असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

आमसञ्चार नीति सार्वजनिक

काठमाडौं, ९ मंसिर ।

सरकारले राष्ट्रिय आम सञ्चार नीति सार्वजनिक गरेको छ । सूचना विभागमा विहिबार आयोजित एक समारोहकाबीच सरकारले आमसञ्चार नीतिको पुस्तिका सार्वजनिक गरेको हो ।

नीति सार्वजनिक कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले संविधानले नै सञ्चार माध्यमलाई स्वतन्त्र भएर काम गर्ने अधिकार दिएपनि अमर्यादित भाषाले नकारात्मक सन्देश दिने भएकाले गम्भीर बन्न आग्रह गरे ।

कार्यक्रममा सूचना तथा सञ्चार सम्बन्धी उच्चस्तरीय समितिका संयोजक काशीराज दाहालले सञ्चारमाध्यममा कार्यरत पत्रकारको क्षमता अभिवृद्धि र वृत्ति विकासका लागि सरकारले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान बनाउन सुझाव दिए ।

रेडियो तथा टेलिभिजनको इजाजत पत्र प्रतिष्पर्धाका आधारमा मात्र वितरण गर्न तथा प्रेस काउन्सिललाई थप अधिकार प्रत्यायोजन गरि बलियो बनाउन सुझाव दिए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले मुलुक संघीय संरनामा गएपछि सञ्चार क्षेत्रलाई सबल बनाउन राज्यले लगानी बढाउनुपर्ने बताए ।

अध्यक्ष विष्टले संघीयताको कार्यान्वयन र समावेशिताको अभ्यास गर्न आर्थिक समृद्धि आवश्यक रहेको बताए ।

प्रदेश र स्थानिय तहमा रेडियोको फ्रिक्वेन्सी निर्धारण गर्दा एक सय र पाँच सय वाट मात्र वितरण गर्ने, संघले अनलाइन मिडियाको अनुगमन र नियमन गर्ने र प्रदेशले सामुदायिक तथा प्रादेशिक टेलिभिजन सञ्चालनको अधिकार दिने लगायत विषय आमसञ्चार नीतिमा उल्लेख छ ।

त्यसैगरी मर्यादित र व्यवसायिक पत्रकारिताको अभ्यासका लागि आचरण अभिवृद्धिका लागि प्रभावकारी प्रेस काउन्सिल, पत्रकारको व्यवसायिक क्षमता अभिवृद्धि र सीप विकासका लागि आम सञ्चार प्रशिक्षण प्रतिष्ठान र आमसञ्चारसम्बन्धी महत्वपूर्ण सामाग्रीको संरक्षण तथा अनुसन्धान गर्न सञ्चार संग्रहालय र अध्ययन प्रतिष्ठान स्थापना लगायत विषय पनि नीतिमा उल्लेख छ ।

Comments

comments

<-- Google Analytics -->