असार ९ गते २०७४, शुक्रबार | June 23, 2017     18:00:00

कांग्रेस नयाँ नेतृत्वका चुनौती

(कपिल काफ्ले)

लोकतान्त्रिक अभ्यास र विकृतिबीच ठीक त्यस्तै सम्बन्ध देखिन्छ जति मन्दिरभित्रका देवता र मन्दिरकै टुँडालका अश्लील चित्र । नेपालमा लोकतान्त्रिक अभ्यासको कुरा गर्दा बिर्सन नहुने राजनीतिक दल नेपाली कांग्रेस हो, खासगरी यसको १३औं महाधिवेशन र नयाँ नेतृत्व चयनको माहोल चलिरहेका बेला यसको चर्चाले प्राथमिकता पाउनु स्वाभाविक छ । लोकतान्त्रिक अभ्यास गर्न चाहने कसैले पनि सर्वसम्मतको विकल्पमा मात्र अडिन मिल्दैन, त्यसैले विभिन्न प्यानल खडा हुनु र जित–हारको अवस्था आउनु अस्वाभाविक होइन । तर, यस प्रक्रियामा कति लोकतान्त्रिक आचरण भयो र कति प्रदूषणयुक्त खेल खेलियो भन्ने विषयमा भने अनुगमन तथा विश्लेषण हुनु आवश्यक छ ।

नेपालमा सबैभन्दा ठूलो दलका रुपमा पछिल्लो आमनिर्वाचनबाट प्रमाणित नेपाली कांग्रेसको लोकप्रियताको कडी हो न्यून दोहोरो मापदण्ड । अरु कतिपय दलले जस्तो यसका नेताले निर्वाचनका बेला वा जनताको घरदैलो पुगेको समयमा अन्धकारविहीन संसारको गफ दिंदैनन्, हरेक नागरिकलाई आश्चर्यजनक समृद्ध बनाउने गफ गर्दैनन् र मानवीय कमजोरीरहित प्राणीको कल्पना पनि गर्दैनन् । प्रायः सम्भव हुने विषयमै आश्वासन दिन्छन् । यद्यपि यस पार्टीका नेताहरु भ्रष्टाचारमा डुबेका र असामाजिक काममा लागेका यत्रतत्र नभेटिएका होइनन्, तर पनि गलत कामका लागि सजाय भोग्नेहरुका पक्षमा मोर्चावन्दी गरेर आन्दोलन चलाउने अभ्यास कांग्रेसले कमै गरेको देखिन्छ ।
नेपाली कांग्रेस तुलनात्मक रुपमा कम ‘हिप्पोक्रेट’ वा दोहोरो मापदण्डवाला दल हो भन्ने एक उदाहरण हो यसको खुला भारतपरस्त चरित्र । अरु कतिपय दलहरु लुकेर भारतपरस्त व्यवहार गर्छन् । यसले खुलमखुल्ला भारतपरस्तता प्रदर्शन गर्दछ । अरु दलहरु पनि कम भारतपरस्त छैनन् तर बाहिर जनताका अगाडि उभिएर ‘विस्तारवादी भारत’ भन्न पनि बाँकी राख्दैनन् । नेपालमाथि बारम्बार भारतको मिचाहा प्रवृत्ति पनि देखिन्छ, पछिल्लो पटक अघोषित नाकाबन्दी गरेर र अहिले मागअनुसार पेट्रोलियम पदार्थ आपूर्ति नगरेर उसले सोही व्यवहार देखाएको छ । अर्को छिमेकी चीनसँग पेट्रोलियमका लागि सम्झौता गरेकोमा परोक्ष रुपमा आपत्ति जनाउँदै भारतले हामीमाथि यस प्रकारको व्यवहार गरेको हो । भारतको यस व्यवहारप्रति नेपालका कुनै पनि ठूला पार्टीले आपत्ति जनाएका छैनन् । यो भारतपरस्तताकै उदाहरण हो । केही सञ्चारमाध्यममा सार्वजनिक भएअनुसार, १३औं महाधिवेशनका लागि नेपाली कांग्रेसलाई भारतले आर्थिक सहयोग ग¥यो । उसको अनुकूल हुने प्रभावशाली व्यक्तिलाई समेत सहयोग गर्ने भारतले नेपाली कांग्रेसजस्तो सहयोगी संस्थालाई सहयोग गर्नु अस्वाभाविक पनि होइन । तर यस प्रकारका सहयोगले भारतपरस्तता बढाउनु पनि स्वाभाविक हुन्छ ।

नेपालको विकास छिमेकी भारतसँग एक प्रकारको ‘टाई–अप’ गर्दै अघिबढ्नसक्नुमा निहित छ भन्नेहरु धेरै छन् । राष्ट्रियतासँग सम्बन्धित यो प्रश्न आफैमा गम्भीर र जटिल छ । हामी सार्वभौम मुलुकको उचाइमा कुनै आँच नआउने गरी भारत, चीन वा अन्य मुलुकसँग ‘टाई–अप’ गरेर अघिबढ्न त तयार छौं, तर यहींनिर राष्ट्रिय आत्मसम्मानप्रति चोट पु¥याउने काम हुनेगरेको तीतो अनुभव हामीसँग छ । विगतमा विश्वेश्वरप्रसाद कोइरालाजस्ता अन्तर्राष्ट्रिय स्तरका राजनीतिक नेताले समेत यस सबालमा चोटको अनुभव गर्नुप¥यो भने अरुको के कुरा ! अहिले एक कोणबाट हेर्दा डा. बाबुराम भट्टराईले बीपीकै शैली अपनाएको देखापर्दछ ।

आज, कांग्रेसलगायतका ठूला राजनीतिक दलहरुको नेतृत्वमा रहेका पुराना नेतामा राष्ट्रियता, लोकतन्त्र र विकासलाई सन्तुलित रुपमा अघिबढाउने समृद्ध चिन्तन र चातुर्य भने देखिएन । युवा नेतृत्वप्रति अपेक्षा त छ तर उनीहरुले मौका पाएका छैनन् । अवसर पाएपछि मात्र उनीहरुको योग्यता परीक्षण हुनेभएका कारण पहिले नै विश्वस्त हुने ठाउँ पनि देखिन्न । तर नेपाली कांग्रेसका वरिष्ठ नेताहरुले युवालाई अवसर दिएर आफू अभिभावक बन्ने अवसर भने १३औं महाधिवेशनमा गुमाए । हुन त ‘उमेरले होइन विचारले युवा हुनुपर्छ’ भन्ने विचार पनि सुनिन्छ जसलाई अस्वीकार गर्न मिल्दैन । तर, राजनीतिक दलको नेतृत्वमा जनताको उपस्थितिअनुसार समानुपातिक प्रतिनिधित्व राख्नुभने प्रगतिशील तथा लोकतान्त्रिक पार्टीका लागि आवश्यक छ । उमेर, लिङ्ग, जात–जाति, क्षेत्र, अपाङ्ताआदि पक्षलाई ख्याल गरेर बनाइएको नेतृत्वमा जनता आवद्ध हुन चाहन्छन्– यस पक्षलाई नेपाली कांग्रेसले १३औं महाधिवेशनमा समेट्न सकेको पाइएन ।

कांग्रेसको जारी महाधिवेशनमा नेतृत्वका लागि भइरहेको गुटगत प्रतिस्पर्धा संकीर्णताको परिचायक देखियो । समावेशी र आधुनिक चिन्तनका व्यक्तिलाई नेतृत्वमा ल्याउनुको साटो आर्थिक चलखेल गर्नसक्ने व्यक्तिलाई समेटेर प्यानल बनाइयो जो राजनीतिक प्रदूषणको कारण बन्यो । अधिवेसनभर व्यक्तिप्रधान र नीति–विचार गौण भएको प्रष्ट देखियो । त्यसो त कांग्रेसका विगतका महाधिवेशन पनि व्यक्तिकेन्द्रित नै थिए । यो संस्कृति नयाँ भने होइन । यस पटक यस संस्कृतिले अझ चर्को रुप लियो, कांग्रेस पार्टीभन्दा पनि गुटहरुको महासंघजस्तो देखियो । नेपालमा पछिल्लो जनआन्दोलनले केही आदेश दिएको छ जसलाई बेवास्ता गर्ने सरकार र राजनीतिक दल ताछिंदै जानुको विकल्प छैन । किनभने सिद्धान्त र नीतिका आधारमा दलहरु खासै फरक देखिंदैनन्, समाजवाद र साम्यवादका आदर्शहरु अब केबल गफ मात्र सावित भैसकेका छन् नेपालको सन्दर्भमा । कांग्रेस सत्तामा जाँदा पाउने प्रतिफल र एमालेबाट प्राप्त हुने उपलव्धि नागरिकको तहमा खासै फरक पाइएन । प्रजातन्त्रलाई लोकतन्त्र भन्दैमा र यसलाई जनताको बहुदलीय जनवाद नाम दिंदैमा तात्विक भिन्नता हुने पनि होइन । अब कुनै दलमा फरक खोज्ने नै हो भने त्यो समानुपातिक समावेशी छ कि छैन, त्यसका अगुवाहरु आधुनिक सञ्चार प्रविधिका ज्ञाता हुन् वा होइनन्, ‘स्टेटमेनशीप’ प्रदर्शन गर्न सक्छन् कि सक्तैनन् भन्ने पक्ष मात्र हेरिन्छ । संघीय लोकतान्त्रिक गणतन्त्रको सीमा संविधानले नै निर्धारण गरेको र त्यही सिद्धान्तलाई स्वीकार गर्दै बहुदलीय व्यवस्थाको माध्यमद्वारा सत्तासञ्चालन गर्ने लक्ष्य र विधिसमेत सबैका लागि तय भइसकेको अवस्थामा कसैले भिन्न सिद्धान्त र बाटो देखाएर ‘म फरक छु’ भन्नुको अर्थ छैन ।

नेपाली कांग्रेसले १३औं महाधिवेशनमा पारित गरेको नीति तथा कार्यक्रमले नेपालको संविधान, २०७२ को कार्यान्वयनलाई महत्व दिएको छ जुन स्वागतयोग्य हो । एक अञ्चलबाट एक प्रतिनिधि छान्ने पुरानो व्यवस्थालाई राज्यको पुनःसंरचनाअनुसार परिवर्तन गरी सात प्रदेशबाट दुईका दरले १४ प्रतिनिधि छान्ने नयाँ प्रावधान राखिएको छ । व्यापार–व्यवसाय, शिक्षा, कृषि, सञ्चार, परराष्ट्रआदि विधामा पार्टीको नयाँ नीति बोलेको छ । वैदेशिक रोजगारीमा गएको ४० लाखको नेपाली नागरिकको भिडलाई पनि यसले स्मरण गरेको छ । संविधान संशोधन गरेर मधेशका माग सम्बोधन गर्ने सोच पनि नीतिमा उल्लेख छ । यी सबै पक्षहरु स्वागतयोग्य छन् तर गाउँ, जिल्ला, क्षेत्र, केन्द्रमा नेपाली कांग्रेसले समावेशी नीति अवलम्बन गर्न सकेन, सिन्द्धान्तलाई बेवास्ता गर्दै गुटगत राजनीतिलाई अझ सबल बनाउने काम महाधिवेशनमा भयो । ३ हजार २ सय प्रतिनिधिले छानेको नेकाको नयाँ नेतृत्वले समानुपातिक समावेशी नभएको र जनताको अग्रगामी चिन्तनलाई वहन गर्ने क्षमताको अभाव रहेका कारण अवश्य असहज महसुस गर्नेछ । त्यसमाथि विराशतमा आएको गुटगत विभाजन स्थायी गलगाँड बन्ने नै छ ।

Comments

comments

<-- Google Analytics -->