असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

सर्वाेच्च पदक विजेता लामिछानेको अभिनन्दन

ललितपुर, ८ फागुन । विश्व स्काउट संगठनको सर्वाेच्च पदक ब्रोन्ज उल्फ (BRONZE WOLF) पाउने पहिलो नेपाली भएकोमा नेपाल स्काउटका निर्वतमान प्रमुख आयुक्त श्रीराम लामिछानेलाई शनिबार पाटन दरवार क्षेत्रमा आयोजित एक विशेष समारोहमा सार्वजनिक अभिनन्दन गरिएको छ । विश्व स्काउटका प्रर्वतक लर्ड बेडेन पावेल तथा लेडी बेडेन पावेलको जन्मदिन तथा विचार दिवस (२२ फेब्रुअरी ) को अवसर पारेर लामिछानेलाई अभिनन्दन गरिएको हो ।

विश्व स्काउट संगठनले सन् १९३५ मा स्थापना गरेको सो सर्वाेच्च पदक केही दिनअघि लामिछानेलाई प्रदान गर्ने निर्णय गरेको थियो । स्काउट अभियानका संस्थापक लर्ड बेडेन पावेलको नाउँमा बेडेन पावेल हिमश्रृंखलाको नामाकरण गर्नुका साथै बेडेन पावेल पदयात्रामार्ग निर्माण गर्न सघाउ पुरयाएको, ककनी अन्तराष्ट्रिय ज्याम्बोरी तथा तालीमस्थल निर्माण गर्न, र नेपाल स्काउटलाई आत्मनिर्भर बनाउन उल्लेखनीय भूमिका निभाएको आदि कार्यको उच्च मुल्यांकन गर्दै लाछिानेलाई सो पदक दिने निर्णय गरिएको थियो ।

ललितपुर जिल्ला स्काउटले आयोजना गरेको सो अभिनन्दन समारोहमा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले सर्वाेच्च पदकबाट विभूषित लामिछानेलाई ताम्रपत्र प्रदान गर्नुका साथै माला लगाईदिएर अभिनन्दन गरेका थिए । कार्यक्रममा प्रजिअ शर्माले स्काउटको विकासमा ५२ वर्षसम्म लगनशील भएर लामिछानेले गरेको मिहेनतको उच्चकदर गर्दै विश्व स्काउट संगठनले पहिलोपटक सर्वाेच्च पदक प्रदान गर्ने निर्णयबाट देशको छवि बढेको बताउँदै अनुशासित र सृजनशील नेपाली नागरिक बन्न स्काउटले सिकाऊँदै आएको उल्लेख गरे ।

कार्यक्रममा महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक पिताम्बर अधिकारी, जिल्ला शिक्षा अधिकारी निर्मल कुमार घिमिरे, जिल्ला स्काउटका तालीम आयुक्त विश्व श्रेष्ठ, सहजिल्ला आयुक्त अचला थापा, शान्ति अमात्य, कार्यक्रम संयोजक गोपाल महर्जन लगायतले स्काउटको साधारण सदस्यदेखि स्काउटका सबै तह पार गर्दै नेपाल स्काउटको सर्वाेच्च तह प्रमुख आयुक्तसम्म भई सर्वाेच्च पदक पाउन सफल भएकोमा लामिछानेलाई वधाई दिएका थिए ।

अभिनन्दन समारोहमा लामिछानेलाई स्काउटको साधारण सदस्यमा ५२ वर्षअघि तालीम दिएका स्काउट गुरु उपेन्द्रकुमार श्रेष्ठ तथा प्रा.गोविन्द नारायण ज्यापूसमेतको उपस्थिति थियो । त्यस अवसरमा जुगल स्काउट समुका स्काउट भाईवैनीले नृत्य प्रस्तुत गरेका थिए ।

यसअघि विचार दिवसको अवसरमा जिल्ला स्काउट लगनखेलबाट शुरु भएको र्याली जाउलाखेल, पुल्चोक हुँदै मंगलबजार पुगेर समापन भएको थियो । र्यालीमा जिल्लाका ३७ वटा स्कउट समूहबाट ६०० जना स्काउटले भाग लिएका थिए ।

Comments

comments

<-- Google Analytics -->