मधेशी मोर्चाको मागप्रति लचकता अपनाउने र उदात्त चिन्तन राख्ने मानसिकता आजका सत्ताधारीहरुमा हुनुपर्छ । तर, एमालेको मेची–महाकाली अभियानलाई हिंसात्मक ढंगले विरोध गर्ने मोर्चाको चिन्तन अलोकतान्त्रिक मात्र होइन, अराष्ट्रिय पनि छ । विगतमा तराईबाट छानीछानी पहाडी मूलका नागरिकलाई लखेट्ने अराष्ट्रिय चिन्तनलाई पहाडले कहिल्यै प्रतिशोधको रुपमा लिएन । पहाड र काठमाडौंमा त्यसबेला कुनै मधेशी नागरिकलाई कसैले छुँदासम्म छोएन । अरु बेलाको भन्दा बढी सम्मानको व्यवहार पाए तराईवासी नागरिकले त्यो बेला । यसको एक मात्र कारण थियो– पहाडी नागरिक जातीय सद्भाव नभाँडियोस् भन्नेमा सजग थिए । २०६३–६४ को मधेश आन्दोलनप्रति ज–जसले गौरव गरेपनि तराईबाट सर्वसाधारण पहाडीलाई खेद्ने कार्यलाई कदापि राम्रो भन्नसकिन्न । मधेश आन्दोलन १ मा तत्कालीन माओवादी कार्यकर्तासँग भएको भिडन्तजस्तै एमाले र मोर्चाबीच पुनः भिडन्त भएर मुलुक रक्तपाततिर जानेहो कि भन्ने चिन्ता आम नागरिकमा बढिरहेको छ । यस चिन्तालाई हटाउने गरी एमाले र मोर्चाका नेताहरु एकै विज्ञप्तिमार्फत प्रकट हुनसके जनताले दुवैलाई असीम आशीर्वाद दिनेथिए ।

(नेपाल समाचारपत्रमा सोमबार प्रकाशित)

Comments

comments

<-- Google Analytics -->