असार ११ गते २०७४, आईतवार | June 25, 2017     18:00:00

कीर्तिपुरका बुद्धिजीवी सूर्य चिन्हका पक्षमा

काठमाडौं, २८ वैशाख । कीर्तिपुर क्षेत्रका बुद्धिजीवी तथा नागरिक समाजको नामका एक अपिल पत्र प्रकाशित गर्दै सूर्य चिन्हमा मतदान गरी एमालेलाई जिताउन अपिल गरिएको छ ।

यस क्षेत्रका सुपरिचित बुद्धिजीवी डा. नेत्र पौडेलले सम्प्रेषण गरेको अपिलमा भनिएको छ, सबै दलका घोषणापत्र र प्रतिबद्घताहरू सूक्ष्म ढङ्गले अध्ययन विश्लेषण गर्दा अरू पार्टीहरूभन्दा नेकपा (एमाले) देश र जनताको पक्षमा चट्टानी अडानका साथ बोल्न सक्ने र स्थानीय सरकार चलाउन सक्ने एक मात्र भरपर्दो देखिएकाले हामी स्वतन्त्र पेसाकर्मी बुद्घिजीवीहरू यस नगरपालिकाअन्तर्गत २०७४, बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा एमालेको बलियो उपस्थितिसहितको विजयबाट मात्र सार्वभौम नगरबासीलाई समृद्घि, समानता र सबलता प्राप्त हुनसक्छ भन्ने विश्वासका साथ यस पार्टीको तर्फबाट सूर्य चुनाव चिह्न लिएर उठेका उमेदवारहरूलाई भोट दिएर विजयी गराउनुपर्छ भन्ने निष्कर्षमा पुगेका छौं ।

ऐतिहासिक नगर कीर्तिपुर नगरपालिकाका १० वटा वडामा पाँचपाँच जनाका दरले ५० जना र मेयर तथा उपमेयर दुईसहित ५२ पदका लागि विभिन्न दलका तर्फबाट उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा देखिएका छन् । मतदाताले हरेक वडामा सात जनालाई भोट दिएर इमान्दार र सक्षम जनप्रतिनिधि छान्नुपर्ने हुन्छ ।

अपिलपत्रको पूर्ण विवरण यस प्रकार छ :

नेकपा (एमाले) लाई नै किन भोट दिने ?
वि.संं. २०५१ सालको पहिलो नौ महिने जनसरकारको पालादेखि नै यसले सामाजिक सुरक्षाको अवधारणासहित स्थानीय निकायलाई स्रोत साधनले सक्षम र सम्पन्न बनाउने अभियान पहिलो पटक सुरु गरेको,
स्थानीय स्वायत्त शासन ऐन २०५५ मार्फत् जनताको आँगनमा सरकारको प्रत्यक्ष उपस्थितिको वकालत गर्दै यसले सङ्घीय संरचनासम्म आइपुग्दा सार्वभौम नगरबासीलाई सुशासनको प्रत्याभूति एवम् जनजनको घरआँगनमा स्थानीय सरकारको उपस्थितिमार्फत् सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थाकरण गर्नमा सधैं अगुवाइ गरेको,
यसले सङ्घीयताको मर्मअनुसार संवैधानिक व्यवस्थामार्फत् स्थानीय सरकारलाई बलियो बनाउनमा अग्रणी भूमिका निर्वाह गरेको,
केन्द्र वा प्रदेशको निर्वाचन पहिला गराएर स्वेच्छाचारी ढङ्गले स्थानीय तह चलाउन खोज्ने चुनावी मैदानमा देखिएका कतिपय दलहरूलाई स्थानीय तहको निर्वाचन पहिला गराएर जनतालाई अधिकार सम्पन्न बनाउने कुरामा ल्याउन यसकै प्रमुख योगदान रहेको,
हाल संविधान संशोधनको नाममा संविधानतः स्थापित स्थानीय तहका क्षेत्राधिकार कटौती गरी फेरि पनि केन्द्रीयतालाई नै लाद्ने दूराशय विरुद्ध यसको चट्टानी अडानका कारण नै आज हामीलाई अधिकार सम्पन्न स्थानीय तहको निर्वाचनमा भाग लिन पाउने तथा यसमार्फत् संविधान कार्यान्वयन गर्ने गराउने अवसर प्राप्त भएको,
राष्ट्रिय स्वाधीनताको पक्षमा उभिने एक मात्र पार्टीको पहिचानसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान घोषणा गर्न एमालेले नै प्रमुख भूमिका खेलेको,
संविधान घोषणापछि भारतबाट लगाइएको तथाकथित अघोषित नाकावन्दी विरुद्ध सरकारमा रहेर राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता, स्वाधीनता र स्वाभिमानको रक्षामा दृढ अडानका साथ नाकावन्दी खोल्न वाध्य पारी फेरि यस्तो हर्कत कसैले कहिल्यै गर्न नसक्ने गरी कुटनीतिक सक्षमता स्थापित गरेको,
आफ्नो प्रतिबद्घता पत्रमा आधुनिक शहरीकरणको अवधारणाअनुसार व्यवस्थित शहर निर्माणको थालनी गर्ने नीतिका साथै वैज्ञानिक भू–उपयोग नीतिका आधारमा नमुना वस्ती विकास, सम्पदाको संरक्षणसहित समाजवादी अर्थतन्त्र निर्माणका लागि दिगो विकासको अवधारणा अघि सारेको,
यो नै नेपाली जनताको सच्चा प्रतिनिधि, अभिभावक र पहरेदारको रूपमा मात्र होइन नागरिक स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रिय अखण्डताका साथ स्वाधीनता र स्वाभिमान रक्षाका लागि सधै“ अग्र स्थानमा उभिएको,
वर्तमान प्रहरी नियुक्ति प्रकरणमा स्वतन्त्र न्यायालयको स्वतन्त्रता, निष्पक्षता, गरिमा र मर्यादाको पक्षमा मात्र होइन संविधान संशोधनको बाहनामा देश टुक््रयाउने स्वदेशी तथा विदेशी चलखेलको विरुद्घमा बलियो अडान प्रस्तुत गरेको ।

यसरी संविधान निर्माण तथा कार्यान्वयनको जनाधार निर्माणको उल्लिखित आधारहरू र अडानलाई दृष्टिगत गरी आसन्न स्थानीय तहको निर्वाचनमा कीर्तिपुर नगरबासी स्वतन्त्र पेसाकर्मी बुद्घिजीवी र मतदातासमेत भएको नाताले नेकपा (एमाले) का उमेदवारहरूको देहायबमोजिम कार्ययोजना र प्रतिबद्घतामा विश्वास गरी हामी उनीहरूको पक्षमा दृढताका साथ उभिने अठोट गरेका छौं ।

स्थानीय निर्वाचनमा एमालेलाई नै किन जिताउने ?

१. नेकपा एमालेबाट उठेका यस नगरका उमेद्वारहरूले स्थानीय सरकार सञ्चालनको पुरानो परिपाटीको साटो विगतमा पार्टीले अघि सारी आम जनताको पक्षमा अत्यधिक सफलता प्राप्त गरेका आफ्नो गाउँ आफैं बनाऔं, तीन खम्बे आर्थिक नीति, ‘नौ स’ अभियान, सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत खासगरी जेष्ठ नागरिक, एकल महिला, लोपन्मुख जनजाति, दलित, अपाङ्गता भएका व्यक्ति, दुर्गम क्षेत्रका जनताका लागि मासिक भत्ता लगायतका लोकप्रिय कार्यक्रमहरूलाई आत्मसात् गर्दै सहकार्यात्मक र सहभागितामूलक जनउत्तरदायी शासनका मानकहरू निर्माण गरी जनतामा नयाँ उत्साह र आशाको सञ्चार हुने जनमुखी शासन व्यवस्था सञ्चालन गर्न चाहेका छन् ।
२. सबैलाई सम्पूर्ण मानवअधिकारको प्रत्याभूति, समाजवादी अर्थतन्त्र, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र कथित निजीकरणको आडमा पुँजीवादी अर्थव्यवस्थाले निम्त्याएको वर्तमान उपभोगवादी प्रवृत्तिसग जुध्दै पुँजी र उत्पादनका साधनको न्यायोचित वितरणसहितको उत्पादनमुखी अर्थतन्त्र सुनिश्चित भएको स्थानीय शासन प्रणाली अवलम्बन गर्न उनीहरू प्रतिवद्ध देखिएका छन् ।
३. उनीहरूले स्थानीय भू–उपयोग नीतिका आधारमा यस नगरभित्रकोे खेतीयोग्य भूमिलाई पुनर्संचना गरेर अव्यवस्थित वस्ती विकास गर्ने वर्तमान प्रणालीलाई खारेज गरी कम उब्जाउ जमिनमा नमुना बस्ती विकास गरी कृषिको आधुनिकीकरण, व्यवसायीकरण तथा औद्योगीकरण गर्न चाहेका छन् ।
४. उनीहरूले प्रकृतिको अनुपम वरदानस्वरूप प्राप्त यस नगरभित्रका दुधपोखरी, सिम, नौमुले, चुनदेवी जस्ता ठाउँहरूमा छरिएर रहेको जलस्रोतलाई एकीकृत जलासयका रूपमा विकास गरी त्यसको वहुआयामिक उपयोगद्वारा शुद्ध र सफा पिउने पानी, समुचित सिचाइ, पर्यटकीय एवम् पर्यावरणीय विकास जस्ता कुराको केन्द्र बनाउने प्रतिबद्घता व्यक्त गरेका छन् ।
५. उनीहरू आन्तरिक बजारलाई सुदृढ गर्दै यस नगरलाई नमुना नगरका रूपमा विकास गर्न सबै बस्तीमा विजुलीबत्तीसहितको सडक, ढल, खानेपानी, स्वास्थ्य सेवा, टेलिफोन, पुल पुलेसा, इ–लाइबे्ररी, फ्री–वाइफाइ, पुस्तकालय, प्रहरी चौकी, सामाजिक सुरक्षा साइरन, सिसिटिभि, बालउद्यान, बालक्लब, युवाक्लब, खेलकुद तथा मनोरन्जन स्थलहरू, सुविधा सम्पन्न जेष्ठनागरिक केन्द्र र सुरक्षित सामुदायिक भवन विस्तार गर्न दृढ सङ्कल्पित देखिएका छन् ।
६. नगर भित्रका जग्गा जमिनलाई आधुनिक नक्साङ्कनमार्फत् व्यवस्थित गर्ने, उर्वर जमिनको पहिचान तथा संरक्षण र माटोको परीक्षण गरी माटोअनुसारको उत्पादनमा कृषकहरूलाई सौलियत ऋण र अनुदानबाट प्रोत्साहन दिई स्थानीय उत्पादन बढाउन कृषि बजार र कृषि तालिम केन्द्रको स्थापना गर्ने तथा सुकुम्बासीहरूको पहिचान गरी सार्वजनिक जमिनमा पुनस्थापन गर्ने नीति नेकपा एमालेका उमेदवारले बनाएका छन् ।
७. कीर्तिपुरलाई बाहिरी चक्रपथ तथा ललितपुरको सडक सञ्जालस“ग जोडने विभिन्न सडक तथा पुलहरूको निर्माण, शुद्ध र सफा बागमती, टौदह लगायतका जलाधार क्षेत्रको संरक्षण, आकासे पानी सङ्कलन, भण्डारन र उपयोगको नीति अवलम्बन गरी लागु गर्ने प्रतिबद्धता उनीहरूले जाहेर गरेका छन् ।
८. उनीहरूले यस नगरभित्र पर्यटन गन्तव्य स्थलहरूको पहिचान गरी तिनको विकास र सम्वर्धन गर्ने योजना बनाएका छन् जसमा भ्यूटावर, गणतान्त्रिक टावर, जातीय सङ्ग्रालय, विभिन्न मठमन्दिरमा धार्मिक स्थल निर्माणसहित आदिनाथ, चोभार, बागभैरव, उमामहेश्वर, भाजङ्गल, देवढोका, विष्णुदेवी, जलविनायक, चम्पादेवी, पुष्पलाल पार्क लगायतका ऐतिहासिक स्थानीय विशेषता बोकेको पर्यटन गन्तव्यको विकास, प्रोत्साहन र सहयोगको नीति अवलम्बन गर्ने अठोट गरेका छन् ।
९. चोभारलाई फिल्म सिटी, फन र्पाक, बन्जीजम्प, र बनभोज स्थलसहितको एकीकृत आन्तरिक पर्यटनको विकास गर्ने, परम्परागत बजारहरूमा सँस्कृति प्रवर्धनसहितको होम–स्टेको विकासका योजना पनि उनीहरूले नै बनाएका छन् ।
१०. उनीहरूले युवा जनशक्तिलाई स्वरोजगार बनाउने उद्देश्यका साथ एमालेकै दुरदर्शी शिक्षा नीतिका आधारमा ऐतिहासिक
त्रिभुवन विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालय घोषणा गरी एमालेकै पहलमा त्रिवि सभामा यस नगरका मेयर पदेन सदस्य रहने गरी गरिएको व्यवस्थालाई आत्मसात गर्दै यस नगरलाई प्राविधिक, व्यावसायिक र अनुसन्धानमुखी उच्च शिक्षासहितको शैक्षिक केन्द्रका रूपमा विकास गर्ने अठोट लिएका छन् ।
११. यस नगरभित्र शिक्षण अस्पताल खोली नगरपाललिकाको तर्फबाट उच्च प्रतिभा भएका छात्रछात्रालाई निश्चित अनुदान कोटामा पढाउने योजना नेकपा एमालेका उमेदवारले बनाएका छन् ।
१२. यस पार्टीकै थालनीमा जेष्ठ नागरिकहहरूलाई प्रदान गरिदै आएको सामाजिक सुरक्षा भत्ता पाउनेहरूमध्ये ७५ वर्षमाथि उमेरसमूहका बुबाआमालाई सहज ढङ्गले घरघरमा पु¥याउने र नगरपालिकाको स्रोतबाटसमेत थप प्रोत्साहन भत्ताको व्यवस्था क्रमशः गर्दै जाने प्रतिबद्धता नेकपा एमालेका उमेद्वारले जाहेर गरेका छन् ।
१३. स्थानीय सेवा प्रवाहलाई व्यवस्थित गर्न एकीकृत मुस्कान सहितको सेवा भन्ने संस्कृतिको प्रवद्र्धन गर्ने, सेवाग्राहीहरूको आवश्यक सहयोगका लागि सहयोग कक्षको व्यवस्था गर्ने, छिटो, छरितो र सुलभ सेवाका लागि एक घण्टामै सेवा भन्ने अवधारणाको कार्यान्वयन गर्ने, नगर कार्यपालिका र वडा कार्यालयमा तथा अन्य विषयगत कार्यालयहरूमा सेवा लिन आउने सेवाग्राहीहरूका लागि डिजिटल कुपन प्रणालीबाट पालो कुर्नुपर्ने अबस्थालाई सहज बनाउन सिसिटिभि जडान गरी सम्भाव्य अनियमिततालाई कडाइका साथ नियन्त्रण गर्ने ब्यवस्था मिलाउने आदि कार्यहरू गर्न उनीहरू प्रतिबद्ध देखिएका छन् ।

यसर्थ संविधानको रक्षा एवम् परिपालना गराउने, देशलाई विभाजन हुनबाट बचाउने, शहीदहरूको सपना साकार पार्ने, छिमेकी मुलुक चीनस“ग भएको सम्झौता कार्यान्वयन गरी स्थानीय तहको दिगो विकास गर्ने, र स्थानीय नागरिकहरूको जीवनवृत्तिसँग शिक्षालाई जोड्ने जस्ता जनमुखी उद्देश्य बोकेको नेकपा (एमाले) का सूर्य ध्वजावाहक उमेदवारहरूको उल्लिखित योजना र प्रतिबद्धतालाई हेरेर हामीले सूर्य चिह्नमा मतदान गर्ने अठोट गरेका छौं । यस अवसरमा आदरणीय नगरबासी मतदाताहरू समक्ष हामी अरूको अनुचित आश्वासन, प्रलोभन र बहकाउमा नलागी एमालेको नीति एमालेकै नेतृत्व भन्ने नारा सार्थक पार्न जित सुनिश्चित भएका उमेदवारहरूको चुनाव चिन्ह सूर्यमा छाप लगाई अत्यधिक मतले विजयी गराउने कुरामा लाग्न हार्दिक अपिल गर्दछौं ।

Comments

comments

<-- Google Analytics -->