असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

मनोरञ्जन क्षेत्रका श्रमिक महिला दोहोरो शोषणमा

काठमाडौं, १० फाल्गुण । बेचविखनबाट प्रभावित महिलाहरुको पहलमा खोलिएको संस्था शक्ति समूहले आइतबार राजधानीमा आयोजित कार्यक्रममा सहभागीहरुले मनोरञ्जन क्षेत्रका श्रमिक महिला दोहोरो शोषणमा परेको खुलासा गरेका छन् ।

‘रेष्टुरेण्ट, मसाज सेन्टर, डान्स तथा दोहोरी क्षेत्रमा कार्यरत महिला श्रमको शोषणमा त छन् नै साथमा समाजले तिरस्कारको आँखाले हेर्नेगरेका कारण दोहोरो शोषणमा परेका छन्’ सहभागीहरुको धारणा छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यशाला गोष्ठीमा मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक महिला, उनीहरुका प्रतिनिधिमूलक संस्थाका व्यक्ति र सहउद्देश्यका संस्थाहरु सहभागी थिए ।

शक्ति समूहकी संस्थापक सदस्य चरीमाया तामाङले सहभागीको स्वागत गर्नुका साथै मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रजिअ सुवेदीले यस क्षेत्रमा कार्यरत महिलाहरुको पेशागत सुरक्षामा आफूले सक्रियताका साथ काम गरेको उल्लेख गर्दै अनुगमन कार्यसमितिको भरमा मात्र नपरी नागरिक समाज र गैससहरुले पनि मनोरञ्जन क्षेत्रका श्रमिकको पेशा व्यवस्थित गर्न ऐक्यवद्धताका साथ काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा शान्ति तथा पुनर्निर्माण मन्त्रालय, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, नेपाल प्रहरी, राष्ट्रिय मानवअधिकार आयोग, मेनइङ्गेज अलायन्स नेपाल, जीफण्ट नेपाल, महिला तथा बालबालिका कार्यालयका प्रतिनिधिहरुको सक्रिय सहभागिता थियो ।

शक्ति समूह बेचबिखनबाट प्रभावित महिलाहरुद्वारा स्थापित बिश्वको पहिलो संस्थाको रुपमा परिचित छ । यस संस्थाले स्थापनाकालदेखि नै मानब बेचबिखन विरुद्धमा कार्य गरिरहेको छ । शक्ति समूहकी परियोजना संयोजक नर्वदा सोराली मगरले जानकारी गराउनुभएअनुसार बेचबिखन बिरुद्धमा कार्य सञ्चालनकै क्रममा यस संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट सम्मान तथा पुरष्कार पनि पाइसकेको छ ।

बेचबिखन रोकथाम, संरक्षण, कानुनी प्रक्रिया, वकालत तथा पैरबी, क्षमता विकास गरी पाँचवटा सवालमा रहेर बिभिन्न जिल्लामा कार्य सञ्चालन गरिरहेको छ । यसैगरी मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाहरुका लागि सर्वाेच्च अदालतले जारी गरेको निर्देशिका २०६५ बमोजिम कार्यान्वन भई यस क्षेत्रमा कार्य गर्ने महिलाहरुलाई बेचबिखनको जोखिमबाट संरक्षण गर्नका लागि समेत कार्य गरिरहेको छ । तसर्थ मनोरञ्जन क्षेत्रमा सम्वन्धित सरोकारवालाहरुसँग मनोरञ्जन क्षेत्रका सवाल विषयमा आईओएमको सहयोगमा शक्ति समूहले कार्यशाला गोष्ठी सञ्चालन गरेको मगरले ईनेपाली खबरलाई जानकारी गराउनुभयो ।

Comments

comments

<-- Google Analytics -->