असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

लेलेको सरस्वती कुण्डमा मेला

लेलेको सरस्वती कुण्डमा मेला
ललितपुर, १९ माघ । लेलेको सरस्वती कुण्डमा श्रद्धालुभक्तजनहरुको घुँईचो लागेको छ ।  माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ का अवसरमा यहाँ भक्तजनहरुको विशेष घुँईचो लागेको हो ।

प्रत्येक वर्ष आजकै दिन लेलेको सरस्वती कुण्डसहित देशभरको सरस्वती मन्दिरमा दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्दछ ।

यहाँको बारेमा श्रीस्वस्थानीमा पनि बयान गरेको हुनाले विशेष शक्ति पिठको रुपमा लिँदै यस दिन श्रद्धालुभक्तजनहरुको भिड लाग्ने गरेको ज्ञान कुण्ड युवा क्लवका अध्यक्ष मिलन सिल्वालले जानकारी दिए ।

विद्या र सिर्जनाकी देवी तथा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गरेमा ज्ञानी भई समाजको सेवा गर्न सकिने विश्वास छ ।

यहाँ रहेको कुण्डको जल सेवन गर्दा गराउँदा नबोल्ने बालबालिकाको बोली फुट्ने, पढाईमा सुधार हुने मान्यता छ । साथै यहाँको जललाई खेत बारीमा र फलफूल तरकारीमा छर्किदिँदा राम्रो हुने विश्वास लिईन्छ ।

विशेषगरी विद्यार्थीलाई आजको दिन अक्षर आरम्भ गराइन्छ भने विवाह, ब्रतबन्धलगायत शुभकार्य गर्नका लागि आजको दिन साइत हेर्न नपर्ने हिन्दू धर्मावलम्बीको विश्वास छ ।

मेलालाई व्यवस्थित गर्दै श्रद्धालुभक्तजनलाई सहज तरिकाले दर्शन गर्न गराउन ज्ञान कुन्ड युवा क्लबले नेतृत्व गरेको छ । जस्का लागि क्लबले आफ्ना सदस्यहरु सहित स्थानीय विद्यालयका विद्यार्थी, स्काउट गरी ६० जना भन्दा बढी स्वयंसेवक परिचालन गरिएको जनाएको छ ।

क्लबले प्राथमिक स्वास्थ्य केन्द्र लेले सँगको सहकार्यमा प्राथमिक उपचारका लागि डेस्कको समेत स्थापना गरेको छ । क्लबले अपांग र अशक्त भक्तजनहरुका लागि छिटो र सहज तरिकाले दर्शन गराउनका लागि छुट्टै व्यवस्था समेत गरेको थियो ।

Comments

comments

<-- Google Analytics -->