जेठ १३ गते २०७४, शनिबार | May 27, 2017     18:00:00

सन्तोष पन्तमाथि यौन दुर्व्यवहारको आरोप, कानुनी कारबाहीका लागि अधिकारकर्मीको दबाब

सुनसरी, १९ असोज । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका महिला आवास कक्षकी सुरक्षाकर्मीमाथि हास्य–व्यंग्य क्षेत्रका चर्चित कलाकार सन्तोष पन्तलगायतले यौन दुर्व्यवहार गरेको भन्दै स्थानीय अधिकारकर्मीहरुले दोषीलाई कारबाही गर्न निरन्तर दबाब दिएका छन् ।

पन्तका साथमा सुरक्षाको केटिएम सेक्युरिटी सर्भिस प्रा.लि.का व्यवस्थापन प्रमुख रामेश्वरले असोज १ गते राती करीव २ः३० बजेको समयमा सुरक्षा कार्यमा खटिएकी महिला सुरक्षा गार्ड सविता सुयलमाथि यौनजन्य अभद्र व्यवहार गरेको सुनसरीका अधिकारकर्मीहरुले बताएका छन् ।

‘प्रतिष्ठानको महिला छात्रावास आफैंमा संवेदनशील क्षेत्र हो । उक्त छात्रावासमा राती ११ वजेपछि कसैलाई पनि प्रवेशको अनुमति छैन । तर सुरक्षा पोष्टको चेक जाँचको वहानामा मादक पदार्थ अत्यधिक सेवन गरी झण्डै झण्डै वेहोसीको अवस्थामा रहेका सन्तोष पन्त तथा रामेश्वर शाह सो दिन कम्पनि कै सुरक्षा ईन्सपेक्टर विष्णु कोईराला तथा गार्ड राजेश तामाङलाई लिएर सो स्थानमा पुगेका थिए । कम्पनीका प्रमुख तथा सुरक्षा ईन्सपेक्टरलाई सो स्थानमा राति ११ बजेपछि कसैलाई अनुमति छैन भन्ने जानकारी हुँदाहुँदै सो स्थानमा गएर सुरक्षा गार्ड सविता सूँयललाई छात्रावासको ढोका खोल्न लगाएर वाहिर वोलाएर शरीर छामी यौन दुव्र्यवहार गर्नु अक्षम्य छ’ अधिकारकर्मीहरुले एक विज्ञप्ति जारी गर्दै भनेका छन् ।

निज सुरक्षा गार्ड सूँयलले सुरक्षा सम्वेदनशीलता तथा ११ वजे पछि ढोका खोल्न नमिल्ने वताउँदा कम्पनिकै प्रमुख तथा सुरक्षा ईन्सपेक्टरले हामीले भनेपछि केही फरक पर्दैन ढोका खोल भनी जवर्जस्ती गरेको पनि अधिकारकर्मीहरुले जनाएका छन् ।

प्राप्त विवरणअनुसार ढोका खोलेर गेटबाहिर आउनासाथ सुरक्षासँग विल्कुलै असम्वन्धित प्रश्नहरु गरी निजका सम्वेदनशील अंगहरुमा हात लगाउने र सुम्सुम्याउने काम सन्तोष पन्तले गरे भने रामेश्वर शाहले यौनजन्य क्रियाकलापसँग अर्थ लाग्ने प्रकारका अनेकन प्रश्न गरे ।

मध्यरातमा सुरक्षा पोष्टमा आएर कम्पनीकै प्रमुखले यस्तो हर्कत गरेका कारण सविता अवाक बनिन् । उनीहरु त्यहाँबाट हिंड्नासाथ उनले अर्को होष्टलको सुरक्षा पोष्टमा रहेकी आफ्नी साथीलाई आफूमाथि भएको सबै विवरण वताउँदै होसीयारीका साथ वस्नका लागि सचेत समेत गराईन् । उनीमाथि भएको सो व्यवहारलाई पुरुष छात्रावासमा सुरक्षामा रहेका अर्का सुरक्षा गार्डले पनि हेरी रहेका थिए ।

अधिकारकर्मीहरुका अनुसार, अरु कोही मानिस आएको थियो भने सायद उनीहरुले राति नै होहल्ला गर्ने र प्रतिकार गर्ने गर्थे होला तर कम्पनिकै प्रमुखको सो व्यवहारका कारण उनीहरु सबै किं कर्तव्य विमुढ भए । जव विहान भयो त्यस पछि एक पछि अर्को गदै घटना सार्वजनिक भयो । घटनाको विरुद्धमा प्रतिष्ठानमा कार्यरत सुरक्षा मजदूरहरु काम छोडेर सुरक्षा कण्ट्रोल रुमअगाडि आएर विरोध जनाउन लागे ।

रामेश्वर शाहको विगत देखिको हर्कत बाट जानकार सुरक्षा मजदूरहरुले घटनालाई सार्वजनिक सरोकारको विषय वनाउन सकिएन भने पिडितले न्याय पाउन सम्भव छैन भन्ने महसुस गरी सबै पक्षलाई जानकारी गराउन लागे । यसै क्रममा धरान नगर स्तरीय महिला सञ्जाल तथा मानव अधिकार तथा सञ्चार प्रतिष्ठानको न्यायमा पहूँच परियोजना जिल्ला संयोजक सम्म घटनाको जानकारी आए पछि महिला अधिकारकर्मीहरुको संयुक्त टोली विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगि पिडितहरुलाई भेट्ने काम भयो ।

पिडितहरुबाट प्राप्त जानकारी अनुसार घटना विवरण यस प्रकार रहेको छ : २०७३ असोज १ गते राति करीव २ः३० वजे माथि उल्लेख गरेका व्यक्तिहरु होष्टलमा आएर ढोका खाल्न लगाए । कम्पनिको मालिक नै आएर ढोका खोल्न लगाए पछि सविताले गेट खोलिन् । गेट खोल्ना साथ उनीलाई वाहिर वोलाउने काम भयो उनी वाहिर आउना साथ सन्तोष पन्तले तिमित निकै राम्री रहिछौ त तिम्रा श्रीमान् घरमा छन् कि छैनन ? भन्दै तिमि त निकै मोटी रहीछौ भन्दै पेटमा समात्ने र छाम्ने गर्दै पहिले नै मोटी थियौ कि यहाँको जागिरले मोटाएकी हौ ? भने । त्यस पछि छोराछोरी कति जना छन् ? श्रीमान् घरमा हो की वाहिर ? भन्दै सुम्सुम्याउने काम गरे । रामेश्वर शाहले यस्ता प्रश्न गर्ने अनि सन्तोष पन्तले हात लगाएर सुम्सुम्याउने काम गर्दै जात के हो भनेर सोधे । सूँयल भनेको दलित (सार्की) हो भनेपछि उनीहरु पछि हटेर ल ल ठीकै छ भनि त्यहाँबाट हिंडेका हुन् । यो अवधिमा दुवै जना रक्सिले वेसुर हुने गरी मातेका थिए । रक्सि ह्वास्सै गनाएको थियो । यति घटना भइञ्जेलसम्म ईन्सपेक्टर विष्णु कोईराला तथा गार्ड राजेश तामांग भने मुक दर्शक वनिरहे ।

यसरी नै उनीहरु दोस्रो सुरक्षा पोष्टमा गई अर्की सुरक्षा गार्ड माथि पनि यस्तै यस्तै प्रश्न गरे । श्रीमान् घरमा छन् कि छैनन् भन्दा जनयुद्धका शहिद लडाकुकी पत्नी ती पूर्व लडाकु विधवा पवित्रा राईले आफ्नो अस्मिता जोगाउनकै लागि सम्झेर श्रीमान् घरमा नै रहेको वताइन् । उनलाई पनि सन्तोष पन्तले तिमी त मोटी रहिछौ श्रीमान् चाँहि कति जना छन् नि भनी प्रश्न गरे । रामेश्वर शाहले राती नै भए पनि लिपिष्टिक पाउडर लगाएर चटक्कै परिछौं नि त, कसरी भ्याएकी नि भने ।

यो वयान पिडितहरुले महिला अधिकारकर्मी तथा प्रहरी समक्ष गरेका हुन् । यो वयान सुनेपछि यो घटना जवर्जस्ती करणी उद्योग ठहर गरी महिला अधिकारकर्मीहरु दोषीलाई कारबाही तथा पीडितलाई न्यायका लागि धरानको ईलाका प्रहरी कार्यालय धरानमा पुगे । किटानी जाहेरी तयार गरेपछि ईलाका प्रहरी कार्यालयका प्रमुख ढकेन्द्र खतिवडाले आज शनिवार भएकोले भोली दर्ता गरौं भनेपछि सबै जना त्यहाँबाट जाने काम भयो ।

भोली पल्ट आईतबारको दिन पिडित हरुले विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि लिखित जानकारी गराई कार्वाही को प्रक्रियाका माग गर्ने काम भयो । दिउँसो पीडितसहित सबै जना इलाका प्रहरी कार्यालयमा जाँदा इलाका प्रहरी कार्यालयका प्रमुख सम्पर्कमा आएनन् । आफूले दिएको समयमा प्रहरी प्रमुख आफैं अनुपस्थित भएपछि घटनालाई अन्यत्रै मोड्ने षड्यन्त्रको शुरुवात भएको सबैले महसुस गरे ।

महिला सञ्जाल धरानका अध्यक्ष शीला वज्राचार्य, उपाध्यक्ष सविता राई र सहसचिव तथा ईह्रिकनका जिल्ला संयोजक मञ्जु भण्डारीको नेतृत्वमा सुरक्षा श्रमिक ट्रेड युनियनका प्रतिनिधिहरुको उपस्थितिमा ईलाका प्रहरी कार्यालयमा व्यापक दवाव सिर्जना गरियो र त्यहींबाट सञ्चारकर्मीहरु समेतलाई जानकारी गराईयो । त्यहींबाट ईह्रिकनका संयोजकले राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालय विराटनगरमा समेत घटनाबारे जानकारी गराए । वेलुकी करीव ४ वजे विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट रजिष्टारले निवेदनअनुसार जानकारी लिन र छलफलका लागि पिडित तथा अधिकारकर्मीहरुलाई वोलाए ।
अस्पताल प्रशासन तथा प्रहरी प्रशासनको उपस्थितिमा भएको सो छलफलमा केटिएमका प्मुख रामेश्वर शाहले पटक पटक हात जोडेर गल्ति भयो भन्दै माथि मागे भने सन्तोष पन्तले भने उल्टै पेट समाउँदैमा महिला अस्मिता लुटिएको हुँदैनजस्ता अनर्गल र वदमासी कुरा गरे । त्यहाँ कुनै कार्वाहीको विषय पनि अघि वढ्न सकेन र सहमतिको विषयको कुनै सम्भावना नै थिएन । सबै त्यहाँबाट निस्किए ।

त्यसपछि प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई घटनाबारे विस्तृत जानकारी गराइयो । प्रजिअले धरानमा नै आएर कुरा गरौंला भनेपछि एक कार्यक्रमको सन्दर्भमा भोलिपल्ट धरान आएका प्रजिअ मोहनवहादुर चापागाईलाई पिडित स्वयं र अधिधकारकर्मीहरुबाट मौखिक तथा लिखित जानकारी गराइयो । प्रजिअले भोलि अर्को दिन सम्मको समय माग गर्नु भएपछि त्यो दिनसम्म पर्खने काम भयो । प्रजिअले दिनुभएको समय सीमाभित्रै वहाँले जिल्ला प्रहरी प्रमुख सहित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको वैठक कक्षमा सबै पक्षको छलफलका लागि वोलाउनु भयो ।
यसै बीचमा केही पत्रकारहरु पीडकको तर्फबाट परिचालित भई महिला सञ्जालका पदाधिकारीहरुसँग मिलापत्रको प्रस्ताव समेत लिएर आएका थिए । अधिकारकर्मीहरुले यो प्रस्तावलाई ठाडै अस्वीकार गरे ।

महिला अधिकारकर्मीहरुले शुरुदेखि नै आफ्नो अडान प्रष्टसँग राख्दै आएका थिए । हामी पीडितहरुले सम्मानित र न्याय पाएको अनुभूति गराउन चाहन्छौं । हाम्रो योदेखि फरक कुनै विषय छैन भन्दै आएका थिए । प्रजिअ सहितको छलफलमा समेत अधिकारकर्मीहरुले सोही धारणा प्रष्टसँग राखेका थिए । पीडितहरुले न्यायका लागि प्रजिअसमक्ष समेत आफ्नो कुरा प्रष्टसँग राखे । लामो छलफल बहसपछि प्रजिअले रामेश्वर शाहलाई कडा चेतावनी दिने काम भयो । सो छलफमा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघका पदाधिकारीहरु समेत उपस्थित थिए । सन्तोष पन्त सो छलफलमा उपस्थित थिएनन् । अन्त्यमा सो भेलामा पीडितहरु प्रजिअको प्रस्तावमा सहमत भएर यो मुद्दा सहमतिमा टुंगियो ।

महिला अधिकारकर्मीहरुले राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिलाई उपस्थितिका लागि अनुरोध गर्दा हामी त छलफलमा आउन मिल्दैन भनियो । त्यसैले अन्य सबै पक्ष बसी छलफल गरिएको हो ।

घटनाका दिन रामेश्वर शाह र सन्तोष पन्त बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको प्याथोलोजी विभागको आयोजनामा भएको एक अन्तर्राष्ट्रिय सम्मेलनको समापनको अवसरमा आयोजित पार्टीमा मदिरा सेवन गरी आएर महिलामाथि दुव्र्यवहार गरेका हुन् । पीडकलाई कारबाही र पीडितलाई न्याय दिन सबै पक्ष लाग्नुको साटो पीडकहरुको नाम र प्रभावका कारण दण्डहीनतालाई मलजल गर्न लागेकोमा सुनसरीका अधिकारकर्मी महिला तथा पुरुष आक्रोशित बनेका छन् ।

Comments

comments

<-- Google Analytics -->