असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

अल्पविकासका चार कारण

(कपिल काफ्ले)
नेपाल अल्पविकासको अवस्थामा छ, यसलाई कतिले अविकसित राष्ट्र नै भन्छन् । शब्द जे दिएपनि भौतिक समृद्धिमा हामी पछिपरेकै हौं । हामीलाई पछि पार्ने कारणहरुको सूची लामो हुनसक्छ, तर प्रमुख रुपमा चार कारण प्रष्ट देखापर्दछन्– राष्ट्रिय नीतिको अभाव, दूरदृष्टि नभएको नेतृत्व, छिमेकी भारतको अनुदार रबैया र नागरिक समाजको ढुलमुले चरित्र ।

वर्तमान अवस्थामा, हाम्रा दुई छिमेकी मुलुक भारत र चीनसँग नाम चोडिएको एक समाचारले आम नेपालीलाई मर्माहत गरेको छ । वीरगञ्जस्थित रक्सोल नाकाबाट संयुक्त मधेशी मोर्चाका कार्यकर्ता उठिसकेपछि पनि अर्थात पाँच महिना लामो नाकाबन्दी अन्त्य भएपनि हामी आफ्नो उर्जाशील समय पेट्रोलको लाममा बिताउन बाध्य छौं । समाचारको निष्कर्ष हो– भारतले जानेर नै नेपाललाई मागको ५० प्रतिशत मात्र तेल आपूर्ति गरेको हो । यो प्रतिशत बढाएर ७० सम्म पु¥याए पनि शतप्रतिशत पु¥याउन ऊ चाहन्न । कारण हो– नाकाबन्दी कालमा नेपाल–चीनबीच भएको व्यापार सम्झौता । सम्झौता अनुसार नेपाललाई आवश्यक पर्ने इन्धनमध्ये ३३ प्रतिशत चीनले आपूर्ति गर्नेछ । उपप्रधान तथा परराष्ट्रमन्त्री चीन पुगेर यस प्रकारको समझदारीपत्रमा हस्ताक्षर गरेर फर्केका पनि हुन् । एक पटक चीनले सहयोगस्वरुप पेट्रोलियम आपूर्ति गरेको पनि हो रसुवाको नाका हुँदै नेपाल भित्रिएको थियो, नेपाली उपभोक्ताले सीमित मात्रामा भने पनि राहतको अनुभव गरेका थिए । तर, सम्झौताअनुसार काम अघिबढ्न सकेको छैन । किनभने भारतले असन्तुष्टि देखाइसक्यो, ‘मबाहेक अन्यत्र आँखा लगाएको मलाई मन पर्दैन’ भन्ने अभिव्यक्ति दिइसक्यो ।

छिमेकी भारतको यस चिन्तनलाई चिर्ने तत्परता नेपालले आजसम्म देखाउन सकेन । भारतीय सरकारको कमेजको फेर समाएर पछिलाग्नमै हाम्रो राष्ट्रिय नीति र नेताहरुको चिन्तन सीमित छ । नेपालको नागरिक समाजले पनि छिमेकी मुलुकको स्वार्थपूर्ण र एकलकाटे चिन्तनयुक्त भूमण्डललाई चिर्दै चन्द्रमातिर रकेट हुत्याउने शक्ति देखाउन सकेको छैन । विगतका केही उत्कृष्ट उदाहरणले नेपाली नागरिक समाजमा आफ्नो सरकार र भारतको चाहनाविपरीत निर्णय लिनसक्ने क्षमता देखाएका छन् । राजतन्त्र फाल्ने निर्णय यस्तै एक उदाहरण थियो । तर यस प्रकारको एकता जो परिस्थितिजन्य थियो, पछिल्लो समयमा देखिन सकेको छैन । एक स्वतन्त्र मुलुकको हैसियतले नेपालले चीनसँग सम्बन्ध बढाउन र भारतीय आपूर्तिको परिपूरकका रुपमा (विकल्प होइन) तयारी गर्दा मात्र पनि भारतले इन्धन कटौती गरेर नेपालमाथि अन्याय गरेको छ । राजकीय भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई उच्च सम्मान दिएर उसले नेपाली शासक र सरकारको मन जितेको हुनसक्छ, तर नागरिकको मन जित्न सकेको छैन, बरु जति नेपाली इन्धनको लाममा उभिएका छन्, उनीहरुबाट घृणा मात्र प्राप्त गरेको छ ।

ओलीको भ्रमण दललाई दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न भारतीय राज्यमन्त्री आउने चर्चाका बाबजुद विदेशमन्त्री सुष्मा स्वराज प्रकट भएर जसरी नेपाली सरकारलाई भारतले फुरुक्क पा¥यो, यसबाट उसको परिपक्व कूटनीतिक खेलाडीको परिचय त प्राप्त भयो, तर मन जितेर व्यवहार गर्ने परिस्कारको पहिचान देखिएन । प्रधानमन्त्री ओलीलाई न्यानो स्वागत चाहिएको थियो, त्यो ठीकै भयो । प्रकारान्तरले ओलीको सम्मान नेपालको सम्मान नै हो । उनको जन्मदिनमा दिल्लीमा केक काटिंदा त्यसको सुवास नेपालीको नाकसम्म पु¥याउनका लागि भने भारतले शासकलाई मात्र रिजाएर पुग्दैन, जनता रिझाउनुपर्छ । राजनीतिक दलका नेता र संस्थाका प्रतिनिधिहरुलाई लैनचौरमा भोजन गराउनु स्वागतयोग्य छ तर त्यसको निष्कर्षमा आम नेपालीले प्रत्यक्ष लाभ पाएको हुनुप¥यो । नेपाल र नेपालीको हितमा डिनर टेबलको वरिपरिबाट आवाज आउनुप¥यो । आजसम्म यस चिन्तनका साथ न त डिनर भयो न त लञ्च– यही नै समस्याको विषय हुन गएको छ ।

नेपालको परराष्ट्र सम्बन्ध भारतपरस्त बनाउन नेपाली शासकहरुलाई यस प्रकारका लञ्च र डिनर भेलाहरुले कारकको काम गरेका छन् । स–साना उपभोग्य सामग्रीदेखि ठूला यन्त्रउपकरणका लागि पनि हामी भारतमा निर्भर छौं । ‘तिमीहरुका लागि चीनबाट किने पनि किन्ने हो, भारतबाट किने पनि किन्ने नै हो, झन् म त डलर होइन, आईसीमै सामान दिन्छु’ भनेर भारतले हामीलाई आकर्षण दिइरहेको छ । राजनीतिक रुपमा राजादेखि नेतासम्म हिजो भारतीय भूमिमै उभिएर नेपालको व्यवस्था परिवर्तनका लागि आन्दोलन चलाएका कारण राजनीतिक रुपले त हामीमा भारतप्रति कृतज्ञता त छ नै । धार्मिक तथा सामाजिक रुपमा त्रेता युगका राम–जानकीको विवाहदेखि कलीयुगको रोटी–बेटीको सम्बन्धले भारतपरस्ततालाई भान्सा र सयनकक्षसम्म पु¥याएको यथार्थबाट पनि हामी भाग्न सक्तैनौं । पछिल्लो समय विश्वका मुलुकको कूटनीतिको आधार व्यापार–व्यवसाय नै हो । सुष्मा स्वराजले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा होस् वा ओलीको जन्मदिनको पार्टीमा होस्, जे–जति उद्गार व्यक्त गरिन् त्यसको पछाडिको अर्थ नेपालसँगको व्यापार नै हो । त्यसमा अन्तरनिहित भारतीय हित र लाभ नै हो । यी आदि व्यवहारमा नेपाललाई एकलौटी अधीनमा राख्ने चिन्तन लुकेको छ । बारम्बार भारतको नाकाबन्दी र घुर्की सहेर हैरान भएका नेपालीलाई अब भारतको मात्र अंकमालले पुग्दैन, चीनलगायत अन्य मुलुकसँग पनि उत्तिकै जोसका साथ जन्मदिन मनाउने हाम्रो चाहना छ । यो चाहना मात्र होइन, अब मुलुकको अनिवार्य आवश्यकता पनि हो ।

भारतले नेपालको मागअनुसार पेट्रोलियम पदार्थ आपूर्ति नगर्नु र नेपालमा मधेशी मोर्चाले प्रधानमन्त्री ओलीको भारत भ्रमणको पूर्वसन्ध्यामा रक्सोल नाका खोलिदिए पनि आन्दोलन पुनः सक्रिय हुने उद्घोष गर्नु संयोग मात्र हुनसक्तैन । यस पक्तिकारले अघिल्लो लेखमा प्रक्षेपण गरेजस्तै, ओलीको भारत भ्रमण नरोकियोस् भनेर भारतले नै मोर्चाका नेतालाई केही समय पछि हट्न सल्लाह दिएको हो कि भन्ने अनुमानमा बल मिलेको छ । नाकाबन्दी खोलेर पनि नेपालीले भारतबाट आपूर्ति हुने इन्धन र ग्यासको अभावमा रहनु दुर्भाग्यपूर्ण छ ।

निष्कर्ष के भने, भारत धरातलीय यथार्थमा निकटतम मित्र त हो, तर उसमा नेपालप्रति हेर्ने दृष्टिकोणमा उचाइको अभाव छ । एक स्वतन्त्र मुलुक नेपाललाई चीनसँग सम्बन्ध राखेकै कारण यसरी अभावमा धकेल्ने र तड्पाइरहने व्यवहार विशालतम लोकतन्त्रको मुलुकलाई सुहाउँदैन । यसबीच प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी हुँदैछ । अर्थमन्त्री विष्णु पौडेलले मुलुकको विकासका लागि छिमेकी देश भारत र चीनलाई साथमा लिएर सरकार अघिबढ्ने जानकारी पनि गराएका छन् । चीनसँग ठोस सम्झौता हुने उनको संकेत हो भने यसलाई स्वागतयोग्य मान्नुपर्छ । काठमाडौं जोड्ने उत्तरतिरको सुरुङमार्ग वा तेल आपूर्तिका लागि पाइप बिछ्याउने जस्ता बलियो योजनामा चीनसँग सम्झौता हुनु आवश्यक छ । भारतले केही समय हामीलाई अझ कठोर किसिमको नाकाबन्दी गर्नेसम्भावना बढे पनि भावी सन्ततीका लागि नेपालले मसक्क आँट गर्ने बेला भएको छ । भारतलाई हामी सधैं मित्र ठान्छौंं तर मागेको इन्धन जति आपूर्ति नगरेर नेपाललाई समस्यामा पार्ने प्रवृत्तिको भने जबाफ नदिइरहँदैनौं ।

(नेपाल समाचारपत्रमा सोमबार प्रकाशित)

Comments

comments

<-- Google Analytics -->