असार ९ गते २०७४, शुक्रबार | June 23, 2017     18:00:00

लैङ्गिक समानता पत्रकारिता पुरस्कार प्रेमर्षि र बस्नेतलाई

काठमाडौं, १७ मंसिर । लैङ्गिक समानताका लागि विगत दुई दशकभन्दा लामो समयदेखि कलम चलाउँदै आएका पत्रकारद्वय धीरेन्द्र प्रेमर्षि र बविता बस्नेतलाई पहिलो पटक लैङ्गिक समानता पत्रकारिता पुरस्कार सभामुख ओनसरी घर्तीमगरले बिहीबार एक समारोहका बीच प्रदान गर्नुभयो ।

अमेरिकामा सक्रिय सामाजिक संस्था मदरल्याण्ड नेपालले स्थापना गरेको र नेपाल पत्रकार महासंघले स्वामित्व ग्रहण गर्दै व्यवस्थापन गरेको यो पुरस्कार लैङ्गिक समानताका लागि कलम चलाउने पत्रकार तथा लेखकलाई वार्षिक रुपमा प्रदान गरिने जनाइएको छ ।

‘पुरस्कार पाउने दुवै पत्रकार यस पुरस्कारका लागि अत्यन्त उपयुक्त पात्र हुनुहुन्छ, म दुवैको सक्रियतालाई यस पुरस्कारले अभिवृद्धि गर्ने र लैङ्गिक समानताका पक्षमा अझ बढी योगदान पुग्ने विश्वास गर्दछु’ पुरस्कार प्रदान गर्दै प्रतिनिधिसभाका सभामुख घर्तीमगरले भन्नुभयो ।

‘बस्नेत र प्रेमर्षिको लेखन मात्र होइन व्यवहार पनि लैङ्गिक समानताको पक्षमा एक आन्दोलन रहेको मैले पाएकी छु’ उहाँले भन्नुभयो ।

पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा महासंघकै सभाभवन सिनामङ्गलमा आयोजित यस कार्यक्रममा मदरल्याण्ड नेपालको पनि सभामुख घर्तीले सराहना गर्नुभयो, १० लाख रुपियाँ लैङ्गिक समानतासम्बन्धी अभियानका लागि लगानी गर्नु प्रशंसनीय कार्य हो भन्ने उहाँको भनाइ थियो । उहाँले पुरस्कार निर्णायक समितिले उपयुक्त पात्रको चयन गरेको भन्दै सराहना पनि गर्नुभयो ।

महासंघका उपाध्यक्ष अनिता बिन्दुको संयोजकत्वमा गठित पुरस्कृत व्यक्तित्व छनोट समितिमा विज्ञ सदस्यका रुपमा मेनइङ्गेज अलायन्स दक्षिण एसिया क्षेत्रका संयोजक तथा वरिष्ठ पत्रकार कपिल काफ्ले, महासंघकै कोषाध्यक्ष सूर्यमणि गौतम र सदस्य संगीता खड्का हुनुहुन्थ्यो ।

पुरस्कार वितरण समारोहमा मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डेले दिनुभएको सम्बोधन भाषणको पूर्ण पाठः

कार्यक्रमका सभापति तथा पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट
प्रमुख अतिथि सम्माननीय सभामुखज्यू,
लैङ्गिक समानता पत्रकारिता पुरस्कारद्वारा पुरस्कृत पत्रकारद्वय धीरेन्द्र प्रेमर्षि झा तथा बविता बस्नेतज्यू,
प्रेस काउन्सिल नेपालका अध्यक्षज्यू,
पुरस्कार निर्णायक समितिका संयोजक अनिता बिन्दुज्यू,
पुरस्कारको स्थापना र वितरण कार्यका सहजकर्ता वरिष्ठ पत्रकार तथा मदरल्याण्ड नेपालका सल्लाहकार कपिल काफ्लेज्यू,
पत्रकार साथीहरु,
अन्य उपस्थित महानुभावहरु,

यहाँहरुजस्तो विज्ञ व्यक्तित्वका अगाडि उभिएर नेपालमै पहिलो तर वर्षौंअघि नै सुरु हुनुपर्ने काम ढिलै भएपनि थालनी गर्न पाएकोमा म अत्यन्त हर्षित छु । मेरालागि आजको दिन जीवनकै महत्वपूर्णमध्ये एक भएर रहनेछ । लैङ्गिक समानता पत्रकारिता पुरस्कार स्थापनका लागि अमेरिकालाई कर्मथलो बनाएर सञ्चित गरेको थोरै धन अक्षय कोषमा राख्न र त्यसबाट आर्जित व्याजबाट जन्मघरका पत्रकार तथा लेखक महानुभावलाई पुरस्कृत गर्न पाएर म आफूलाई भाग्यमानी ठानिरहेको छु ।

रकम ठूलो कुरा होइन, यसै पनि १० लाख रुपियाँमा आजको समयमा के पो हुन्छ र ? त्यसबाट वर्षदिनमा आर्जित हुने व्याजबाट जम्माहुने ८० हजार रुपियाँ दुई व्यक्तिलाई बाँड्दा क्रयशक्तिका हिसाबले खास केही हुँदैन । त्यसैले म चाहन्छु, अझ बढी मेहनत गरेर थप केही कमाउन सकौं र यसको राशि पनि बढाउँदै लगौं । म पुरस्कारको राशि बढाउने विचार मनमा लिइँरहँदा मदरल्याण्ड नेपाल जो अमेरिकाको क्यालिफोर्निया राज्यमा दर्ता भई विगत १५ वर्षदेखि समाजसेवामा समर्पित छ, का साथीहरुलाई सम्झन चाहन्छु । खासगरी मेरी श्रीमती, छोरा र छोरीको कमाइ नै अक्षयकोषमा परेकाले मैले मात्र यस पवित्र कार्यको जस लिनमिल्दैन । म उनीहरुलाई यस क्षणमा प्रेमपूर्वक सम्झन चाहन्छु ।

लैङ्गिक समानता भन्नु नै सम्मान हो– महिला, पुरुष वा एलजीबीटीआई बीचको सम्मान । शक्तिसम्बन्धको ठीक व्यवस्थापन र लिङ्कका आधारमा कुनै प्रकारको विभेद नगर्ने अभ्यासलाई व्यवहारतः लैङ्गिक सम्मान मान्नुपर्छ । आजका प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुखको अन्तर्वार्ता मैले भिडियोमा हेरेको छु, उहाँले रुदै दिएको अन्तर्वार्ताले मलाई पनि रुवाएको छ । स्कुलको पढाइ रोकिनै लागेका बेला विद्यालयका शिक्षकहरुले उहाँका अभिभावकलाई सम्झाएका कारण उहाँले पढ्न पाउनुभएको र आज नेपाली महिलाले गौरव गर्ने पदमा आसिन हुनुभएको उदाहरणले मेनइङ्गेजको शक्ति छर्लङ्ग हुन्छ । विद्यालयका शिक्षकलाई त्यतिबेला मेनइङ्गेज अभियान के हो, थाहा थिएन होला तर पनि व्यवहारले मेनइङ्गेजको दृष्टान्त दियो । मलाई लाग्छ, वर्षमान पुनजीमा पनि मेनइङ्गेजको सुवास नभएको भए ओनसरीको सुगन्ध यसरी फैलिने थिएन । घर राम्रो बनाउन, समाज सुदृढ पार्न र राष्ट्र समृद्ध तुल्याउन लैङ्गिक समानताको चिन्तन अनिवार्य छ । यो घरमा हालिने जगको ढुंगाजस्तै अनिवार्य विषय हो ।

आज महिला र पुरुष मिलेर राष्ट्रनिर्माणको जग हाल्नुपर्ने बेलामा लैङ्गि हिंसा बढेको देखिन्छ, पुरुषले दबाए, महिलाले खटनपटन गरे, एक–आपसलाई अपमान गरेआदि आरोपहरु लगाइन्छ । सार्वजनिक समारोहमा मीठा सद्भावनाका कुरा गरेपनि सहिष्णुता दुवैतिर अपेक्षाकृत कमै देखिन्छ । खासमा लैङ्गिक समानताका लागि पुरुष सहभागिताको महत्व कतिपय पत्रकार र लेखकलाई नै थाहा नभएको हो कि जस्तो लाग्छ । नेपालमा सन् २००७ देखि संगठित रुपमा थालिएको मेनइङ्गेज अलायन्सको अभियानलाई अघिबढाउन पत्रकारको जुन भूमिका हुनसक्छ, अरु कसैको हुन सक्तैन । त्यसैले, मदरल्याण्य नेपालले यस क्षेत्रमा अलिकति लगानी गरेको हो । पत्रकार महासंघले हाम्रो प्रस्ताव स्वीकार गरेर पुरस्कारको व्यवस्थापन गरिदियो, मदरल्याण्ड नेपालका तर्फबाट म महासंघका नेता डा. विष्ट र पदाधिकारी साथीहरुमा हार्दिक धन्यवाद भन्न चाहन्छु । हाम्रो समझदारीपत्रमा हस्ताक्षर भएअनुसार पुरस्कार पूर्णतः जेसी अवधारणाका साथ वितरण हुनेछ । उदाहरण यसै पटक देख्नसकिन्छ, एक महिला र एक पुरुष, एक पहाड र एक मधेश । विश्वास छ, संकीर्ण अवधारणाले यस पुरस्कारलाई कहिल्यै कलुषित बनाउने छैन । हुनसक्छ, अर्कोपटक अन्य विविध समुदाय र क्षेत्रलाई समेट्दै पुरस्कार वितरण हुनेछ । पुरस्कृत व्यक्तिको योगदान महिलो छनोटको आधार त हुनेछ नै, जेसी पनि छायाँजस्तै टाँसिएर रहनेछ ।

पुरस्कृत बस्नेत र झाप्रति पुनः हार्दिक बधाई भन्दै बिदा हुन्छु । धन्यवाद ।

Comments

comments

<-- Google Analytics -->