असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

राजधानीबाट सुरु भएको एमालेको जनपरिचालन तराई झर्ने

काठमाडौं, २३ पुस । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई मधेसबाट ब्याण्ड बाजा बजाएर बिदा गर्छौं भन्नेहरुले आफ्नो हैसियत हेर्नुपर्ने सुझाव दिंलै राजधानीमा जस्तै तराईमा जनपरिचालन अभियान चलाउने बताउनुभएको छ ।
शुक्रबार राजधानीमा शक्ति प्रदर्शन तथा जनपरिचालनपछिको आमसभालाई सम्बोधन गर्दै ओलीले एमाले तराई मधेसमा केन्द्रित हुन लागेको बताउनुभएको हो ।

केही दिनअघि मधेसी मोर्चाका नेता राजेन्द्र महतोले एमालेलाई ब्याण्ड बाजा बजाएर मधेसबाट खेदाउने चेतावनी दिएका थिए । शुक्रबारको प्रदर्शनमा एमालेका मधेसी नेता(कार्यकर्ताहरु ब्याण्ड बाजा बजाएरै धोतीगम्छा लगाएर जुलुसमा सहभागी भएका थिए ।

ओलीले सभामा भन्नुभयो, केही व्यक्तिले एमालेलाई बाजा बजाएर मधेसबाट बिदा गर्ने भनेको सुनियो, म उनीहरुलाई हैसियत स्मरण गराउन चाहन्छु । सिंगो तराई मधेसमा उनीहरुले जितेको ११ सीट हो, एमाले एक्लैले ४० सीट जितेको छ । एमाले मधेसका जनताको बीचमा जागरण अभियान लिएर जाँदैछ ।’

ओलीले फागुन दोस्रो सातापछि एमालेले मेची महाकाली अभियान चलाउन लागेको र काठमाडौंको जागरणलगत्तै तराई मधेसमा सिंगो पार्टी केन्द्रित हुने जानकारी दिनुभयो ।
रुपमा संसदका ९ विपक्षी दलको जनप्रदर्शन भनिए पनि सारमा शुक्रबारको जुलुस र सभा एमालेको एकल शक्ति प्रदर्शनजस्तो देखियो । अन्य साना दलको पनि प्रतिनिधित्वमूलक सहभागिता भने नभएको होइन ।

राजधानीका सडक एमालेका झण्डा र एमालेकै कार्यकर्ताले भरिएका थिए । एमालेका प्रत्येक तीन कार्यकर्तामध्ये एकले सूर्य, अर्कोले हँसिया हथौडा र तेस्रोले चन्द्रसूर्य अंकित झण्डा बोकेर जुलुसमा सहभागी भएका थिए ।

एमाले कार्यकर्ताका लागि यो जुलुस र शक्ति प्रदर्शन निकै वर्षपछि प्राप्त भएको उत्सवजस्तो देखियो । संविधानसभाको चुनावमा समेत परिचालित नभएको एमालेको पंक्ति यसपटक राजधानीका सडकमा पोखियो ।

एमालेका नेताहरुले जनप्रदर्शनमा २ लाखको सहभागिता रहेको दाबी गरेका छन् ।

Comments

comments

<-- Google Analytics -->